मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

…जब काठमाडौँ आउन लागेका ओलीलाई प्रचण्डले रोके (रिपोर्टर डायरी)

राजकुमार ओली २०७४ मंसिर ३ गते १४:२४

– राजकुमार ओली / दैनिक नेपाल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिया पिउँदै एकाबिहानै अन्तरवार्ता गर्ने भनेपछि म बिहान साँढे ६ बजे नै बिर्तामोडको बीएनसी अस्पताल पुगेको थिएँ । शनिबार नै समय पक्का गरेकाले म तयारीका साथ त्यहाँ पुगेका थिएँ । देशको पूर्वप्रधानमन्त्री अनि ठूलो पार्टीका अध्यक्षसँग अन्तरवार्ता गर्ने भएकाले मैले केही प्रश्नहरु पनि तयार गरेको थिएँ ।

तर, बिहान साँढे ६ बजेतिर जब म प्रचण्ड बसेको ठाउँमा पुगेँ, उनी निकै तनावमा थिए । निकै उकुसमुकुसपूर्ण अबस्थामा प्रचण्डलाई देखेपछि म पनि अन्यौलमा परें । पछि थाहा भयो, प्रचण्डका पुत्र प्रकाश दाहाललाई अस्पताल भर्ना गरिएको रहेछ । त्यतिबेलासम्म प्रकाशको अबस्था गम्भीर रहेको खबर मात्र आएको थियो ।

तर, केहीबेरमै प्रकाशको निधन नै भएको खबर हुरीसरी फैलियो । बीएण्डसी अस्पतालको आवासमा बसेका प्रचण्डले आत्तिँदै हेलिकप्टर झिकाउन अनुरोध गरे । उनले नै खबर गरेपछि केपी ओली पनि हतार हतार गरेर दमकबाट विर्तामोड आइपुगे ।

ओली आउँदा बिहानको साँढे ७ बजिसकेको थियो । त्यतिबेलासम्म प्रचण्डलाई लिन हेलिकप्टर पनि बाटोमा आउँदै थियो । बीएनसी अस्पताल परिसर एमाले, माओवादीका कार्यकर्ता र शुभेच्छुकहरुले भरिएको थियो । केहीबेरमै संचारकर्मीको पनि ओइरो लाग्यो ।

अनुहार फिक्का बनाउँदै दमकबाट बिर्तामोड आइपुगेका केपी ओली पनि प्रचण्डसँगै काठमाडौँ जाने तयारीमा थिए । तर, प्रचण्डले रोके । ‘जे भयो, भयो । म जान्छु, म सम्हालिन्छु ।’, प्रचण्डले ओलीको अनुहारमा हेर्दे भने – ‘तपाईं यहीँ बस्नुस्, काँकडभिट्टाको कार्यक्रम रोकिनुहुन्न ।’

प्रचण्डको आँखामा आँशुका ढिकाहरु प्रष्टै देखिन्थ्यो, तैपनि उनी भन्दै थिए– ‘बरु तपाईंले काँकडभिट्टाका जनतालाई मेरा कुरा पनि राखिदिनुस्, तपाईंले कमाण्ड गरिदिनुस् । राम कार्कीले चुनाव जित्नुपर्छ ।’ झापा १ मा पूर्वसंचारमन्त्री समेत रहेका माओवादी नेता कार्की बाम गठबन्धनबाट उम्मेदवार छन् । उनलाई काँग्रेसका विश्वप्रकाश शर्माले चुनौती दिइरहेका छन् । पुत्रशोकमा पर्दा पनि कार्कीको जितका विषयमा प्रचण्डलाई निकै चिन्ता देखिन्थ्यो ।

प्रचण्डले यसो भनिरहँदा ओली पनि निकै भावुक नै देखिन्थे । ओली र प्रचण्डको अनुहार ओइलिएको फुलजस्तै देखिन्थ्यो ।

हेलिकप्टरको प्रतिक्षा हुँदाहुँदै मोरङबाट प्रचण्डकी छोरी गंगा र ज्वाईं जीवन आचार्य रुँदै–कराउँदै आइपुगे । त्यसपछि केहीबेर कोलाहलपूर्ण वातावरण बन्यो । एमाले झापाका अध्यक्ष चिन्तन पाठक, माओवादीका नेतृ धर्मशिला चापागाईं, दमकका मेयर रोम ओली लगायतले उनीहरुलाई सम्हाले । आखिर बाबुको मन न हो, पीडा देखाउन नखोज्दा नखोज्दै प्रचण्डका आँखा पनि रसाएका थिए ।

बिहान साँढे ८ बजेतिर एमाले अध्यक्ष ओली लगायतले बीएनसी अस्पतालको सातौँ तलामा रहेको हेलिप्याडमा हेलिकप्टर चढाएर प्रचण्डलाई काठमाडौँतर्फ बिदाई गरे । त्यतिबेला ओेली निकै भावुक देखिन्थे ।

झापाका कार्यक्रममा भाग लिन प्रचण्ड भद्रपुर बिमानस्थल हुँदै शनिबार बिहान मात्रै झापा आइपुगेका हुन् । शनिबार ओली र प्रचण्डले झापामा आफ्नो बल्ड प्रेसर समेत जाँच गराए । उनीहरुले संयुक्त रुपमा सभालाई सम्बोधन गरे । आइतबार काँकडभिट्टाको सभालाई उनीहरु दुवैले सम्बोधन गर्ने कार्यक्रम थियो । तर, माओवादी अध्यक्ष प्रचण्ड कहिल्यै निको नहुने घाउ बोकेर झापाबाट काठमाडौँ फर्केका छन् ।

काँकडभिट्टाको कार्यक्रममा ओली एक्ला वक्ता भएका छन् । प्रचण्ड परिवारमा परेको पीडा कारण काँकडभिट्टाको सभा समेत प्रभावित भएको छ ।

ओली झापास्थित दैनिक नेपालका झापा संवाददाता हुन् । 

प्रतिक्रिया
सम्बन्धित