सोमबार, ४ मंसिर २०७४
DainikNepal.com
सोमबार, ४ मंसिर २०७४

मन्त्रीहरूको कार्यविभाजनबारे एमालेले मुख खोल्यो, देउवालाई अफ्ठ्यारो पर्न सक्छ

दैनिक नेपाल २०७४ कार्तिक १ गते ७:१९

काठमाडौं, १ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका मन्त्रीहरूलाई विनाविभागीय बनाएर मन्त्रीहरूको कार्यविभाजन गरेकोमा प्रमुख विपक्षी दल नेकपा (एमाले)ले आपत्ति जनाएको छ ।

काठमाडौंको एक रिसोर्टमा मंगलबार बसेको स्थायी समिति बैठकपछि जारी प्रेस विज्ञप्तिमा एमालेले प्रधानमन्त्रीले निर्वाचन आचार संहिता विपरित मन्त्रीहरूको कार्यविभाजन गरेको जनाएको हो ।

‘निर्वाचन आचारसंहिता लागू भइसकेको र समानुपातिक प्रणाली अन्तर्गत उम्मेदवारहरूको मनोनयन समेत भइसकेको अवस्थामा मन्त्रिपरिषद् विस्तार गर्नु, कार्यविभाजन र विभागीय हेरफेर गर्नु निर्वाचन आचारसंहिताको ठाडो उल्लङ्घन भएको ठहर गर्दै बैठकले प्रधानमन्त्रीका यस्ता क्रियाकलापप्रति गंभीर आपत्ति प्रकट गरेको छ’ विज्ञप्तिमा भनिएको छ ।

प्रधामन्त्री देउवाले मंगलबार माओवादी केन्द्रका मन्त्रीहरूलाई विनाविभागीय बनाइदिएपछि एमालेले सो निर्णयप्रति आक्रोश व्यक्त गरेको हो ।

एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन बनाएपछि कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले आपत्ति जनाउँदै मन्त्री फिर्ता बोलाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दवाव दिँदै आएका थिए ।

मन्त्रीहरूलाई फिर्ता बोलाउने प्रचण्डले पार्टीमा निर्णय गराए पनि फेरि अन्तिम समयमा आएर मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णयबाट पछाडि हटेका थिए ।

प्रतिक्रिया
सम्बन्धित