सोमबार, ४ मंसिर २०७४
DainikNepal.com
सोमबार, ४ मंसिर २०७४

नवराज सिलवाललाई बेलायतबाट पूर्वप्रहरीको हृदयविदारक पत्र

धनबहादुर क्षेत्री २०७४ कार्तिक २७ गते १२:४३

– धनबहादुर क्षेत्री

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसँगै नेपाल प्रहरीका पूर्वडिआईजी नवराज सिलवालको प्रहरी संगठनबाट अन्यायपूर्ण बहिर्गमन र नेकपा एमाले प्रवेशसँगै ललितपुरबाट प्रतिनिधिसभाको प्रत्क्षयतर्फको उम्मेद्वार हुँदैगर्दा अनेक कोणबाट तर्कबितर्कहरु सतहमा आएका छन् ।

म आफै एक पूर्वप्रहरी र छोटो समय नवराज सिलवालसँग प्रहरी प्रधान कार्यालयमा भएको संगतलाई आज फर्केर हेर्दा लामो मेहनतपछि उनी पचासौँ हजार सदस्य भएको संगठनको नेतृत्वको धेरै नजिक पुगे । तर सत्ता र शक्ति दुरुपयोगको शिकार भए । यद्यपि नवराजमाथि राष्ट्रको ठूलो लगानी छ र उनको पनि दशकौंको मेहनत, लगन, इमान्दारिता, निष्ठा र समर्पण अवश्य छ ।

प्रजातन्त्र पुनर्स्थापनापछि तत्कालिन गृहमन्त्री शेरबहादुर देउबाको पालादेखि भने भर्ना र पदोन्नतिको मामिलामा प्रहरी संगठनमा पूरै राजनीतिकरण स्थापित भयो । र, पछिल्लो पीडित भए डिआईजी नवराज सिलवाल ।

प्रहरीमा बढुवा, सामर्थ्यता, प्रतिभा, दक्षता र सिर्जनशिलताको आधारमा जे हुनुपर्ने हो, त्यसमा नवराज एक नम्बरमा भएको जगजाहेर नै छ, तर नेपालको राज्यसत्ताका केही नेताहरुलाई यी कुराहरुको कुनै मुल्य भएन । बरु त्यसको साटो पार्टीको मान्छे, नातागोता, क्षेत्र, चाप्लुसी र धनको खेलबाट बढुवा हुने पद्दति नै बिकास भैइसकेको देखिन्छ । केही पूर्वप्रहरी अधिकारीहरु भन्छन-  ‘आईजीपी डिबी लामाको पालादेखि नेपाल प्रहरीमा राजनीति, गलत तत्व र सरुवा बढुवामा हस्तक्षेप घुसेको हो ।’ त्यसो त लामा आफै सुन र लागुपदार्थ तस्करीको आरोपमा जेल परेका आइजीपी समेत हुन् ।

प्रजातन्त्र पुनर्स्थापनापछि तत्कालिन गृहमन्त्री शेरबहादुर देउबाको पालादेखि भने भर्ना र पदोन्नतिको मामिलामा प्रहरी संगठनमा पूरै राजनीतिकरण स्थापित भयो । र, पछिल्लो पीडित भए डिआईजी नवराज सिलवाल । नेपाल प्रहरीको प्रमुख आइजीपी पदलाई जसरी खेलौना बनाइयो, यसको क्षतिपूर्ति दिर्घकालसम्म राष्ट्रले गर्न सक्दैन, जुन पीडाबाट नवराज अगाडि बढेका छन्, यो आफैमा साहसिक कदम हो । र, साँचो अर्थमा यसको पनि क्षतिपूर्ति हुन सक्दैन् । इतिहासले यस्ता  ‘कु’ हरुको छुटै लेखाजोखा गर्दै जाला, तर यस्ता खेलवाडले नवराजहरु जन्माइरहने भयो, सोचनिय प्रश्न यो हो । राज्यको उपस्थितिको आभास दिने प्रहरी संगठनको नेतृत्व चयनमा हुने यस्ता अस्वस्थ चलखेलले प्रहरी संगठनलाई मात्र होइन, लोकतान्त्रिक पद्दति र नागरिक प्रशासन बारे चासो राख्ने जोसुकैका लागि गम्भिर चिन्ताको बिषय हो ।

यसै सन्दर्भमा पूर्वप्रहरी बरिष्ठ उपरीक्षक बसन्तराज कुँवरको “खुशी नभएका तीन अनुहार” शिर्षकको लेख सान्दर्भिक देखिन्छ । उनीले लेखेका छन् – ‘शाही शासनकालमा झुट्टा मुद्दा बोक्नु परेका कारण सेवा दिन सकेको थिइन्, अदालतले सफाई दिई सेवामा फर्कदा एसएसपी पदको मेरो समयवधि मात्र दुई महिना बाँकी थियो ।’ अथवा दुई महिनाभित्र उनको बढुवा वा म्याद थप नभए उनी प्रहरी सेवाबाट स्वतः मुक्त हुन्थे ।

कुँवर लेख्छन् – ‘शाही शासनकालमा दुःख पाएकाहरु प्रधानमन्त्री, मन्त्री, सांसद भए, कर्मचारीहरु सचिब र मुख्यसचिब भए तर नेपाल प्रहरीमा तत्काल रिक्त रहेको डिआईजीमा म एकमात्र दावेदार हुँदाहुँदै पनि तत्कालिन गृहमन्त्री, गृहसचिब तथा महानिरीक्षक तीन जनाको उदासिनताले र गृहमन्त्रीले मलाई काँग्रेस होइन भन्ने पूर्वाग्रहले म डिआईजी बन्न सकिन र दुई महिना समाप्त भयो अनि म नेपाल प्रहरीबाट बाहिरिनुपर्‍यो ।’

नेपाल प्रहरीमा मात्र होइन्, भारतमा पनि समय समयमा यस्ता उदाहरणहरु छन, भारतको प्रथम महिला आइपीएस अफिसर किरण बेदी सिनियर हुँदा हुँदै उनी भन्दा धेरै जुनियर डडिवाललाई दिल्ली प्रहरीको प्रमुख बनाइयो । पछि बेदीले प्रहरी छाडेकी थिइन् ।

नेपालमा चुलिएको चरम भ्रस्टाचार, कमजोर नेतृत्व र व्यापक राजनीतिकरणका परिणाम स्वरुप नवराज सिलवाल, बसन्तराज कुँवर, राजेन्द्रबहादुर सिंह, पार्वती थापाहरु आईजिपी हुनबाट बन्चित हुन परिरहेको छ । प्रहरीमा केही गर्न सक्ने भनि हेरिएका नवराज सिलवाल राजिनामा गरी एमालेमा प्रबेश गरिसकेका छन् र झण्डै संसद्को निर्वाचनमा उम्मेदवार छन् ।

भिन्न पेशा, प्रशिक्षण, भिन्न स्कुलिङबाट खुट्किला चढ्दै डीआईजी बनेका सिलवाललाई जब दरिलो साथ चाहिएको थियो, एमालेले हात फैलाएर कुनै कन्जुस्याईँ नगरी अबिर र अभिवादनसहित केन्द्रीय राजनीतिमा स्वागत गरिरहँदा उनले पनि साहस गरे, त्यो उनको पीडाबिरुद्ध लडाईंको शखघोष हो । यो भन्दा उत्तम निर्णय सायद अरु कुनै हुन सक्दैनथ्यो । दबिएका आवाजहरुको प्रतिनिधिका रुपमा धेरै नेपालीहरुले यो निर्णयलाई दमदार रुपमा लिएका छन्, जुन स्वागत योग्य छ । उनको न्यायको लडाईसँग मेल खाँदो छ ।

सिलवालले समाजको सामाजिक पक्ष, राजनैतिक पक्षलाई हार्दिकताका साथ ग्रहण गर्दै मुलुक बनाउने योजनाहरु सुत्रबद्द गर्दै सम्बृद्द नेपाल बनाउने संकल्पमा होमिनुपर्नेछ । राजनीतिमा बद्लाव वा परिवर्तन गर्न र नयाँ नेपालको यात्रामा सिंगो मुलुक हिँडाउन पुरातनवादी संस्कारसँग संघर्ष गर्ने संकल्प गर्दै नेपालको विकास रणनीति बनाउन मौलिक भूमिका खेल्नुपर्दछ । उनी र उनको अनुभबबाट पार्टी र रास्ट्र्ले धेरै अपेक्षा गरिरहेको छ । धेरै जनताले उनको निर्णयको स्वागत गरेका छन् र सकरात्मक रुपमा लिएका छन । नवराजले प्रहरीमा आईजिपी बन्ने अवसर त पाएनन तर त्यही कारण उनी सांसद हुने दौडमा दौडिन पाएका छन्, अबको दौड उनको सामर्थ्यमा भरपर्छ, समयले ल्याएको यो जिम्मेवारीमा उनि कति तैरिन सक्छन, त्यस्ले मात्र उनको अगाडिको बाटो तय गर्नेछ ।

अर्को महत्वपूर्ण पक्ष के छ भने यो उनको मात्र सफलता र असफलताको बिषय रहने छैन, उनी जस्तै बिभेद र उत्पीडन भोगिरहेका धेरैको भावना र न्यायप्रेमी जनता समेतले यो आफ्नो लडाईंका रुपमा आत्मसात गरी रहेका छन् । जस्ले उनको निर्वाचनमा प्रमुख भूमिका खेल्ने छ। मलाई लाग्छ, नवराज सिलवालले चुनाव जित्छन्, यो देशका लागि उनले खेलेको भूमिका, बगाएको रगत र पसिना, उनको इमान्दारिता उनका जित्ने आधार हुन् । अझ् उनीमाथि भएको विभेद र अत्याचारको त कुनै हिसाब किताब नै छैन् । त्यो अन्याय र अत्याचारको विरुद्धमा न्यायप्रेमी जनताले नवराज सिलवाललाई पक्कै जिताउनेछन् । नवराजको जित सबै अन्याय, अत्याचार र थिचोमिचोमा परेकाहरुको जित हुनेछ । त्यसैले त सिलवालले भन्ने गरेका छन्, मलाई तपाईंहरुको एक भोट दिनुस्, म तपाईंहरुलाई परेको अन्यायविरुद्ध जिन्दगीभर लड्छु ।शुभकामना तथा अग्रिम बधाई क. नवराज सिलवाल !

पूर्वप्रहरी क्षेत्री प्रवासी नेपाली मञ्च, बेलायतसँग आबद्ध छन् ।

प्रतिक्रिया
सम्बन्धित