शनिबार, २ मंसिर २०७४
DainikNepal.com
शनिबार, २ मंसिर २०७४

चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनमा राष्ट्रपति शीको दमदार सम्बोधन, जुन नेपालमा पनि खाँचो छ

'भ्रष्टाचार विरोधी लडाईं जसरी पनि जित्नुपर्ने'

दैनिक नेपाल २०७४ कार्तिक १ गते १४:२५

बेइजिङ, १ कात्तिक । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय महाधिवेशन (काँग्रेस) बुधबार बिहान चिनियाँ राजधानी सहर बेइजिङमा सुरु भएको छ ।

यतिखेर देशभित्रै भ्रष्टाचारका विरुद्धमा लडाईं जारी रहेको र यो लडाईं जसरी पनि जित्नुपर्नेमा आफू लागि परेको बताउँदै राष्ट्रपति शी ले घुस लिने मात्र होइन कि घुस दिने मानिसलाई पनि कडाभन्दा कडा कारबाही गरिने चेतावनी दिए ।

बुधबार बिहान ९ बजे बेइजिङको ग्रेट हल अफ दि पिपुलमा विशेष समारोह र सुरक्षा व्यवस्थाका साथ सो महाधिवेशन सुरु भएको बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ ।

चिनियाँ समाचार समिति, सिन्ह्वाका अनुसार विशेष रुपमा सिंगारेर अति आकर्षक बनाइएको ग्रेट हल अफ दि पिपुलमा बुधबार बिहान सो महाधिवेशन सुरु गर्नुअगावै देखि नै चीनभर सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

उक्त महाधिवेशनको उद्घाटन सत्रको चइना नेशनल रेडियो, चाइना सेन्ट्रल टेलिभिजन र चाइना रेडियो इन्टरनेशनलले प्रत्यक्ष प्रशारण गरेका थिए ।

प्रत्येक पाँच वर्षमा हुने यस महाधिवेशनको चिनियाँ राष्ट्रपति सि चिनफिङले उद्घाटन गर्नुभयो । उहाँले सो उद्घाटन सत्रको नेतृत्वगर्दै आफ्नो कार्यकालको उपलब्धि पनि सुनाउनुभएको थियो । राष्ट्रपतिले उक्त महाधिवेशनको उद्घाटन लगत्तै सम्बोधन पनि गर्नुभएको थियो ।

उक्त काँग्रेसमा सहभागिताका लागि चीनका विभिन्न भागबाट जम्मा २ हजार २८७ जना प्रतिनिधि सहभागी भएका छन् । उनीहरुमध्ये अधिकांश हिजो नै बेइजिङ आइपुगेका थिए ।

चिनियाँ कम्युनिष्ट पार्टीको नेशनल काँग्रेस हरेक पाँच बर्षमा बस्नेगर्छ । नेशनल काँग्रेस चिनियाँ कम्युनिष्ट पार्टीको सर्वाेच्च निकाय हो । यसलाई सो पार्टीको एक महत्वपूर्ण एवम् शक्तिशाली अंगका रुपमा लिने गरिन्छ ।

यसले आगामी पाँच बर्षका लागि कम्युनिष्ट पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीले आगामी पाँच बर्षमा गर्नुपर्ने कामहरुको योजना पनि पारित गर्ने गर्दछ ।

चीनका वरिष्ठ नीति निर्माता रहने पार्टीको पोलिटब्यूरो स्थायी समितिमा पनि नेताहरु चयन गर्ने काम सो महाधिवेशनले गर्नेछ ।

उक्त पोलिटब्युरोमा को को रहने छन् भन्ने बारेमा पनि आउँदो साता यसै महाधिवेशनले अन्त्यतिर चयन गर्नेछ । यो चयनको कार्य महाधिवेशनको अन्त्यमा हुने बताइएको बेइजिङ्बाट प्राप्त समाचारमा जनाइएको छ ।

उक्त महाधिवेशनलाई चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले पनि सहभागी प्रतिनिधिहरुलाई सम्बोधन गर्नेछन् । सो महाधिवेशन बन्द कोठामा हुदैछ ।

यस महाधिवेशनले आगामी कार्यकालका लागि कम्युनिष्ट पार्टीका नेताहरु छान्नुका साथै थप नीतिहरु पनि निर्माण गर्नेछ । यस पार्टीका आगामी कार्यक्रम र नीतिहरुका बारेमा पनि महाधिवेशनमा व्यापक मात्रामा छलफल हुने बताइएको छ ।

भ्रष्टाचार विरोधी लडाईं जित्नुपर्छ 

यसबैची चिनियाँ राष्ट्रपति चिनफिङले चीनले यतिखेर देशभित्रै भ्रष्टाचारका विरुद्धमा लडाईं जारी रहेको र यो लडाईं जसरी पनि जित्नुपर्नेमा आफू लागि परेको बताउनुभएको छ ।

सो महाधिवेशनको उद्घाटन पछि गर्नुभएको सम्बोधनमा उहाँले सो धारणा राख्नुभएको हो । उहाँले भ्रष्टाचार अहिलेको चीनका लागि प्रमुख चुनौती भएको पनि स्पष्ट गर्नुभएको थियो ।

उहाँले भन्नुभयो– म राष्ट्रपति भएदेखि नै भ्रष्टाचारविरोधी अभियान सुरु गरेको हुँ र अहिलेसम्म लाखौँ व्यक्तिलाई भ्रष्टाचारका विरुद्धमा कारबाही गरेको जानकारी पनि सो अवसरमा दिनुभएको थियो ।

त्यस अवसरमा राष्ट्रपति चिनफिङले भन्नुभयो– हामी भ्रष्टाचारका विषयमा शुन्य सहनशीलतामा काम गर्नेछौँ, यो हाम्रो देशको लागि ठूलो चुनौती हो भनेर सबैले बुझ्नु जरुरी छ ।

उहाँले घुस लिने मात्र होइन कि घुस दिने मानिसलाई पनि कडाभन्दा कडा कारबाही गरिने आफ्नो सम्बोधनका क्रममा दोहोर्याउनुभएको थियो । यो कुरामा उहाँले पहिले देखि नै जोड दिँदै आउनुभएको थियो ।

उहाँले सो अवसरमा भ्रष्टाचार नियन्त्रणका लागि जारी अभियानअन्तर्गत १० लाखभन्दा बढी अधिकारीहरुलाई कारबाही गरेको र सो कार्य आफ्नो कार्यकालको सफलता हो भनेर पनि सुनाउनुभयो ।

सन् २०१२ मा राष्ट्रपति हुनुभएका सिले चीनमा भ्रष्टाचार विरोधी नेताका रुपमा आफूलाई शक्तिशाली बनाउदै आउनुभएको छ । यो महाधिवेशन पछि पनि उहाँ पार्टीको प्रमुखकै रुपमा रहने अपेक्षा गरिएको छ ।

राष्ट्रपति सिले आफ्नो शासनकालमा चीनले हासिल गरेका उपलब्धिबाट बुधबारको भाषण शुरु गर्नुभएको थियो । सम्बोधनका क्रममा उहाँले समाजवादसहित चीन अब नयाँ युगमा प्रवेश गरेको पनि दाबी गर्नुभयो । सिन्ह्वा

प्रतिक्रिया
सम्बन्धित