शनिबार, २ मंसिर २०७४
DainikNepal.com
शनिबार, २ मंसिर २०७४

डा. महतलाई संकेत गर्दै ईश्वर पोखरेलले भने – ‘चुनाव जिते-नजिते पनि म काठमाडौँ ५ छाडेर जान्न’

दैनिक नेपाल २०७४ कार्तिक २६ गते १८:४१

काठमाडौँ, २६ कात्तिक । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले काठमाडौँ- ५ का बासिन्दासँग आफ्नो गहिरो सम्बन्ध रहेको बताएका छन् ।

काठमाडौँको टोखा नगरपालिकास्थित सत्य टोल टोल कमिटीले गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले चुनाव जित्दा र नजित्दा पनि आफू यसै क्षेत्रका बासिन्दाको सुख, दुःखमा सँधै सँगै रहेको बताए ।

‘मैले कहिले चुनाव जितें, कहिले जितिन होला । तर, चुनाव जित्दा र नजित्दा पनि तपाईंहरुसँगै बसेँ । म यो क्षेत्र छाडेर कहीं जान्न । म यसै क्षेत्रको बासिन्दा हुँ ‘, नुवाकोटबाट चुनाव लड्न काठमाडौँ आइपुगेका प्रतिस्पर्धी डा. प्रकाशशरण महतलाई संकेत गर्दै पोखरेलले भने – ‘म कतै टिकट नपाएर यहाँ पोखिन आएको हैन् ।’

पूर्वउपप्रधानमन्त्री समेत रहेका पोखरेलले पार्टीका नेता कार्यकर्ताहरुले आफूलाई अन्य ठाउँबाट पनि लड्न आग्रह गरे पनि आफूले काठमाडौँ- ५ नछाडेको बताए । जनताको व्यापक समर्थन, ऐक्यबद्धता र समर्थन देखिएकाले आफ्नो जित सुनिश्चित रहेको उनले बताए । पोखरेलले वाम गठबन्धनले दुई तिहाई जित्ने विश्वास पनि व्यक्त गरे ।

काठमाडौँ ५ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका एमाले महासचिव पोखरेललाई जितका लागि शुभकामना दिँदै कार्यक्रममा टोलबासीबाट स्वागत तथा सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा प्रदेश सभाका उम्मेदवार दीपक निरौलाले स्वर्गीय मनमोहन अधिकारीको सचिवालयमा रहँदादेखि नै आफूले काठमाडौँ क्षेत्र नम्बर ५ को विकास र समृद्धिका लागि योगदान पुर्याउँदै आएकाले अब पनि आफू जनताको सेवकका रुपमा काम गरिरहने बताए ।

प्रतिक्रिया
सम्बन्धित