शनिबार, २ मंसिर २०७४
DainikNepal.com
शनिबार, २ मंसिर २०७४

बाम गठबन्धनलाई भोट माग्दै काँग्रेस जिल्ला सचिव

दैनिक नेपाल २०७४ कार्तिक २६ गते १९:४१

– जीवनाथ दाहाल

उदयपुर, २६ कात्तिक । नेपाली काँग्रेस उदयपुरका जिल्ला सचिव रामकुमार राईले बाम गठबन्धनलाई भोट दिन आग्रह गरेका छन् ।

जिल्लामा प्रभावशाली काँग्रेस नेता तथा कटारी गाविसमा काँग्रेसबाटै गाविस अध्यक्ष जितेका राईले अहिलेको निर्वाचनमा उदयपुरको क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उमेद्वार बामगठबन्धनका माओवादी केन्द्र शुरेस कुमार राई हिमाल र प्रदेश सभा उदयपुरको ख का एमाले उमेद्वार कला घलेलाई भोट दिन सबैलाई आग्रह गरेका छन् ।

बाम गठबन्धनको संयुक्त रुपमा हुने सभामा काँग्रेस त्याग गरेको घोषणा गर्ने बताउँदै उनले आफुलाई काँग्रेसका केहि सिमित व्यक्तिले घेराबन्दीमा  पारेको बताए । काँग्रेसमा ३ दशक राजनीति गरिसकेका लोकप्रिय जनप्रतिनिधि समेत रहेका राईले काँग्रेसका जिल्ला सभापति विदुर बस्नेत तथा केन्द्रिय सभापति शेरबहादुर देउवाको कार्वाहीले आफुलाई केहि नहुने बताए ।

आफुले बनाएका सबै काँग्रेसहरुलाई गठबन्धनमा भोट दिन आग्रह गर्दै क्षेत्र नम्बर २ का ५ जना काँग्रेसले पार्टीमा फुलबुट्टा भर्ने गरेकाले गठबन्धनलाई भोट दिन आग्रह गरे । ‘सम्पूर्ण पार्टीलाई ५ जनाले कब्जा गरेपछि घेराबन्दीमा परें त्यसैले अव गठबन्धनलाई भोट दिन आग्रह गर्छु ।’ क्षेत्र नम्बर २ का काँग्रेसका हेरम्बबहादुर थापा, ज्ञानेन्द्रमानसिंह राउत, संञ्जिव थापा, नारायण कार्की लगायतका नेताहरुले केन्द्रमा दबाव दिएका कारण आफुले प्रतिनिधि तथा प्रदेश सभामा टिकट नदिएको समेत बताए ।

गएको स्थानिय तहको निर्वाचनमा समेत कटारी नगरपालिकामा मेयरका रुपमा चर्चामा आएका राईले अन्तत टिकट पाएका थिएनन् । कटारीमा आदिवासी जनजाति सबै समुदायको साथ पाउने पक्का भएका राईले टिकट नपाएपछि ज्ञानेन्द्रमान सिंह राउतले टिकट पाएपनि मेयरमा पराजित भएका थिए । मेयरमा एमालेका ज्ञानेन्द्र श्रेष्ठले विजयी हासिल गरेपछि राईले सहयोग नगरेको आरोप केन्द्रमा लगाउँदै टिकट नदिएको राईको भनाई छ ।

स्थानिय तहको निर्वाचन जिताउन राईले काँग्रेसलाई भरपुर सहयोग गरेको बताए । ‘स्थानिय तहको निर्वाचनमा काँग्रेसलाई सहयोग गरेका सबैलाई सर्ब विदितै छ । ’काँग्रेसको स्थानिय तहको निर्वाचनको चुनावि कार्यक्रममा समेत राईको सकृय सहभागिता थियो । प्रदेश सभा र प्रतिनिधि सभामध्ये एउटामा टिकट दिने आश्वासन पछि स्थानिय तहको मेयरको पहिलो दावेदार राईले उमेद्वारी राउतलाई दिएका थिए ।

यस पटक प्रदेश सभा उदयपुर क्षेत्र नम्बर २ को ख मा काँग्रेसले क्षेत्रिय सभापति रामकुमार खत्री र प्रतिनिधि सभामा साँसद नारायण बहादुर कार्कीले टिकट पाएपछि राईले टिकट पाएनन् । संविधान सभाको निर्वाचनमा समेत दावेदार उमेद्वार र काँग्रेसका पुराना नेता राईले टिकट पाउने पक्कापक्की भएको हल्ला भएपनि पाउन सकेका थिएनन् । राई उदयपुरमा कार्यकर्ताहरुमाझ मात्रै नभई अन्य पार्टीमा पनि लोकप्रिय नेताका रुपमा चिनिन्छ ।

प्रतिक्रिया
सम्बन्धित