मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

यसरी भएको रहेछ प्रकाशको निधन

दैनिक नेपाल २०७४ मंसिर ३ गते ११:३३

काठमाडौँ, ३ मंसिर । बिहानै सबेर उठ्ने प्रकाश दाहाल आइतबार बिहान उठेनन् । आमा सिताले बोलाइन्, बोलेनन् । त्यसपछि आमाले कोठामा छिरेर उनलाई उठाउन खोजिन् । तैपनि प्रकाश चलमल गरेनन् । हातले निकै घच्घचाउँदा पनि प्रकाश नचलेपनि सीताले चिच्चाउँदै प्रचण्ड निवासमा रहेका सन्तु दराईलाई बोलाइन् । नातिनीहरु पनि आइपुगे ।

अचेत अबस्थामा रहेका प्रकाशलाई कुन अस्पतालमा लैजाने भन्ने भयो । तत्कालै नर्भिक लगियो । त्यतिबेलासम्म बिहानको छ बजिसकेको थियो । तत्कालै अस्पतालले उनलाई मृत घोषित गर्यो ।

पारिवारिक स्रोतका अनुसार, प्रकाश केही दिन यता बिरामी थिए । उनलाई ज्वरो आएको थियो । त्यहीकारण उनी बाबुसँग झापा पनि गएनन् । प्रचण्डलाई उनले भनेका थिए – ‘बुबा मलाई खासै सञ्चो छैन्, तपाईं एक्लै जानुस् न है !’

झापा नगए पनि बाम गठबन्धनको सभालाई सम्बोधन गर्न बिर्तामोड पुगेका बाबुसँग उनले अपडेट भने लिइरहेका थिए । उनले साँझ कान्छी श्रीमती बिना मगरलाई पनि फोन गरे । र, कञ्चनपुरको चुनावी गतिविधिबारे जानकारी लिए । बिना कञ्चनपुरमै थिइन् ।

बाबु र श्रीमती चुनावी दौडमा भए पनि प्रकाश भने आमा र भाञ्जीहरुसँगै घरमा आराम गरेर बसेका थिए । शनिबार साँझ उनीहरुले सँगै खाना पनि खाएका थिए । प्रकाशले ज्वरो आएको छ भनेर खाना खान आनकानी गरेका थिए । तैपनि आमाले कर गरेपछि खाए ।

राति ११ बजेतिर उनले झापामा एसएमएस पठाएको उनको मोबाइलमा देखिएको छ । मध्यरातिसम्म फेसबुक लगायतका सामाजिक सञ्जालमा सक्रिय भइरहने प्रकाश शनिबार राति भने चाँडै सुते । त्यसपछि उनी कहिल्यै नउठ्ने गरी यो संसारबाट बिदा भएका छन् । ओछ्यानमै उनको प्राण गएको पारिवारिक स्रोतले बताएको छ ।

अस्पतालका अनुसार, आकस्मिक हृदयाघातका कारण राति ३ बजे नै उनको निधन भएको थियो । जबकी बिहान साँढे ५ बजे मात्र उनलाई अस्पताल पुर्याइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित