शनिबार, २ मंसिर २०७४
DainikNepal.com
शनिबार, २ मंसिर २०७४

नेपाल र फिलिपिन्सको खेल बराबरी, गुरुङको सन्यास

दैनिक नेपाल २०७४ कार्तिक २८ गते २१:१८

काठमाडौँ, २८ कात्तिक । एएफसी एसियन कप छनोट चरणको आफ्नो पाँचौं खेलमा नेपालले फिलिपिन्सलाई गोलरहित बराबरीमा रोकेको छ ।

सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल संघ) कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा नेपालले सबैभन्दा बलियो मानिएको टोली फिलिपिन्सलाई गोलरहित बराबरीमा रोकेको हो ।

यसअघि, गत चैतमा भएको छनोट चरणको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग उसकै मैदानमा ४–१ गोलले पराजित भएको थियो । खेल बराबरी भएपनि नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

यसअघि, चार खेल खेलेको नेपाल तीन खेलमा हार तथा एक खेलमा बराबरीको नतिजा ल्याएको थियो । समूह एफमा रहेको फिलिपिन्सको आजको खेलपछि नौ अंकका साथ शीर्ष स्थानमा रहन पुग्यो भने चार खेल खेलेको यमन ६ अंकसहित दोस्रो स्थानमा छ ।

अनिल गुरुङबाट सन्न्यास 

फिलिपिन्सविरुद्धको खेलसँगै ५०औँ अन्तर्राष्ट्रिय खेल पूरा गरेका ३१ वर्षीय नेपाली टोलीका स्ट्राइकर अनिल गुरुङले आज अन्तर्राष्ट्रिय फुटबल खेल जीवनबाट सन्न्यास लिनुभएको छ ।

खेलको ८२ औँ मिनेटमा सुजल श्रेष्ठको ठाउँमा मैदान प्रवेश गर्नुभएका उहाँलाई एन्फाले आज एक समारोहवीच बिदाइ गरेको छ । दशवर्षे आफ्नो खेल जीवनमा अनिलले आजको खेलसँगै ५० औँ अन्तर्राष्ट्रिय खेल पूरा गर्नुभयो ।

आफ्नो खेल यात्राभर उहाँले अहिलेसम्म १० अन्तर्राष्ट्रिय गोल गरेका छन् । सन् २००७ मा ओमनविरुद्वको अन्तर्राष्ट्रिय खेलबाट डेब्यु गर्नुभएका अनिलले सन् २००८ मा नेपालमा नै भएको पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा पहिलो गोल गर्नुभएको थियो ।

त्यस्तै सन् २०१३ को साफ च्याम्पियनसिपमा उहाँले भारतविरुद्धको खेलमा १०औं अन्तर्राष्ट्रिय गोल गर्नुभएको थियो । रासस

प्रतिक्रिया
सम्बन्धित