सोमबार, ४ मंसिर २०७४
DainikNepal.com
सोमबार, ४ मंसिर २०७४

‘समृद्धि र विकासका लागि बामगठबन्धनको जीत सुनिश्चित’

दैनिक नेपाल २०७४ कार्तिक २८ गते २१:११

कपिलवस्तु, २८ कात्तिक । संयुक्त बामगठबन्धन कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ ले जिल्लाको खरेन्द्रपुरमा निर्वाचन कार्यालय उद्घाटन गरेको छ ।

यसअघि संयुक्त बामगठबन्धनले निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत चन्द्रौटामा मुख्य कार्यालय स्थापना गरी चुनावी अभियानमा जुटेको छ । यसैगरी चुनाव प्रचारप्रसारलाई सहज बनाउन बामगठबन्धनले जिल्लाको शिवपुर, बहादुरगञ्ज, कृष्णनगर, जगदीशपुर लगायतको क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गरेको संयुक्त बामगठबन्धन निर्वाचन परिचालन कमिटी संयोजक सफर अलिमियाले जानकारी दिए ।

चुनावी प्रचार प्रसार अभियानका क्रममा शिवराजको वडा नं. ३, खरेन्द्रपुरमा गठबन्धनको कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका उम्मेदवार ईश्वर दयाल मिश्रले आफूलाई एमाले वा माओबादी जे भनेपनि हुने बताएका छन् । सूर्य चिन्ह अंकित झण्डातर्फ देखाउँदै पूर्व राज्यमन्त्री समेत रहेका मिश्रले भने – “मैले आत्मैदेखि नै यो सूर्य चिन्ह स्वीकार गरेको छु । आजदेखि तपाईंहरुले मलाई कमरेड भने हुन्छ । एमाले माओवादी जे भने पनि हुन्छ ।”

“हिजो संविधान जारी हुने बखतमा मैले केही गल्ती गरें हुला । म गरिन भन्न चाहन्न तर मलाई यो महसुस भएको छ कि म हिजो गलत थिएँ । मेरो बाटो गलत थियो । मलाई निर्देश गर्ने नेता गलत थिए । आज बल्ल म सही बाटोमा छु ।” –नेता मिश्रले भने ।

देशले काँचुली फेरिसकेको र अबको बाटो भनेको समृद्धि र विकासको बाटो भएकोले आफूले क्षेत्रमा विकासका लागि सक्दो प्रयास गर्ने उनले बताए । उनले भने – “मेरो उम्मेदवारी यो समाजको सामाजिक सद्भावका लागि हो । क्षेत्रको समृद्धि र विकासका लागि हो । चुनाव हो भन्दैमा यहाँ जातजातिको बीचमा लडाउन खोजिएको छ ।”

“सीमित गुण्डाको बलमा जित्ने आशा राखिएको छ । तपार्इं भरोसा गर्नुस्, विश्वास गर्नुस्, यी मुठ्ठीभर गुण्डा चुनावपछि कोही देखिने छैनन् । म चुनौति दिन चाहन्छु ।” –नेता मिश्रले आक्रोसित हुँदै भने ।

निर्वाचनको मिति नजिकिँदै जाँदा केही अराजक तत्वले आफ्ना प्रदेशसभाका उम्मेदवार अर्जुन केसीलाई मधेसबाट मत नआउने हल्ला फैलाएको कुरालाई प्रतिवाद गदै मिश्रले भने । अब हेर्नुस् प्रतिस्पर्धा हुन्छ । भोट उत्तरबाट अर्जुनलाई बढी आउँछ कि दक्षिणबाट । मेरो भाइ अर्जुनलाई दक्षिणका मधेसी समुदायले माया गर्न थालेका छन् । विश्वास गर्न थालेका छन् । चाहेका छन् । त्यसैले उसको विजय निश्चित छ, राजतिलकको तयारी गर्नुस् नेता मिश्रले ठोकुवा गरे ।

प्रतिक्रिया
सम्बन्धित