मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

च्याम्पियन्स लिगमा लिभरपुलले ग-यो गोलको वर्षा

अन्तिम १६ मा पुग्ने सबै टोलीको टुंगो लाग्यो

दैनिक नेपाल २०७४ मंसिर २१ गते १४:२२

काठमाडौँ, २१ मंसिर । च्याम्पियन्स लिग फुटबलको समूह चरणको अन्तिम खेलमा बुधबार राति लिभरपुलले गोलको वर्षा नै गरेको छ । लिभरपुलले रुसको स्पार्टक मस्कोलाई ७-० को फराकिलो गोल अन्तरले हराएको छ ।

लिभरपुलका फिलिप कौन्टिन्होले तीन, सडियो मेनले २ तथा रोबर्टो फिर्मिनो र मोहामेद सलाहले एक/एक गोल गरे । जितसँगै लिभर पुल समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।

बुधबार राति नै भएको खेलमा टोटनह्याम हट्सपरले साईप्रसको अपोईल निकोसियालाई ३-० ले पराजित गरेको छ । यसअघि नै राउण्ड अफ सिक्सटिनमा पुगिसकेको म्यान्चेस्टर सिटी भने युक्रेनको शख्तरसँग २-१ ले पराजित भयो ।

अन्य खेलमा स्पेनको रियल मड्रिडले जर्मनीको बोरुसिया डर्टमण्डलाई ३-२ ले हराउँदा पोर्चुगलको एफसी पोर्टोले फ्रान्सको मोनाकोलाई ५–२ ले पराजित गरेको छ । यसैगरी टर्कीको बेसिक्तासले जर्मनीको आरबी लेप्जीगलाई २-१ ले हराउँदा नेदरल्याण्ड्सको फेयनुर्डले इटालीको नापोलीमाथि २-१ कै जित निकाल्न सफल भएको छ ।

योसँगै च्याम्पियन्स लिग फुटबलमा अन्तिम १६ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ । गएरातिका खेलपछि च्याम्पियन्स लिग फुटबलको सबै ८ समूहका विजेता तथा उपविजेता टोलीको टुंगो लागेको छ । यस पटक समूह विजेताको रुपमा म्यान्चेस्टर युनाईटेड, म्यान्चेस्टर सिटी, लिभरपूल, टोटनह्याम हट्सपर, बार्सीलोना, पेरिस सेन्ट जर्मेन, एएस रोमा र बेसिक्तास अन्तिम १६ मा पुगेका छन् । यसैगरी समुह उपविजेताको रुपमा चेल्सी, रियल मड्रिड, बायर्न म्युनिख, युभेन्टस, सेभिया, शख्तर, एफसी बाजल र पोर्टो नक आउट चरणमा पुगेका छन् ।

प्रतिक्रिया
सम्बन्धित