सोमबार, ४ मंसिर २०७४
DainikNepal.com
सोमबार, ४ मंसिर २०७४

हजुर बा’को पार्टीलाई रोज्ने अनि…?

बी.बी. श्रेष्ठ २०७४ कार्तिक २७ गते ११:४९

– बी.बी. श्रेष्ठ

साझा पार्टीका संयोजक रविन्द्र मिश्रले भनेझै हामी रेष्टुरेन्टमा जान्छौ, मेनु हेर्छौँ अनु अन्त्यमा मःमः अथवा चाउमिन अर्डर गर्दछौ भनेझै नयाँपनमा विश्वास नगर्ने । अनि व्यक्ति भन्दा पार्टी ठूलो रहेछ भन्ने त्यही पार्टीमा मतदान गर्ने परिपाटी नै हामीमा भएको सवैभन्दा ठूलो कमजोरी हो ।

देशमा चुनावी ज्वरो बढदैछ । यो निर्वाचनको सम्मुखमा विभिन्न राजनैतिक पार्टीहरुले आफ्नो घोषणापत्रमार्फत देश विकास र जनताको जीवनस्तर उकास्ने प्रतिवद्धतासहित जनतामा भोट माग्न तल्लिन रहेका छन् । देश र जनताको लागि यो समय भनेको महत्वपूर्ण समय र अवसर पनि हो । कस्तो नेतृत्व र किन चुन्ने भन्ने विषयले यो बेलामा प्रशय पाउनु पर्दछ । हिजो भएका संसदीय व्यवस्था होस् वा अन्य व्यवस्थामा राजनैतिक दलका नेताहरुले खेलेका भूमिकाको समिक्षा हुन आवश्यक पर्दछ । फेरि पनि हामीले यस बारेमा समान्य छलफलसम्म पनि चलाएनौँ भने पुनः नेतालाई गाली गर्दे आफ्नो भविश्य अन्धकारमा धकेल्नुको विकल्प छैन । वाजेदेखि नाति पनातिसम्मको रगत एउटै हो र मेरो पनि यही पार्टीको रगत बगेको छ भन्नु भनेको भयंकर कमजोरी र मुर्खता शिवाय केही हुन सक्दैन । एक्काइसौं शताव्दीको यो प्रविधिको युगमा पनि त्यही खोक्रो आडम्वरमा बग्ने हो भने लामो समयसम्म विकास र आर्थिक समृद्धिमा धेरै पछाडि पर्ने कुरामा कुनै सन्देह छैन ।

राजनैतिक दलहरुको घोषणापत्र सबै देश र जनताका लागि भन्ने वाक्यांश अधिकांश रहेको हुन्छ, आर्थिक सम्वृद्धि, विकास, शिक्षा, स्वास्थ्य, रोजगारको यो नारा सुनेको शताव्दी नै हुन लागिसक्यो । तर यसको व्यवहारिक कार्यान्वयन कति भयो ? हिजो जितेर शासनको वागडोर सम्हालेका राजनैतिक दल र त्यसमा आवद्ध व्यक्तिहरुले हिजो भएको चुनावमा गरेका प्रतिवद्धता कति पूरा गरे ? देश र जनता तथा स्थानिय तहमा उनीहरुले कस्तो भूमिका खेले भन्ने कुराले यो समयमा अवश्व पनि स्थान पाउनै पर्छ । हैन भने बाँचुन्जेल सँधै मलाई अवसर दिनोस् म यो क्षेत्रको विकास गर्दछु, आर्थिक क्रान्ति गर्दछु भन्ने तर सरकार र शक्तिमा हुँदा समेत केही नगर्ने परिपाटीको बीचमा रहेको नेपालको राजनीति पुनः त्यसैको निरन्तरतामा बग्ने त हैन, शंकाको विषय वनेको छ । नेपालमा क्रियाशिल रहेको नेपाली काँग्रेस होस् वा एमाले, माओवादी होस् वा मधेस केन्द्रीत राजनैतिक दल हिजोको जुनसुकै चुनावमा गरेको प्रतिवद्धता कति पूरा गरे ? राष्ट्रिय राजनीति होस वा स्थानिय तहमा त्यसको कुनै लेखाजोखा नगरी केवल पार्टीको ह्वीप भन्दै गरिएको हाम्रो महत्वपूर्ण मतदानले हामीलाई सँधै सामन्तवादको निरन्तरता शिवाय केही दिन सक्दैन ।

कुनै पनि राजनैतिक पार्टी र त्यसमा आवद्ध नेताको कार्यक्षमता, जनताप्रति उत्तरदायित्व र खेल्ने भूमिका निश्चित वर्षपछि स्वतः थाहा हुने गर्दछ । योग्यता र दक्षताको कसी नाप्नका लागि जीवनभर नै परिक्षा लिइरहनु पर्देन । यो सर्वमान्य सिद्धान्तलाई समेत अवलम्वन गर्न नसक्ने हामी जनताले पटकपटक पार्टीका नाममा निरन्तरता दिनु भनेको न्यायसम्मत हुँदैन । किनकी कुनै पनि व्यक्तिको मापन निश्चित समयपछि स्वतः गर्न सकिन्छ । नेपालका राजनैतिक इतिहासलाई नियाल्ने हो भने व्यक्तिको तुलना कतै पनि गरेको पाईदैन । अन्धविश्वासमा नै नेपालको राजनती दौडिरहेको छ । निश्चित समयमा आफनो विचार र मतदान गर्न नसक्ने अनि भोलिका दिनमा नेता र राजनीतिलाई गाली गर्नेहरुको लामो पंक्ति देश भित्र मात्र होइन्, देश बाहिर पनि बेग्रल्ती पाइन्छ । देश र समाज निर्माण गर्ने जिम्मा राजनैतिक दल र नेताहरुको मात्र होइन, दुरदराज हरेक ठाउँको जनताको पनि समान दायित्व हो भन्ने समान्य हेक्का समेत नराख्दा नै आज हामी यति धेरै वैचारिक तथा आर्थिक दरिद्रतामा फसिरहेका छौँ ।

साझा पार्टीका संयोजक रविन्द्र मिश्रले भनेझै हामी रेष्टुरेन्टमा जान्छौ, मेनु हेर्छौँ अनु अन्त्यमा मःमः अथवा चाउमिन अर्डर गर्दछौ भनेझै नयाँपनमा विश्वास नगर्ने । अनि व्यक्ति भन्दा पार्टी ठूलो रहेछ भन्ने त्यही पार्टीमा मतदान गर्ने परिपाटी नै हामीमा भएको सवैभन्दा ठूलो कमजोरी हो । नेताहरुले हिजोको चुनावमा दिएको आश्वासन कति पूरा गरे, त्यसको समान्य ख्याल पनि नराखी फेरि त्यही नेताको पछाडि लाग्नु भनेको परनिर्भरता शिवाय केही हुन सक्दैन । हरेक राजनैतिक दल र तिनका नेताको हिजोको भूमिका कस्तो रह्यो भन्ने कुराको समिक्षा अव गर्न चुक्नु हुँदैन । फेरि पनि नयाँ बोतलमा पुरानो रक्सी भरेर आइरहेको सन्दर्भमा त्यसलाई चिर्न र यथार्थसम्मत जानु नै अहिलेको आवश्यकता हो । विशेष गरेर यसको मुल्यांकन युवापुस्ताले गर्दै त्यसको नेतृत्व पनि गर्न सक्नुपर्दछ ।

राजनैतिक पार्टीहरुको मुख्य ध्येय भनेको नै जनतामा भ्रम सिर्जना गरेर सरकार र सत्तामा पुग्नु हो । नेताहरुको गुण भनेको दुईचार जना आसेपासेलाई आर्थिक लाभ दिएर गुलामी गर्न लगाएर जनतामा आफनो जयजकार गर्न लगाउनु हो । चुनावको सम्मुखमा जनतालाई ललिपप देखाएर वैधानिक अधिनायकवाद लाद्न उन्मुख हुनु हो । जसलाई हामी नेपाली जनताले मलजल गरिरहेका छौँ । क्षणिक स्वार्थमा हामी विकाउ बनेर जयजयकार गरिरहेका छौँ । यो नै हाम्रो सवैभन्दा घातक पक्ष हो । त्यो भन्दामाथि सोचेर गर्न सक्नका लागि व्यक्तिमा चेतना, क्षमता र देशप्रतिको उत्तरदायित्व हुनुपर्दछ । जुन अहिलेको नेताहरुमा छैन् । सँधै सत्ता र सरकारका लागि जस्तो सुकै हत्कण्डा अपनाउन पछि नपर्ने नेताको जयजकारले अन्तत देश र जनता सधै अधोगति तर्फ मात्र उन्मुख रहन्छ । खोक्रो आश्वासनको पछाडि लाग्ने, तर यथार्थमा अडिन नसक्ने हाम्रो चिन्तन नै सामन्ती छ । विपक्षी पार्टीको नेताका राम्रो काम पनि राम्रो भन्न नसक्ने तर आफ्नो पार्टीको नेताको नराम्रो काम पनि राम्रो भन्ने र जनतामा भ्रम छर्ने भनेको आफनै खुट्टामा  वन्चरो हान्नु शिवाय केही हुँदैन । समाज र व्यक्ति केवल आफू मात्र होइन भन्ने चिन्तन गर्न नसक्नेहरु समाजमा समाजसेवीको नाममा बेग्रल्ती पाइन्छन् । जुन समाज र देशका भाइरस हुन् । जसले आफू व्यक्ति बन्ने ध्येयमा आफनो सन्ततिको भविश्य अन्धकार वनाइरहेका छन् ।

चुनावको सम्मुखमा देशमा महंगीले ह्वात्तै छोपेको छ । यसको मुख्य कारण के हो ? भष्ट्राचार र कालोवजारीको सिर्जना कसले गरिदियो ? यसको समान्य भेउ समेत हामी पाउन सक्दैनौँ? चुनाव जित्नका लागि जे पनि गर्न सक्ने नेताहरुको यो अभिष्ट जहिलेसम्म हामी चिर्न सक्दैनौ, तवसम्म नेताको चाकरी र गुलामी हाम्रो पहिलो प्राथमिकता हुनेछ । प्रतिनिधि सभाको यो निर्वाचनको सम्मुखमा हामीले यथार्थ धरातलमा टेकेर विवेक पुर्याउनु पर्ने अहिलेको चरम आवश्यकता हो । जुन जोगी आए पनि कानै चिरेको भन्न सक्ने हामी जनता जोगी विहीनताको समाज निर्माणमा ध्यान दिने कहिले ? जनताको यो अग्निपरिक्षा शुरु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित