सोमबार, ४ मंसिर २०७४
DainikNepal.com
सोमबार, ४ मंसिर २०७४

गोर्खा मेमोरियल फण्डद्वारा काँकरभिट्टा उमाविलाई कम्प्युटर प्रदान

दैनिक नेपाल २०७४ कार्तिक २८ गते ९:०४

बेलायत । बेलायतको फोकस्टोनस्थित गोर्खा मेमोरियल फण्डले झापा जिल्लाको काँकरभिट्टा उच्चमाध्यमिक विद्याललाई ३१ वटा कम्प्युटरहरु उपलब्ध गराउनुकासाथै एउटा कम्प्युटर कक्ष पनि बनाइदिएको छ ।

फण्डले विद्यालयकालागि हालै एउटा उर्जा केन्द्र र सिसिटिभी सुरक्षा प्रणाली पनि जडान गरीदिन लागेको फण्डका अध्यक्ष तथा भूतपूर्व काउन्सिलर धन गुरुङले बताए ।

सो परियोजनाकालागि २०,००० पौण्ड (झण्डै २७ लाख रुपियाँ) सहयोग संकलन गरिएको थियो ।

सो विद्यालय र फोक्सटोनस्थित मार्टेलो स्कूलका विद्यार्थीहरुबीच भिडियो कन्फरेन्समार्फत छलफल पनि भएको थियो । सो अन्तरकृयाका बेला दुबै स्कूलका विद्यार्थीहरुले उनीहरुको विद्यालय, पढाइ हुने विषय र रुचीबारे रमाइला प्रश्नहरु गरेका थिए ।

मार्टेलो स्कूलकी प्रधानाध्यापक एलिसन म्याकलेचीले सो अन्तरकृयालाई आफ्ना विद्यार्थीहरुले निकै रुचाएको र यो उनीहरुकालागि नेपाल र नेपाली शिक्षा प्रणालीबारे जान्ने राम्रो अवसर भएको बताइन् ।

सो समारोहमा बोल्दै फण्डका अध्यक्ष धन गुरुङले सूचना र प्रविधिको यो युगमा हाम्रा विद्यार्थीहरु पनि विश्व सूचना सन्जालसंग जोडिउन् र उनीहरुको ज्ञानको भण्डार विस्तृत बनोस् भन्ने उद्देश्यले यो अभियान शुरु गरिएको बताए ।

उनले सो परियोजनालाई सघाउने बेलायतस्थित सबै सहयोगीहरुलाई हार्दिक धन्यवाद पनि दिए ।

विद्यालयका प्राचार्य तुलसीप्रसाद निरौलाले बेलायतबाट नेपालमा शैक्षिक उन्नयनकालागि सघाउने गोर्खा मेमोरियल फण्ड, फोकस्टोन नगरका वासिन्दाहरु र सबै सहयोगीहरुप्रति हार्दिक आभार व्यक्त गरेका थिए ।

फण्डले छिट्टै रोल्पा जिल्लाको एक विद्यालयलाई पनि कम्प्युटरहरु प्रदान गर्ने योजना रहेको र त्यसकालागि सघाउन चाहने महानुभावहरुले https://www.gurkhamemorialfund.org.uk/make-a-donation/ मा सहयोग गर्न सकिने जनाएको छ ।
 

प्रतिक्रिया
सम्बन्धित