मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

मन्त्रीले खुला स्थानमा पिसाब फेरेपछि…

दैनिक नेपाल २०७४ मंसिर १५ गते ७:०३

नयाँदिल्ली । खुला स्थानमा पिसाब गरेपछि भारतका एक मन्त्री आलोचित बनेका छन् ।

सरकारले सर्वसाधारणलाई शौचालयमा मात्र पिसाब गर्न चेतनामूलक अभियान चलाइरहेका वेला जिम्मेबार मन्त्रीले नै खुला स्थानमा पिसाब गरेपछि पानी संरक्षणसम्बन्धी मन्त्री रामशंकर सिन्धे आलोचित बनेका हुन् ।

महाराष्ट्रको एउटा खुला स्थानमा पिसाब गरेको मन्त्री सिन्धेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियोलाई हजारौँपटक सेयर गरिएको छ । सिन्धे भारतीय जनता पार्टी (भाजपा)का नेतासमेत हुन् ।

भिडियोले प्रधानमन्त्री नरेन्द्र मोदीको सफाइ अभियानलाई विफल भएको पुष्टि गरेको विरोधीहरूले आरोप लगाएका छन् । तर, आफू बिरामी परेको र शौचालय फेला नपरेकाले खुला स्थानमा जान बाध्य भएको मन्त्री सिन्धेले तर्क गरेका छन् ।

सिँचाइ परियोजना समीक्षा गर्ने क्रममा आफू बाध्यतावश खुला स्थानमा जानु परेको उनले बताएका छन् । ‘उच्च तापक्रममा निरन्तरको यात्रा र धुलोका कारण म बिरामी परेको थिएँ,’ उनले भनेका छन् ।

मुख्य सडकमा मन्त्रीले शौचालय पाउन नसक्नुले सरकार सार्वजनिकस्थलमा शौचालय स्थापना गर्ने आफ्नो अभियानमा विफल भएको प्रमुख विपक्षी कंग्रेस पार्टीले आरोप लगाएको छ ।

‘प्रधानमन्त्रीका आफ्नै मन्त्री अनुशासित छैनन् भने प्रधानमन्त्रीले सर्वसाधारणबाट कसरी अनुशासनको अपेक्षा गर्न सक्छन्,’ कंग्रेसले भनेको छ ।

सरसफाइ प्रवद्र्धन गर्ने उद्देश्यले प्रधानमन्त्री मोदीले सन् २०१४ मा स्वच्छ भारत अभियान सुरु गरेका थिए । सरकारले देशभर लाखौँ शौचालय निर्माण गर्ने उनले प्रतिज्ञा गरेका थिए । तर, सरकार आफ्नो योजनामा सफल हुन नसकेको आलोचकहरूको भनाइ छ । – एजेन्सी

प्रतिक्रिया
सम्बन्धित