सोमबार, ४ मंसिर २०७४
DainikNepal.com
सोमबार, ४ मंसिर २०७४

यस्तो छ कञ्चनपुर २ मा चुनावी माहोल

दैनिक नेपाल २०७४ कार्तिक २८ गते २१:०४

कञ्चनपुर, २८ कात्तिक । कञ्चनपुरको चुनावी माहोल कांग्रेसका केन्द्रीय सदस्य एनपी साउँदको पक्षमा देखिएको छ । काँग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री साउँदले विगतमा गरेका विकास निर्माणका काम तथा आगामी दिनका लागि बुनेका विकास योजना सुनेर मतदाता उत्साहित भएका छन् ।

सुदूरपश्चिमबाट भविश्यमा मुलुक र पार्टीको नेतृत्व गर्ने विश्वास गरिएका नेता साउँदले घरआँगनमा पुगेर यस क्षेत्रको विकासको योजना सुनाउँदा मतदाता दंग परेका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि कञ्चनपुर क्षेत्र नं २ बाट उम्मेदवार रहेका साउँदको चुनावी अभियानमा बेग्लै रौनक देखिएको छ ।

साउँद मन्त्री बनेपछि यस क्षेत्रले पाएको बाटो, सडक, खानेपानी, सिँचाइ, शिक्षा, पुल पुलेसाको प्रसंसा मतदाताले नै गरेका छन् । साउँदले भने, ‘धेरै योजना अधुरा छन्, विकासका काम मात्र होइन, समृद्धिको ढोका नै सात नम्बर प्रदेशबाट खोल्ने मेरो सपना छ, तीं योजना पुरा गर्न तपाईँहरुको साथ फेरि पनि चाहन्छु ।’

साउँदे स्थानीय मालुबेलादेखि रैकवारविचुवासम्म रिङरोड बनाउने, मोहना, मछेली खोलाको कटान नियन्त्रणका लागि तटबन्धन निर्माण गर्ने कामसमेत गरेका छन् । उक्त क्षेत्रमा रंगशाला निर्माण गर्ने, रानाथारुलगायतका विभिन्न भाषा समुदायको संरक्षण र सम्बर्द्धनका लागि कार्ययोजना बनाएर संस्कृति जर्गेना गर्नेजस्ता थुप्रै योजनाहरु अघि सारेका छन् ।

घरदैलोमा सक्रिय मतदाताका आशा, गुनासा र सपनालार्इ साउँदले विनम्रतापूर्वक सुनिरहेका छन् । राष्ट्रियस्तरको नेता साउँदलार्इ चुनेर संसदमा पठाउँदा यस क्षेत्रको विकासमात्रै होइन, गरिमा पनि बढ्ने यहाँका मतदाताको भनाइ छ ।

साउँदले हरेक चुनावी सभामा लोकतन्त्रलार्इ बलियो बनाउन र समृद्धिलार्इ अघि बढाउन कांग्रेसको नेतृत्व आवश्यक रहेको भन्दै मतदान गर्न अपिल समेत गरेका छन् ।

उनले कम्युनिस्ट गठबन्धनले लोकतन्त्र र समृद्धिको यात्रा धरापमा पर्न सक्ने बताउँदै आएका छन् । ‘करिब पौने शताब्दिेखि नेपाली काँग्रेस लोकतन्त्रका लागि संघर्षरत रह्यो । २००७ सालमा हामीले देखेको संविधानसभाबाट संविधान निर्माणको सपना हाम्रै नेतृत्वमा पुरा भएको छ’, साउँदले भने, ‘अहिले नयाँ संविधान लागू हुने चरणमा हामीले पुगाइरहँदा कम्युनिष्ट गठबन्धनका नाममा त्यसलाई धरापमा पर्ने कोसिस भइरहेको छ ।’

उनले यसप्रति सचेत भएर लोकतान्त्रिक शक्तिलार्इ जिताउन आग्रह समेत गरे । नागरिक समाजका स्थानीय प्रतिनिधि, व्यवसायी तथा सामाजिक कार्यकर्ताहरु पनि साउँदको पक्षमा लागेका छन् । साउँदले यसअघि पनि यही क्षेत्रमा प्रत्यक्षतर्फ जित हात पारेका थिए ।

सात नम्बर प्रदेशमा साउँद ‘ह्यावी वेट’ नेता भएकाले अन्य उम्मेदवारहरु उनका सामु फिक्का देखिएका छन् । विद्यार्थी राजनीतिबाट अघि बढेका साउँदको राष्ट्रिय राजनीतिमा अर्थपूर्ण उपस्थिति रहँदै आएको छ ।

प्रदेश नम्बर सातमा प्रधानमन्त्री शेरबहादुर देउवापछिको रोलक्रममा रहेका साउँदे जित हात पारेपछि विकाससँगै कञ्चनपुर तथा समग्र सात नम्बर प्रदेशकै लागि गौरवको विषय हुनेभन्दै विभिन्न सेवाबाट निवृत भएका पूर्व राष्ट्रसेवक कर्मचारीदेखि, विभिन्न पार्टीका नेताकार्यकर्ताहरु कांग्रेस प्रवेश गर्ने लहर नै चलेको छ ।

प्रतिक्रिया
सम्बन्धित