शनिबार, २ मंसिर २०७४
DainikNepal.com
शनिबार, २ मंसिर २०७४

चुनाव जित्न पूर्वमन्त्री गुरूङले मनाङमा मतदातालाई यसरी झुक्काए

दैनिक नेपाल २०७४ कार्तिक २८ गते १९:३५

मनाङ, २८ कात्तिक । चुनाव जित्नको लागि उमेदवारहरु विभिन्न हतकण्डा अपनाउन तयार हुन्छन् । उम्मेदवारहरु मत आफ्नो पक्षमा पार्नको लागि राम्रो काम गरेर जनताको मन जित्न चाहन्छन् । जसको उदाहरणको रुपमा आसन्न चुनावको लागि उम्मेदवारहरुले धान काट्ने, हलो जोत्ने, गाई दुहुने जस्ता सकारात्मक कामहरु गरे । तर त्यति नै बेला कोही भने केही प्रोपागण्डा अर्थात गलत प्रचार गरेर पनि चुनावी मत आफ्नो पक्षमा पार्न पछि पर्दैनन् ।

मनाङमा यस्तै एउटा दृष्य देखिएको छ । मनाङमा नेपाली काँग्रेसका उम्मेदवार टेकबहादुर गुरुङले काँग्रेसका समानुपातिकको सूचीमा हुँदै नभएकाहरुलाई समानुपातिकका उम्मेदवार भनेर गलत प्रचार गरी चुनावी माहौल आफ्नो पक्षमा पार्न खोजेका छन् । मनाङमा भेटिएको पोष्टरमा साङ्दो लामा, सागर गुरुङ र छिरिङ ओङ्मा गुरुङ घलेलाई पनि समानुपातिक उम्मेदवारको रुपमा देखाइएको छ । तर उनीहरु काँग्रेसको वास्तविक समानुपातिकको सूचीमा नाम नभएका व्यक्तिहरु हुन् ।

काँग्रेसको समानुपातिक सूचीमा भएका प्रदेश नम्बर ४ का समानुपातिक उम्मेदवारहरु ।

नेपाली काँग्रेस मनाङका सभापति समेत रहेका गुरुङले चुनाव जित्नको लागि उनीहरु पनि समानुपातिकको सूचीमा छन् भन्दै मतदातालाई झुक्याएका छन् । मनाङ प्रदेश नम्बर ४ मा रहेको छ । प्रदेश नम्बर चारबाट २४ जना काँग्रेसको समानुपातिक सूचीमा परेका छन् । तर त्यो सूचीमा यी तीन जनाको नाम उल्लेख गरिएको छैन । प्रदेश नम्बर ४ बाट काँग्रेसको समानुपातिक सूचीमा पर्नेहरुमा मेखलाल श्रेष्ठ, हरि बहादुर घले, श्यामकृष्ण मल्ल, बालकृष्ण वोकावल, झुल बहादुर आले, ललितकला गुरुङ, सरिता गुरुङ, मन कुमारी गुरुङ, विमला गौचन, माया रानामगर, शारदा गौचन, मणीभद्र शर्मा कँडेल, कुमार खड्का, तिलक प्रसाद सापकोटा, लक्ष्मी आचार्य, ओमकला गौतम, सरस्वती अर्याल तिवारी, कोपिला रानाभाट, चन्द्रादेवी पौडेल, लक्ष्मी देवी मैनाली, दोवाटे विश्वकर्मा, लिलबहादुर रनपाल, कोपिला बोहोरा, कृष्ण कुमारी परियार रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित