सोमबार, २५ मंसिर २०७४
DainikNepal.com
सोमबार, २५ मंसिर २०७४

निर्वाचन ऐतिहासिक उपलब्धि: पूर्वप्रम खनाल

दैनिक नेपाल २०७४ मंसिर २१ गते १३:३९

इलाम, २१ मंसिर । इलाम क्षेत्र नम्बर १ का उम्मेदवार तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले बिहीबारको निर्वाचन ऐतिहासिक निर्वाचन भएको बताएका छन् ।

बिहीबार बिहान इलामको सूर्योदय नगरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयबाट ९ः४० बजे मतदान गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले संविधान कार्यान्वयनको महत्वपूर्ण उपलब्धि भनेको बिहीबार हुँदै गरेको निर्वाचन भएको बताए ।

प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनपछि देश विकास निर्माण र आर्थिक समृद्धिको बाटोमा उन्मुख हुने बताउँदै नेता खनालले भने, ‘देश महत्वपूर्ण र समृद्धिको उन्मुख हुने चरणमा छ, निर्वाचन भएपछि देशमा विकासको मूल फुट्छ ।’

‘इलामको क्षेत्र नम्बर १ मा बिहानैदेखि मतदाता लाइनमा बसेर शान्तिपूर्ण रूपमा मतदान गरिरहेको देख्दा ज्यादै हर्षित र गौरवान्वित भएको महसुश गरेको छ’, उनले भने, ‘यो निर्वाचन क्षेत्रमा बाम मोर्चाले सबै सिट जित्छ । दुईवटा प्रतिनिधि सभा र चारवटा प्रदेश सभा निर्वाचन क्षेत्रमा बाम गठबन्धन पहिलो हुन्छ ।’ आफ्नो निर्वाचन क्षेत्रमा करिब १० हजार मतले आफूले विजयी हासिल गर्ने समेत उनले दाबी गरे ।

त्यस्तैगरी पूर्वसभामुख सुवास नेम्वाङले मतदाताले इलाम क्षेत्र नम्बर २ बाट आफूलाई विजयी गराउने बताए । इलाम सदरमुकामस्थित बालमन्दिर मतदान केन्द्रबाट बिहान पहिलो मतदान गर्दै नेता नेम्वाङले संविधानको सफल कार्यान्वयनको यो निर्वाचन निक्कै महत्वपूर्ण र ऐतिहासिक उपलब्धिमा रहेको प्रतिक्रिया दिए । निर्वाचनपछि मुलुक समृद्धितर्फ उन्मुख हुने उनको धारणा थियो ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जिल्लाका दुई लाख चार हजार ४६ जना मतदाता छन् । जिल्लामा १४४ मतदानस्थलका २६६ मतदान केन्द्रमा अहिले शान्तिपूर्ण तवरले मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिए । –रासस

प्रतिक्रिया
सम्बन्धित