सोमबार, ४ मंसिर २०७४
DainikNepal.com
सोमबार, ४ मंसिर २०७४

राष्ट्रिय कराते प्रतियोगितामा विभागीय टोलीको वर्चस्व

दैनिक नेपाल २०७४ कार्तिक २४ गते ६:०७

काठमाडौं, २४ कात्तिक । राखेप च्याम्पियनसिपअन्तर्गत ५० औं राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन बिहीबार विभागीय टोलीको वर्चस्व रहँदा त्रिभूवन आर्मी क्लब र नेपाल प्रहरीले समान ४–४ स्वर्ण जितेका छन् । पहिलो दिन ९ स्वर्णका लागि प्रतिस्पर्धा हुँदा नेपाल एपीएफ क्लबले बाँकी एक स्वर्ण चित्त बुझायो ।

सम्झना ल्याबोरेटरी क्लिनिकको मुख्य प्रायोजनमा नेपाल कराते महासंघद्वारा आयोजित प्रतियोगिताको पुरुष एकल कातामा एपीएफबाट भर्खरै आर्मीमा आबद्ध भएका पर्शुराम बाँस्तोलाले स्वर्ण जिते । पर्शुराम पाँचौंदेखि सातौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेता हुन् । एपीएफका गुबीराम घले दोश्रो तथा मध्यमाञ्चलका यनोज महर्जन र प्रहरीका मन्डकोजी श्रेष्ठ तेश्रो भए । सोही स्पर्धाको महिलामा प्रहरीकी निर्मला तामाङ पहिलो भइन् । पश्चिमाञ्चलकी विमला नेपाली दोश्रो तथा मध्यपश्चिमाञ्चलकी एलिना थापा मगर र मध्यमाञ्चलकी ज्योति गिरी तेश्रो भए ।

पुरुष टिम कातामा आर्मी पहिलो, सुदूरपश्चिमाञ्चल दोश्रो तथा एपीएफ र मध्यमाञ्चल तेश्रो बने । उक्त स्पर्धाको महिलामा प्रहरीले स्वर्ण र मध्यमाञ्चलले रजत जिते । एपीएफ र सुदूरपश्चिमाञ्चलले कांस्यमा चित्त बुझाए ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुष ४५ केजीमा आर्मीका आकाश पाल पहिलो भए । फाइनलमा उनले पश्चिमाञ्चलका बलराम अधिकारीलाई पराजित गरे । सुदूरपश्चिमाञ्चलका सागर विक र मध्यपश्चिमाञ्चलका सुरज नेपाली संयुक्त रुपमा तेश्रो भए । ५० केजीमा आर्मीकै मणिकुमार सुनुवारले फाइनलमा प्रहरीका सोनाम लामालाई हराउदै शीर्ष स्थान कब्जा गरे । एपीएफका लक्ष्मण तामाङ र पूर्वाञ्चलका विवेक थापा तेश्रो भए ।

महिला ५० केजीमा एपीएफकी अनु अधिकारी च्याम्पियन बनिन् । फाइनलमा अनुले पश्चिमाञ्चलकी उर्मिला दर्लामीको चुनौती पन्छाइन् । पूर्वाञ्चलकी प्रीति बस्नेत र प्रहरीकी कोपिला विष्ट तेश्रो स्थानमा सीमित भए । प्रहरीकी मल्लिका थापा ५५ केजीमा पहिलो बनिन् । फाइनलमा मल्लिकाले एपीएफकी मनीषा चौधरीलाई पाखा लगाइन् । पश्चिमाञ्चलकी अन्जली विक र पूर्वाञ्चलकी विद्याकला राई तेश्रो स्थानमा रहे ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा हालै राखेपमा ५८ वर्ष सेवा पूरा गरी अनिवार्य अवकास पाएका करातेका पूर्व मुख्य प्रशिक्षक महेशकुमार श्रेष्ठ र पूर्व सहायक मुख्य प्रशिक्षक अक्बर शाहलाई सम्मान गरिएको थियो ।

प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय टोली (आर्मी, प्रहरी र एपीएफ) का १ सय ८४ खेलाडीले विभिन्न १९ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको अन्तिम दिन शुक्रबार १० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । यसै प्रतियोगिताबाट उत्कृष्ट २३ खेलाडीलाई राष्ट्रिय टिममा समावेश गराइ विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितालाई तयार गरिने छ ।

करणलाई स्वर्ण

करण चौधरी चौथो राष्ट्रिय हर्स सो प्रतियोगिताको पुरुष हर्स सो जम्पमा बिहीबार पहिलो भएका छन् । लालबहादुर कुँवर दोश्रो तथा राम दाहाल तेश्रो भए ।

नेपाल इक्वेस्ट्रियन (घोडचढी) संघद्वारा आयोजित प्रतियोगिताको पुरुष टेन्ट पेगिङमा पर्शुराम बुढा मगर पहिलो, राजेन्द्र थापा दोश्रो र खतबहादुर कार्की तेश्रो भए ।

टुंडिखेलमा भएको प्रतियोगिताको पुरुष हाइ जम्प विधामा रामचन्द्र कट्वालले स्वर्ण तथा रामहरि खड्काले रजत जिते । यो विधामा भने करणले कांस्यमा चित्त बुझाउनु प¥यो । करण बाहेक सबै पदक विजेता आर्मीका हुन् । तीनै विधामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार जिते ।

प्रतियोगिताका दौरान महिला खेलाडीले सिक्स बार जम्म विधामा प्रदर्शनी खेल पनि प्रस्तुत गरेका थिए । आर्मीका हरिकुमारी गुरुङ, यामकुमारी राणा, सारदा केएम र कविता थापाले प्रदर्शनी खेल प्रस्तुत गरेका थिए । उनीहरुलाई प्रोत्साहन स्वरुप जनही ४ हजार रुपैयाँ प्रदान गरियो ।

विजेतालाई सेना प्रमुख राजेन्द्र क्षेत्रीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा ९ पुरुष खेलाडीले प्रतिस्पर्धा गरेको इक्वेस्ट्रियन संघका महासचिव बलराम श्रेष्ठले जनाएका छन् । प्रमुख जज मेजर विक्रम थापा, जज क्याप्टेन उमेश पुरी र मोहम्मद फाजिल र सहायक जुरी सन्तोष बुढाथोकीले प्रतियोगिता सञ्चालन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित