सोमबार, ४ मंसिर २०७४
DainikNepal.com
सोमबार, ४ मंसिर २०७४

बौद्ध स्तुपामा चिनियाँ लामाको दादागिरी, चिनियाँ गुरुलाई बाउन्सर लगाएर गेटबाटै फर्काइयो

चिनियाँसहित विश्वभरबाट आएका बुद्धिष्टहरुले पूजा गर्न पाएनन्

दैनिक नेपाल २०७४ कार्तिक २५ गते ११:४७

काठमाडौं, २५ कात्तिक । युनेस्को विश्व सम्पदा सूचीमा रहेको काठमाडौंको बौद्धनाथ स्तुपामा एक जना ‘चिनियाँ लामा’ले जबर्जस्त पूजा रोक्न लगाएका छन् । बौद्ध घ्याङ गुठीका अध्यक्ष समेत रहेका चिनियाँ लामा अर्थात भुपतिबज्र लामाले स्तुपामा नियमित पूजा गर्न नदिएर दादागिरी देखाएका हुन् । भुपतिलाई गुठी संस्थानले एक वर्षअघि बौद्ध घ्याङ गुठीको पुजारीको रुपमा नियुक्त गरेको थियो ।

तर, उनले राज्यले उक्त क्षेत्र संरक्षणका लागि खटाएको बौद्धनाथ क्षेत्र विकास समितिलाई नै चुनौति दिँदै आफ्ना आयातित बाउन्सर र स्थानीय दादा परिचालन गरेर पूजामा अवरोध गरेका छन् । यति मात्रै होइन् उनले दोस्रो वरियतामा रहेका चिनियाँ गुरुहरुलाई नाम राखेका रिम्पोछेलाई समेत स्तुपाभित्र पस्न नदिएर गेटबाटै फर्काइदिएका छन् ।

बौद्धनाथ क्षेत्र विकास समितिले भगवान गौतम बुद्धले संसारमा पाइला टेकेको दिनको सम्झना (बौद्ध धर्मावलम्वीको विशेष दिन)मा शुक्रवार स्तुपामा प्राण प्रतिष्ठा पूजा कार्यक्रम राखेको थियो । नियमित हुने यो पूजामा सहभागी हुन चीन, भारत, ताइवान लगायत विश्वभरबाट बुद्ध धर्मावलम्वी नेपाल आएका थिए । तर, चिनियाँ गुरुको नामले परिचित भुपति बज्र लामाले विहानै स्तुपाको प्रमुख गेटमा विदेशी र स्थानीय बाउन्सर राखेर सबैलाई रोकेर फर्काइदिए । यसरी उनले विकास समितिको निर्णयलाई लत्याउँदै राज्यलाई नै चुनौति दिएका हुन् । भने अहिले पनि बरिष्ठ प्रहरी उपरीक्षक एसएसपीका कमाण्डमा प्रहरी परिचालन गरिएको छ ।

भुपति लामा किन गर्दैछन् यस्तो हर्कत ?

पुजाघरको गेटमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी ।

स्थानीयका अनुसार भुपतिले शक्ति लडाइका लागि दादागिरी देखाइरहेका छन् । बौद्ध ६ नम्बर वडाका वडाध्यक्ष दीपेन्द्र लामाले स्तुपामा शक्तिको लडाइ रहेको स्वीकार गरे । उनले भने– ‘चिनियाँ लामा (भुपति बज्र लामा) र बौद्धनाथ क्षेत्रविकास समिति बीच शक्तिको लडाइँले विश्व समुदायमा नराम्रो सन्देश गयो । हामीले मिलाउने प्रयास गरिरहेका छौं, तर भुपतिले मानेनन् ।’ स्रोतका अनुसार वडाध्यक्ष लामाले भुपतिसँग हात जोडेर अर्काको अधिकारमा हस्तक्षेप नगर्न बारम्बार आग्रह गरेका छन् । तर भुपतिले टेरेका छैनन् । त्यतिमात्रै होइन् बौद्ध वृतका डीएसपीले पनि स्तुपा विकास क्षेत्रको निर्णयमा हस्तक्षेप नगर्न आग्रह गर्दै आएका छन् । तर, भुपति कसैले भनेको सुन्दैनन् ।
यस विषयमा बुझ्दा बौद्धनाथ क्षेत्र स्तुपा विकास समितिका अध्यक्ष रामकुमार लामाले चिनियाँ लामा ‘भुपति’ले स्तुपामा दादागिरी गरिरहेको बताए । ‘उहाँ आफूलाई जीवित अवतारको रुपमा ठान्नुहुन्छ । लिखित पत्रसहित कित्ता नम्बर समेत कोड गरेर विश्व सम्पदा सूचीमा परेको सम्पत्तिलाई मेरो निजी सम्पत्ति हो भन्नुहुन्छ,’ अध्यक्ष लामाले भने– ‘विश्व सम्पदा सूचीमा सूचीकृत स्तुपा व्यक्तिगत सम्पत्ति कसरी हुनसक्छ ? हामी छक्क परेका छौं । यो सबैको साझा सम्पत्ति हो ।’

उनका अनुसार भुपतिले पूजारी नियुक्त भएदेखि नै स्तुपाको पुजामा अवरोध गरिरहेका छन् । त्यति मात्रै होइन् अन्य पुजारी लामालाई कुट्ने पनि गर्छन् । ‘बौद्धनाथ क्षेत्रविकास समितिको बोर्ड बैठकले शुक्रबारका लागि पूजा गर्ने निर्णय गर्दै कार्यतालिका बनायो । तर, भुपतिले बाउन्सरहरु गेटमा राखेर पुजा गर्नै दिएनन् । ठूला चिनियाँ गुरुलाई समेत गेटबाटै फर्काए । मलाई समेत रोक्यो । यसले बाहिर नराम्रो म्यासेज गएको छ । बौद्ध धर्मको इज्जत, प्रतिष्ठामा आँच आउने काम गरे, यो राज्यमाथि नै चुनौति दिने प्रयास हो,’ लामाले दुखेसो पोख्दै भने । यद्यपी पछि प्रहरीले भुपतिका बाउन्सरलाई गेटबाट लखेटेको थियो । र, हिजो दिनभरी बौद्ध स्तुपामा एसएसपीको कमाण्डमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । स्रोतका अनुसार भुपति परिवारमा रोलक्रम मिचेर स्तुपाको पुजारी बनेका हुन् । उनका बाबु गणेश बज्र चिनिया लामा पछि जेठा सन्तानका रुपमा ज्योति बज्र लामा स्तुपाको पुजारी हुनुपर्नेमा पैसा र शक्तिको आडमा भुपति पुजारी बने । आफू सिनियर हुँदाहुँदै भुपति पुजारी बनेपछि ज्योतिबज्रले लगत्तै सर्वाेच्च अदालतमा मुद्दा रिट हालेका थिए । उक्त मुद्दा अहिले विचाराधिन छ ।

त्यस्तै, दोहारो नागरिकता (चिनियाँ र नेपाली) र रातो पासपोर्ट प्रकरणमा भुपति मुछिएका छन् । स्थानीय बौद्ध पुजारीका अनुसार भुपतिलाई राम्रोसँग पुजा गर्न पनि आउँदैन् । बौद्धनाथ क्षेत्र विकास समितिले भूकम्पले भत्किएको स्तुपालाई स्थानीय, सरकारी र गैरसरकारी सहयोगमा पुनर्निर्माण गर्यो । तर, भुपतिले आफू एक्लैले पुनर्निर्माण गरेको भनेर गुठी संस्थानमा आर्थिक प्रतिवेदन बुझाएको स्रोतले बतायो । ‘विदेशीले पुनर्निर्माणका लागि दिएको करोडौ पैसा पचाउन आफूले पुनर्निर्माण गरेको भनेर प्रतिवेदन बुझाए । यसमा भुपति नराम्रोसँग फस्न सक्छन्,’ स्रोतले भन्यो ।

चिनियाँ राजदूतलाई समेत रोकियो

यस्तै, शुक्रबारको पूजामा चिनियाँ राजदूत यो होङ पनि आउन चाँहेकी थिइन् । तर, भुपतिको दादागिरीका कारण बौद्धनाथ क्षेत्रविकास समितिले राजदूतलाई आमन्त्रण गरेन् । ‘आजको पूजा कार्यक्रमबारे मलाई चिनियाँ राजदूतावासबाट बारम्बार फोन आएको थियो,’ अध्यक्ष लामाले भने– ‘तर, यस्तो परिस्थितीमा उहाँलाई बोलाउँदा म्यासेज नराम्रो हुने भएकाले आमन्त्रण गरेनौं ।’

पर्यटन र गृहमन्त्रालयलाई पत्र काटियो

बौद्धनाथ क्षेत्रविकास समितिका अध्यक्ष राजकुमार लामा

यसैबीच बौद्धनाथ क्षेत्रविकास समितिले भुपतिको दादागिरीविरुद्ध पर्यटन र गृह मन्त्रालयलाई पत्र काटेर जानकारी गराएको छ । स्रोतका अनुसार आइतबार दुबै मन्त्रालयका प्रतिनिधिसहित समितिको बैठक बस्दैछ । उक्त बैठकले अब कसरी अघि बढ्ने भन्ने निर्णय लिनेछ ।
यसबारे बौद्ध घ्याङ गुठीका प्रमुख भुपती बज्र लामासँग बुझ्न खोज्दा उनका सहयोगी विश्व लामाले बिल्कुलै झुठ भएको बताए । ‘हाम्रो कारणले पुजा रोकेको हैन, यो त प्रशासनले नै रोकेको हो । हाम्रो घ्याङगुठीको समेत पुजा रोकिएको छ,’ उनले भने । बौद्धमै आएर स्थानीय जनतासँग बुझ्दा नै थाह हुने उनले बताए ।

को हुन् भुपतीबज्र लामा ?

बौद्ध धर्म सम्बन्धी सामान्य ज्ञान पनि नभएका भुपती बज्र लामा (चिनिया लामा) गणेश बज्र लामाका छोरा हुन् । उनी पैसाकै आडमा रिम्पोछेको पगरी समेत गुथेर आफुलाई हिज होलिनेस भन्ने गर्दछन् । गणेश बज्रका धेरै जना श्रीमतीहरु थिए । गणेशका श्रीमती नै कति जना छन्, छोरा छोरीहरु पनि कति छन् भन्ने कुराको गणना नै हुँदैनथ्यो । उनले एउटी श्रीमती हरि शम्शेरकी श्रीमती तारानानीलाई पनि ल्याएका थिए । त्यसपछि उनलाई आफ्नै नातेदारलाई गोली हानेर मारेको ज्यान मुद्दा लागेको थियो । गणेशलाई तत्कालीन युवराज धिरेन्द्र र पूर्वराजा ज्ञानेन्द्रसँग मिलेर काठमाडौंमा थुप्रै मुर्ति चोरेर विदेशमा बेच्ने गरेको आरोप स्थानीयले लगाउने गर्दर्थे । आफुलाई बौद्धको राजा भनेर चिनाउने गरेका चिनिया लामाले ज्यान केश लागेका मानिसहरु आफ्नो सेल्टरमा लगेर लुकाउने गर्दर्थे ।

त्यसो त २०७२ साल वैशाख १२, १३ र २९ गते आएको बिनाशकारी भूकम्पको निहुँमा बिदेशी धर्मगुरुहरुसँग पनि उनले करोडौं रुपैया उठाएर आफै खाएको आरोप स्थानीयहरुको छ । भूकम्पका नाममा उनले धेरै रकम चीन र ताइवानबाट ल्याएको र अपारदर्शी ढंगले खाएको आरोप उनी माथि स्थानीयहरुले लगाएका छन् ।

एक वर्ष अघि सिसी क्यामेरा बन्द गराएर सति देबीको मन्दिरको गजुर गणेश बज्रले नै चोरेको आरोप स्थानीयले लगाएका छन् । किनकी चावी केबल उनैसँग मात्रै थियो । एक वर्ष अघि चोरिएको करोडौं मुल्यको गजुर हालसम्म पनि पाइएको छैन । नत प्रशासनले पनि तदारुकताका साथ खोजी नै गरेको छ । गणेश बज्र राजपरिषद्को सदस्य भएकाले त्यो समयमा निश्चित म्याद राखेर दिएको रातो राहादानी समेत परराष्ट्र मन्त्रालयमा बुझाएका छैनन् ।

उनका छोरा तथा हालका घ्याङगुठीका प्रमुख भुपतीले सर्वसाधारण जनतालाई धम्काउने गर्दछन् ।

पारदर्शी छैन घ्याङगुठीको आम्दानी

बौद्ध घ्याङगुठीमा विदेशीहरुले प्रशस्त दान दिने हुँदा दैनिक २०औ लाख आम्दानी हुने स्थानीयहरुको आंकलन छ । तर कति दान दातव्य र भेटी संकलन गरिएको छ कुनै लेखा जोखा नै छैन । पशुपतिनाथको मन्दिरमा गणतन्त्र अघिको अवस्थामा रहेको कारण पारदर्शी बनाउनुपर्ने बौद्धधर्म गुरुहरुको मत रहेको छ ।

स्तुपा पुन निर्माण पश्चात उद्घाटनमा पनि सहयोग गरेनन् भूपतिले

भूकम्पले क्षत बिक्षत भएको बौद्धनाथ पुननिर्माणका लागि चिनिया र भारतको सिमलामा रहेका बौद्ध गुरुहरुको ठूलो सहयोग रह्यो । त्यसैकारण झण्डै तीस किलो सुन गजुरमै राखेर पुनः निर्माण गरियो । तर उद्घाटनको क्रममा भने उनले प्रधानमन्त्रीलाई समेत आउन नदिन असफल पार्ने प्रयास गरेका थिए । उनले आफुलाई प्रधानमन्त्री भन्दा उच्च सम्मानका साथ राख्नुपर्ने शर्त राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित