मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

आईएनजिओको तलव खाने डा. चौधरीले मन्त्रालय ‘हल्लाइन्’, दीपक र आरजुलाई फकाउँदै

दैनिक नेपाल २०७४ मंसिर २१ गते १२:२८

काठमाडौं, २१ मंसिर । स्वास्थ्य मन्त्रालयकी प्रमख विशेषज्ञ (बाह्रौ तह)मा कार्यरत डा.पुष्पा चौधरीले एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट १५ सय अमेरिक डलर अर्थात नेपाली एक लाख पचास हजार रुपियाँ तलव बुझ्दै आएको खुलासा भएको छ ।

डा.चौधरीले बिगत तीन वर्षदेखि मासिक एक लाख पचास हजार रुपियाँ तलव बुझ्ने गरेको तथ्य दैनिक नेपाल डटकमले फेला पारेको छ । स्वास्थ्य मन्त्रालयसँग पनि डा.चौधरीले तलव, भत्ता र सुविधाहरू पनि लिँदै आएको खुलेको छ ।

सरकारी जागिरमा रहेका बेला अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको तलब खाएको विषयमा स्वास्थ्य मन्त्रालयमा उजुरी समेत पर्ने गरेका छन् । तर, डा.चौधरीले मन्त्री र सचिवहरूलाई प्रभावमा पारेर कारबाहीबाट बच्दै आएको उच्च स्रोतले जनाएको छ ।

सेवामा प्रवेश गरेदेखि राजधानी छाडेर बाहिरको जिल्लामा काम गरेको अनुभव डा.चौधरीलाई छैन ।

स्वास्थ्य सेवा ऐनअनुसार स्वास्थ्य सेवामा कार्यरत कुनै पनि सरकारी कर्मचारीले दोहोरो तलब लिन पाइँदैन् । तर, डा. चौधरीले जनवरी १, २०१५ देखि २०१७ डिसेम्बरसम्मका लागि अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग सम्झौता गरेकी छिन् ।

तीन वर्षका लागि महिनाको डेढ लाख (१५ सय अमेरिकी डलर) पाउने सर्तमा स्त्री रोग विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संगठन ‘फिगो’संग डा.चौधरीले समझौता गरेकी हुन् । सो संस्थामा उनी कार्यक्रम संयोजकका रुपमा कार्यरत छिन् ।

सो सम्झौता गर्ने बेला डा.चौधरी बला परिवार स्वास्थ्य महाशाखाकी निर्देशक थिइन् । यसका साथै उनले सो संस्थाको कार्यालय आफ्नै घरमा राख्ने सम्झौता गर्न लगाएर पति डा. श्रवण चौधरीलाई घरधनी बनाई महिनाको ४० हजार थप रकम लिएको स्रोतको भनाइ ।

डा.चौधरीको यस किसिमको गैरकानूनी कार्यको विषयमा स्वास्थ्य मन्त्रालयमा उजुरी परेको थियो । मन्त्रालयले त्यसबारेमा जानकारी गराउन ‘नेसोग’लाई पत्र पठाएको थियो । स्त्री रोग विशेषज्ञ समाज (नेसोग) की अध्यक्ष डा. लता बज्राचार्यले डा.चौधरीका विषयमा स्वास्थ्य मन्त्रालयलाई जानकारी गराएको स्रोतले जनाएको छ ।

लामो समय प्रसूति गृहमा कार्यरत डा. चौधरी आफू त्यहाँको निर्देशक भएका बेला (सन् २०१३ देखि २०१५ सम्म ) नेसोगकी अध्यक्ष थिइन् । त्यही बेला उनले पिपिआईयूडी नामक प्रोजेक्ट सञ्चालनका लागि फिगोसँग सम्झौता गरेको पनि खुलासा भएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारका पालामा स्वास्थ्यमन्त्री रहेका रामजनम चौधरीले डा.चौधरीलाई कारवाही गर्नुको सट्टा परिवार स्वास्थ्य महाशाखाबाट स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक बनाएर जोगाएका थिए । पछि गगन थापा स्वास्थ्यमन्त्री भएका बेला उनलाई विभागको निमित्त महानिर्देशकबाट हटाएर मन्त्रालय सरुवा गरेका थिए ।

महानिर्देशक पदबाट डा. चौधरीलाई नहटाउन त्यति बेलाका स्वास्थ्यमन्त्री गगन थापालाई उनका पति डा. श्रवण चौधरीले भारतीय दूतावासमार्फत दवाव दिन लगाएको स्रोतले जनाएको छ ।

वीर अस्पतालका पूर्व निर्देशक डा. श्रवण चौधरी त्यति बेला काठमाडौंस्थित भारतीय दूतावासमा मेडिकल कन्सल्टेन्टका रुपमा कार्यरत थिए । भारत माइती भएकी डा. चौधरीको नागरिकता र जन्म मिति समेत विवादको घेरामा रहेको मन्त्रालय स्रोतले बताएको छ ।

डा. चौधरी निमित्त महानिर्देशक भएका बेला कर्मचारी सरुवामा करोडौँ रुपियाँको चलखेल गरेको स्वास्थ्य विभागका कर्मचारीहरू नै बताउँछन् ।

विवादास्पद छविकी डा. चौधरीफेरि पनि पैसाको बलमा मन्त्रालयको सचिव बन्ने दौडमा लागेकी छन् । केही दिनपछि रिक्त हुन लागेको स्वास्थ्य मन्त्रालयको सचिव बन्न प्रधानमन्त्री पत्नी आरजु देउवा, स्वास्थ्यमन्त्री दीपक बोहरासहितका शक्ति केन्द्र धाउन थालेको उच्च स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित