सोमबार, ४ मंसिर २०७४
DainikNepal.com
सोमबार, ४ मंसिर २०७४

विजय गच्छदार कांग्रेसको उपसभापति! विमलेन्द्र निधि ‘आउट’

दैनिक नेपाल २०७४ कार्तिक ३ गते १९:३५

विराटनगर ३ कात्तिक । नेपाली कांग्रेसको उपसभापतिमा विजय गच्छदार नियुक्त हुने निश्चित भएको छ । यसको खुलासा स्वयम् गच्छदारले गृहनगर विराटनगर पुगेर गरेका छन् ।

सरकारका उपप्रधानमन्त्री समेत रहेका गच्छदारले उपसभापति पद पाउने सहमतिका अनुसार नेपाल लोकतान्त्रिक फोरम र नेपाली काँग्रेसबीच एकीकरण भएको खुलासा गर्दै दुबै पार्टी मधेशी, थारु र जनजातिको विषय सम्बोधन गर्ने समान विचारधारा बोकेका पार्टी भएको टिप्पणी गरे ।

विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले भने– ‘लोकतान्त्रिक फोरम र काँंग्रेसबीचको एकीकरणपछि सात वटै प्रदेशमा काँग्रेस लहर उत्पन्न भएको छ । पार्टी एकीकरणका क्रममा काँंग्रेससँग मलाई उपसभापति पद दिने समझदारी भएको थियो । अबको पार्टी उपसभापति म नै हो ।’

नेता गच्छदारले फोरम लोकतान्त्रिकका कार्यकर्तालाई पनि केन्द्रदेखि वडासम्म सम्मनजनक ढंगले पद दिने सहमति भएको समेत उल्लेख गरे ।

उनले मधेशको माग सर्वप्रथम आफूले उठाएको तथा आन्दोलनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्न संसद् अवरुद्धसमेत गरिएको स्मरण गर्दै आफू सदैव मधेशको समस्या समाधान गर्न क्रियाशील रहेको दाबी गरे ।

गच्छदारले आफूलाई उपसभापति बनाउने सहमति भएको खुलासा गरेसँगै उपसभापतिका प्रबल दाबेदार विमलेन्द्र निधि भने पछि हटेको बुझिन्छ ।

प्रतिक्रिया
सम्बन्धित