सोमबार, ४ मंसिर २०७४
DainikNepal.com
सोमबार, ४ मंसिर २०७४

एमाले नेता रवीन्द्र अधिकारीले गोठमा गाई दुहुँदै भोट मागेपछि…

दैनिक नेपाल २०७४ कार्तिक २६ गते १९:०२

पोखरा, २६ कात्तिक । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मत आफनो पक्षमा पार्न उम्मेदवारले जनतालाई काममा सहयोग गरिरहेका छन् । उम्मेदवारले खेतमा धान काटनेदेखि हलो जोत्नेसम्म काम गरिरहेका छन् । उम्मेदवारहरुले कतै घाँस, कतै धान काटेका, त कतै हलो जोतेका र भारी बोेकेका समाचार आइरहेका छन् ।

यस्तै नेकपा एमालेका चर्चित युवा नेता रवीन्द्र अधिकारीले भोट माग्दै जनताको मत आफनो पक्षमा पार्न गाई दुहेका छन् । उनले आइतबार घरदैलो गदै जनतासँग मत माग्ने क्रममा गाई दुहेर सहयोग गदै मतदातालाई आफ्नो पक्षमा पार्ने प्रयास गरेका हुन् । अधिकारीले मज्जासँग दुध दुहेपछि स्थानीय बासिन्दा भने रमाइलो मानिरहेका थिए । उनले अझै दुध दुहनु जानेकोमा प्रशंसा पनि गरे ।

विकास र समृद्धिलाई मुख्य नारा बनाउँदै आएका अधिकारी कास्की क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन् । उनले चुनावी अभियान अन्तरगत घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । उनीसँगै प्रदेश नम्वर २ का प्रदेश सभाका उम्मेदवार राजकाजी गुरुङ (करण) पनि भोग माग्न ब्यस्त छन् ।

कास्कीमा बाम गठबन्धनका तर्फबाट अधिकारी प्रतिनिधि सभा सदस्यका लागी क्षेत्र नम्बर २ बाट साझा उम्मेदवार हुन । उनी पहिलो र दोश्रो संविधान सभा निवाचनमा विजयी भएका थिए ।

‘राजनीतिमा फोहोर थुप्रियो’

यसैबीच, नेता अधिकारीले राजनीतिमा फोहोर थुप्रिएको भन्दै त्यसलाई सफा गरेर समृद्ध मुलुक सपना साकार पार्ने अठोट गरेका छन् । पोखरामा आयोजित सभामा अधिकारीले विचारको प्रतिस्पर्धामा उत्रिन आह्वान गर्दै शेरबहादुर देउवा, रामचन्द्र पौडेल दर्जनपटक उम्मेदवार हुँदा केही नबोल्नेले आफूलाई ३ पटक चुनाव जिताउनु हुँदैन भन्नु तर्कविहीन भएको दाबी गरे ।

अधिकारीले ‘जतिबेला कांग्रेसले आफ्ना नेतालाई अब तपाईंलाई पुग्यो, अरुलाई पालो दिनुस् भन्न सक्छन् त्यतिबेला आफू पनि चुनाव नलड्ने’ बताए । उनले भने, ‘राजनीतिमा थुप्रिएको फोहर सफा गरेर समृद्ध मुलुकको सपना साकार पार्न वाम गठबन्धनको साझा उम्मेदवार बनेको हुँ ।’

यसैगरी, कास्की २ को प्रदेश क्षेत्र नम्बर २ का उम्मेद्वार राजकाजी गुरुङ ‘करण’ले किसानमैत्री सरकार निर्माणका लागि बाम गठबन्धनलाई जिताउनुपर्ने बताएका छन् । उनले वन, जंगल, जल, जमिन र जडिबुटी सदुपयोगको नेतृत्व आफू र आफ्नो पार्टीले लिने उद्घोष गरे । उनले ग्रामीण विकास आफ्नो प्रमुख प्राथमिकता भएको जनाए ।

समानुपातिक उम्मेद्वार सोमनाथ अधिकारी ‘प्यासी’ले कास्कीलाई कम्युनिस्टको लालकिल्लाको संज्ञा दिँदै यसपालिको चुनावपछि यहाँ बाम गठबन्धनको झण्डा गाडिने उद्घोष गरे ।

प्रतिक्रिया
सम्बन्धित