शनिबार, २ मंसिर २०७४
DainikNepal.com
शनिबार, २ मंसिर २०७४

नेपाल-भारत मैत्रीपूर्ण चलचित्र महोत्सव मंगलबारबाट काठमाडौँमा सुरु

दैनिक नेपाल २०७४ कार्तिक २८ गते १७:२०

काठमाडौँ, २८ कात्तिक । पहिलो ‘नेपाल-भारत मैत्रीपूर्ण चलचित्र महोत्सव तथा रिफ अन्तर्राष्ट्रिय गोष्ठी’ मंगलबारबाट काठमाडौँमा सुरु भएको छ । किङ्स कलेज बबरमहलमा भएको सो तीन दिने महोत्सवमा नेपाल र भारतमा निर्माण भएका विभिन्न लघु चलचित्रहरु (डकुमेन्ट्री चलचित्र) प्रदर्शन गरिएको थियो ।

महोत्सवमा राजस्थान अन्तर्राष्ट्रिय चलचित्र महोत्वसका संस्थापक सोमेन्द्रनाथ हर्षको नेतृत्वमा आएको टोलीले नेपाली चलचित्र टोलीसँग अन्तरक्रिया गरेको थियो । ‘डिजिटल मिडिया तथा चलचित्र क्षेत्रमा सुरु भएको उदाउँदो शैली’ बिषयक सो महोत्वसमा मंगलबार सिनेमाको माध्यमबाट गर्न सकिने साँस्कृति एवम् पर्यटकीय प्रबर्द्धन सम्बन्धी गोष्ठी समेत गरिएको थियो । महोत्सवमा मंगलबार शेनाङ ग्याम्लो तामाङको नेपाली लघु चलचित्र ‘झालो’ तथा नगेश कुनकुरद्वारा निर्देशित तथा मनीश मुन्द्राले निर्माण गरेका भारतीय लघु चलचित्र ‘धनक’को प्रदर्शन गरिएको थियो । साथै सोही महोत्सव तथा गोष्ठीमा राजस्थानको साँस्कृतिक महत्व झल्किने नृत्य समेत प्रदर्शन गरिएको थियो ।

राजस्थान इन्टरनेशलन फिल्म फेष्टिभल (रिफ)को आयोजनामा भएको सो महोत्सवको उद्घाटन समारोहमा राजस्थान अन्तर्राष्ट्रिय चलचित्र महोत्वसका संस्थापक हर्ष, रामोजी क्रियन युनिभर्स, हैदरावादका निर्देशक प्रोफेसर उज्जवल के. चौधरी, एमएस कलेज राजस्थानकी प्राध्यापक डा. सन्जु श्रीमाली, साइन मिडिया काठमाडौँका निर्देशक तथा महोत्सवका संयोजक गणेश पाण्डे, किङ्स कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्याललगायतको उपस्थिति रहेको थियो ।

महोत्सव आगामी बिहीबारसम्म सञ्चालन हुनेछ । महोत्सवमा दोस्रो दिन बुधबार हिन्दी लघु चलचित्र ‘आँखो देखि’ र नेपाली लघु चलचित्र ‘नेपाल अर्थक्वेक’ प्रदर्शन गरिनेछ । साथै, बुधबार नै ‘सामाजिक परिवर्तनको लागि सिनेमा’ र ‘दक्षिण एशियाली सिनेमाको भविष्य र चुनौतिहरु’ बिषयक अन्तरक्रिया पनि हुनेछ । त्यस्तै, तेस्रो तथा अन्तिम दिन बिहीबार नेपाली लघु चलचित्र ‘डाईङ क्यान्डल’ र हिन्दी लघु चलचित्र ‘पार्चेद’को प्रर्दशन गरिनुका साथै ‘डिजिटल मिडिया तथा चलचित्र क्षेत्रमा सुरु भएको उदाउँदो शैली’को बारेमा अन्तरक्रिया गरिने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित