सोमबार, ४ मंसिर २०७४
DainikNepal.com
सोमबार, ४ मंसिर २०७४

वाम उम्मेदवार राना भन्छनः आरजुले चुनाव जित्न सत्ताको दुरुपयोग गरे प्रतिवाद गर्छौ

दैनिक नेपाल २०७४ कार्तिक २८ गते १३:५२

२०७० सालको संविधान सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी भएको प्रदेश नम्बर ७ को महत्वपूर्ण मानिने निर्वाचन क्षेत्र नम्बर ५ (तत्कालीन क्षेत्र नम्बर ६) मा यस पटकको चुनावमा देउवा पत्नी डाक्टर आरजु राणा देउवा मैदानमा छन् ।

त्यस्तै, बाम गठबन्धनबाट एमालेका वैकल्पिक केन्द्रीय सदस्य नारदमुनि राना उम्मेदवार छन् । २०५४ सालमा धनगढी नगरपालिकाका उपप्रमुख निर्वाचित राना २०६४ सालमा समानुपातिक सांसद हुन् । खेलकुद तथा सामाजिक कार्यमा पनि संलग्न रहेका बाम गठबन्धनका उम्मेदवार नेता रानासंग गरिएको कुराकानीको सारसंक्षेपः

प्रधानमन्त्री पत्नी डाक्टर राणा देउवासंग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । कस्तो लागिरहेको छ ?

हो, यो क्षेत्रबाट नेपाली कांग्रेसका तर्फबाट डाक्टर आरजु राणा र बाम गठबन्धनबाट म उम्मेदवार छु । बाम गठबन्धनको उम्मेदवार भएकाले मलाई चुनाव लड्न कुनै महशुस भएको छैन् । म आफूलाई हेभीवेट उम्मेदवारको रुपमा हेरिरहेको छु ।

आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्न के गर्दैहुनुहुन्छ ?

हामी संयुक्त रूपमा नै चुनावी प्रचार–प्रसार तीब्र बनाइरहेका छौं । गाउँ–गाउँमा, टोल–टोलमा प्रचार प्रसार कमिटि गठन गरेका छौं । उम्मेदवार र मतदाताको सम्बन्धलाई नजिक बनाउन भेटघाट कार्यक्रम पनि गरिरहेका छौं ।

तपाईंको चुनाव जित्ने आधार के हुन् ?

सबभन्दा बलियो आधार भनेको दुई ठुला पार्टी नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) र नेकपा एमाले एक ठाउँमा उभिएका छौं । एकै प्लेटफर्मबाट चुनाव लडिरहेका छौ । हिजो फरक–फरक नामबाट चुनाव लड्दा प्राप्त गरेको उपलब्ध अहिले संगै लड्दा निश्चित रुपमा दुई गुणा भएको छ । फेरि म यहाँको स्थानीय भएको नाताले मलाई यहाँका दाजुभाई, दिदिबहिनी, उद्योगी व्यावसायी, बुद्धिजीवी, पेसाकर्मी, किसान सबैले राम्रोसंग चिन्दछन् । मलाई माया गर्छन् र मेरो उत्साह बढाईरहेका छन् ।

म साविक धनगढी नगरपालिकाको उपमेयर हुँदा र २०६४ सालमा समानुपातिक सांसद हुँदा मैले यस क्षेत्रमा जनतालाई देखिने गरि केही उल्लेखनीय काम गरेको छु । शिवनगर खानेपानी आयोजना, शिव निमावि, मुक्त कमैया शिविरमा विद्यालय, बेलीको विद्यालयमा भवन निर्माण लगायतका काम गरेको छु । मैले गरिव तथा पछाडी परेका ठाउँमा र शिक्षा क्षेत्रमा मेरो ठुलो योगदान रहेको छ । त्यस्तै, अर्को महत्वपूर्ण आधार भनेको हाम्रो चुनावी एजेण्डा हो ।

मतदाताको प्रतिक्रिया कस्तो पाईराख्नु भएको छ ?

घरदैलो अभियानका क्रममा मतदाताहरूले हामीलाई खबरदारी गरिरहेका छन् । मतदाताले ०४८ सालदेखि यो क्षेत्रमा पटक–पटक नेपाली काँग्रेसलाई जिताए पनि केही पनि गर्न नसकेको गुनासो गरिरहेका छन् । अब दुईवटा बामपन्थी एकै ठाउँमा आएपछि आम मतदाताले पनि बामपन्थी सरकार बनाउनुपर्छ भन्ने गरेका छन् । बामपन्थी सरकार नबनेकै कारणले यो देशमा शान्ति, सुरक्षा, आर्थिक अवस्था कमजोर, विकासका मुद्दा ओझेलमा परिरहेको, गरिब, सुकुम्बासी, मुक्त कमैयाको अहिलेसम्म उचित व्यवस्था हुन नसकेको मतदाताले गुनासो गरेको मैले पाए ।

कैलालीको मुख्य समस्या के–के हुन ?

कैलाली जिल्ला विकासको सम्भावना बोकेको क्षेत्र भए पनि औद्योगिक, पर्यटकीय, कृषि लगायत क्षेत्रको समस्याको पहिचान गर्न नसक्दा जिल्लालाई समृद्धितर्फ अघि बढाउन सकिएको छैन । कैलाली जिल्लामा वास्तविक रुपमा थुप्रै समस्या छन् । शहरी विकासले जुन हिसावले व्यवस्थित हुनुपर्थ्यो, त्यो भएको छैन । सबै गाउँ-वस्तीमा शुद्ध खानेपानीको पुग्नु सकेको छैन । शिक्षामा अझै पनि धेरै मान्छेको पहुँच छैन ।

यदि निर्वाचित हुनुभयो भने यस क्षेत्रलाई कस्तो बनाउने सोच्नु भएको छ?

कैलाली क्षेत्र नम्बर ५ लगायत प्रदेश नम्बर ७ को समृद्धिका लागि मैले काम गर्ने छु । कैलालीको धनगढी विमानस्थल र गौरिफण्टा नाकाको स्तरोन्नती गर्ने पहिलो प्राथमिकता हुनेछ । कैलाली ७ नम्बर प्रदेशको व्यापारिक नाका भएकाले यसलाई औद्योगिक क्षेत्र बनाउन पहल गर्नेछु । यस क्षेत्रको कृषिलाई आधुनिककरण बनाउने, शिक्षा क्षेत्रको विकृति अन्त्य गरि कैलालीलाई शैक्षिक हव बनाउने, हरेक घरमा शुद्ध खानेपानी पु-याउने, रणनीतिक योजना तयार गर्ने छु । कैलाली सहित ७ नम्बर प्रदेश संस्कृति, पर्यटनको सम्भावना बोकेको क्षेत्र भएकाले यसको संरक्षण गर्दै यसको प्रवद्र्धनका लागि पनि पहल गर्ने छु । यस क्षेत्रका लोपोन्मुख जातहरूको सूचीकरण गर्ने, मुक्त कमैया, मुक्त कम्लहरीको पुनःस्थापना गर्न पहल गर्ने योजना छ ।

तपाईको मुख्य प्रतिद्वन्द्वी डा. राणाले सत्ताको दुरुपयोग गर्न सक्छन नि, के तयारी छ ?

चुनावको बेला सत्ताको दुरुपयोग गर्ने नेपाली काँग्रेसको परम्परागत चरित्र हो । अहिलेसम्मका चुनावमा नेपाली काँग्रेसले सत्ताको गलत ढंगले उपयोग गरेको इतिहास छ । उनीहरुले चुनाव आयो कि सत्ता खोजी हाल्ने र सत्तामा गइसकेपछि सत्ता प्राप्तीका लागि राज्यको साधन, स्रोत र सबै कुराको चरम दुरुपयोग गर्ने गरेका छन् । हामी दुरुपयोग रोक्न सचेततापूर्वक लाग्ने प्रयासमा छौ ।

अन्त्यमा आम मतदातालाई के अपिल गर्न चाहनुहुन्छ ?

हामी धेरै वर्ष ठगिएका छौं । नेपाली काँग्रेसले लामो समय शासन चलाउँदा ७ नम्बर प्रदेश विकासको हिसावले पछाडी परेको छ । सिंगो नेपालको शान्ति, आर्थिक समृद्धि गर्न बाम गठबन्धनलाई निर्वाचित गराउन अनुरोध गर्दछु ।

प्रतिक्रिया
सम्बन्धित