शनिबार, २ मंसिर २०७४
DainikNepal.com
शनिबार, २ मंसिर २०७४

धनुषा ३: विमलेन्द्र निधि र राजेन्द्र महतोबीच रोमाञ्चक प्रतिस्पर्धा, कस्ले बाजी मार्ला ?

दैनिक नेपाल २०७४ कार्तिक २४ गते ९:३३

काठमाडौं, २४ कात्तिक। धनुषा क्षेत्र नम्बर ३ का ‘हेभीवेट’ उम्मेदवारद्वय विमलेन्द्र निधि र राजेन्द्र महतोको चर्चा चुलिँदै गएको छ ।

मधेश आन्दोलनका नाइके मानिने महतो र कांग्रेका प्रभावशाली नेता निधिबीच एउटै क्षेत्रमा चुनावी भिडन्त हुने भएपछि कस्ले बाजी मार्छ भन्ने विषय सबैको चासो बनेको छ ।

दुवै उम्मेदवारले एकले अर्कालाई पराजित गरिछाड्ने दाबी गरिरहेका छन् । पछिल्लो घटनाक्रमले निधि पछाडि पर्ने हुन् कि भन्ने आशंका पैदा भएको छ । महतोले आफूलाई बाम गठबन्धनले सघाउने बताइरहेका छन् । त्यस विषयमा उनले वाम गठबन्धनका उम्मेदवार रामसिंह यादवसँग छलफल पनि गरिरहेको स्रोतले बतायो । यादवले एमाले र माओवादीको भोटका कारण आफ्नो जित पक्का भएको भन्दै निधिलाई भारी मतले हराउन आफूलाई सहयोग गर्न महतोसँग आग्रह गरिरहेका छन् । यादव र महतो मिले निधिको हार पक्का छ । तर, यादवले महतोलाई सहयोग गर्ने सम्भावना न्यून छ ।

निधि र महतोबीचकै टकरावकै कारण राजपा र काँग्रेसबीचको तालमेलसमेत भाँडिएको थियो । त्यही कारण पनि एकले अर्कालाई दुष्मनका रुपमा लिइरहेका छन् ।

अर्कोतिर कांग्रेसकै कतिपय नेताले निधिलाई हराउने षडयन्त्र गरेको आशंका गरिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाका प्रिय पात्र मानिएका निधिले चुनाव जितेको खण्डमा प्रधानमन्त्री पदकै दाबीसम्म गर्ने आशंकामा कांग्रेसका केही नेताहरू निधिलाई हराउन चाहेको आशंका गरिएको छ ।

तर, निधि आफैँ पनि धनुषा क्षेत्र नम्बर ३ मा लोकप्रिय भएकाले कसैले हराउन नसक्ने दाबी कतिपयले गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित