मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

लुम्बिनीलाई स्मार्ट सिटी बनाउँछु: शाह

दैनिक नेपाल २०७४ मंसिर ३ गते १९:२८

सालझण्डी (रुपन्देही), ३ मंसिर । नेपाली काँग्रेसबाट रुपन्देही निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधि सभाका उम्मेदवार भरतकुमार शाहले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई स्मार्ट शहरका रुपमा विकास गर्ने आप्mनो योजना रहेको बताएका छन् । मायादेवी गाउँपालिकाको धमौलीमा नेपाली काँग्रेसले आइतबार आयोजना गरेको पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले लुम्बिनीको विकास भए स्वतः यस क्षेत्रकोे विकास हुने भन्दै अव निर्वाचित भएपछिको आफ्नो ध्यान लुम्बिनीको विकासमा जाने बताए । लुम्बिनीको विकास देखेर अन्तर्राष्ट्रिय समुदाय समेत चिन्तित भैरहेको बेला नेता शाहले लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति शहरको रुपमा विकास गरिने उल्लेख गरे । उनले भने, ‘विश्वका बौद्धिष्टहरुको केन्द्र रहेको लुम्बिनीलाई धार्मिक, ऐतिहासिक, पर्यटकीय दृष्टिकोणले विकास गर्दै लैजान सके जिल्लाको नै विकास हुन्छ ।’

उनले क्षेत्र नम्बर ५ नेपालकै सम्भावनायुक्त क्षेत्र भएको बताउँदै यहाँको कृषि क्षेत्रको विकासका लागि बाटो, पुल, कल्भर्ट र सिँचाईका लागि आफूले पहल गर्ने र बजेट पारेरै छाड्ने दृढता व्यक्त गरे । शाहले आफूले योजना पारेर शिलान्यास गरेको कञ्चन बाँधको निर्माण पूरा भएपछि यस क्षेत्रमा जमिनमा सिँचाई हुने र कृषि उत्पादनले स्थानीय जनताको जीवनस्तर माथि उठाउने बताए ।

त्यस्तै कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर ५ (ख)का उम्मेदवार फखरुद्दिन खानले आफूसँग लुम्बिनीको विकास गर्ने भिजन भएकाले उम्मेदवारी दिएको बताए । खानले भने, ‘म यहि स्थानमा जन्मेको हुँ, यहाँको दुःख र पीरमर्का बुझेको छु त्यसैले पार्टीले उम्मेदवारी दिएको हो ।’

संघीय समाजवादी फोरम परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका उम्मेदवार खानले विगतमा भएको मधेश आन्दोलनले मधेशी जनताका छोरा छोरी सहिद बनाउने काम मात्र गरेको आरोप लगाए । उनले मधेशका जनताको समस्याको समाधान नेपाली कांग्रेसले मात्र गर्न सक्ने भन्दै मधेशका नाममा मधेशी दलले गरेको आन्दोलन केवल देखावटी र धोकापूर्ण भएको दावी गरे ।

प्रतिक्रिया
सम्बन्धित