सोमबार, २५ मंसिर २०७४
DainikNepal.com
सोमबार, २५ मंसिर २०७४

गरिबका झुपडी बिस्थापित गर्ने बाम उम्मेदवारको प्रतिवद्धता

दैनिक नेपाल २०७४ मंसिर ३ गते १८:५७

– आकाश देबकोटा
बाँके, ३ मंसिर । बाँकेको निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभा र प्रदेश सभामा बाम गठबन्धनका उम्मेदवारहरुले ५ बर्षे कार्यकालमा गरिबका झुपडी बिस्थापित गर्ने योजना सार्वजनिक गरेका छन । बाम गठबन्धन निर्वाचन परिचालन कमिटीले आइतबार जानकी गाउँपालिकाको बेलहरीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा प्रतिनिधि सभाका उम्मेदवार नन्दलाल रोकाय, प्रदेशसभा २ का उम्मेदवार बाबुराम गौतम, जिल्ला मुल निर्वाचन परिचालन कमिटीका संयोजक दिनेश यादव, क्षेत्रीय निर्वाचन परिचालन कमिटीका संयोजक दलबहादुर सुनारलगायतले गरिबी उन्मुलन गर्ने बाम गठबन्धनको मुख्य काम हुने बताए ।

‘आर्थिक समृद्धि र विकासका लागि बाम गठबन्धनलाई जिताउनुहोस’ प्रतिनिधि सभाका उम्मेदवार रोकायले भने, ‘बाम गठबन्धन रक्सी मासु होइन, विकासको योजनासहित आएको छ ।’

प्रदेश सभाका उम्मेदवार गौतमले आफूहरु सधैँ जनताको साथमा रहदै आएको बताउदै बेलहरीमा रहेको बाबाकुट्टीको उचित संरक्षण गरी पर्यटकीय स्थल बनाउने, इश्वरी तालको संरक्षण गर्दै सिचाईका लागि प्रयोग गर्ने, नालीसहित सडक बिस्तार गर्नेसँगै शिक्षा, स्वास्थ्य र प्रसुती गृह निर्माण गरिने योजना रहेको उनले बताए । जिल्ला मुल निर्वाचन परिचालन कमिटीका संयोजक यादवले विकास र समृद्धिका लागि ५ बर्षे स्थायी सरकार आवश्यक रहेको भन्दै बाम गठबन्धनलाई सहयोग गरी विकास र सम्वृद्धि रोज्न अपिल गरे ।

क्षेत्रीय निर्वाचन परिचालन कमिटीका संयोजक सुनारले जनता आवास कार्यक्रम एमाले नेतृत्वको सरकारले सुरुवात गरेको बताउँदै स्थायी सरकारमा भएमा झुपडी बिस्थापित गरि पक्कि बनाइने बताए । उनले भने, ‘सन्ततीको सुखद भविष्यका लागि बाम गठबन्धनलाई जिताउनुहोस् । उनले बेलहरीमा ३५ सइयाको अस्पताल निर्माण गरिने बताए । कार्यक्रममा जानकी गाउँपालिकाका प्रमुख रामनिवास यादवले जातिय आधारमा नभई विकासको एजेण्डाका आधारमा मत दिन अपिल गर्दै बाम गठबन्धन स्पष्ट योजनासहित चुनावी अभियानमा आएको बताए ।

बाम गठबन्धन निर्वाचन परिचालन कमिटी बेलहरीका संयोजक अर्जुन उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा बाम गठबन्धनका नेताहरु रत्न खत्री, डम्बर विक, पदम धिताल, सतिश निरौला, रक्षाराम बर्मालगायत उपस्थित रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित