मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

राष्ट्रपति भण्डारीद्वारा खप्तड र शैलेश्वरीको दर्शन (फोटो फिचरसहित)

दैनिक नेपाल २०७४ असोज २६ गते १५:४५

– झलक पाली

डोटी, २६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व सम्पदा सूचिमा सूचिकृत पर्यटकीय क्षेत्र खप्तडको भ्रमणका साथै डोटीको प्रसिद्ध धार्मिक शक्तिपीठ शैलेश्वरीको विहिबार दर्शन गर्नुभएको छ ।

बुधबार मात्रै डोटी पुग्नुभएका राष्ट्रपति भण्डारीले विहिबार बिहान खप्तडको भ्रमणपश्चात डोटी सदरमुकाम सिलगढीमा अवस्थित शैलेश्वरी मन्दिरमा पूजाअर्चना गर्नुभएको हो ।

पूजाअर्चना पश्चात शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष तथा मूल पूजारी प्रेमशंकर भट्टले राष्ट्रपति भण्डारीलाई मन्तव्यमार्फत स्वागत तथा शुभ आशिष दिएका थिए ।

दिपायलमा प्रदेश राजधानीको माग गर्दै ज्ञापन पत्र

यसैबीच प्रदेश नं. ७ को राजधानी दिपायलमै रहनुपर्ने माग राख्दै दिपायल सिलगढी नगरपालिकाका मेयर मञ्जु मलासीले राष्ट्रपति भण्डारी समक्ष ज्ञापन पत्र पेश गर्नुभएको छ ।

राणाकालिन चार गौणा मध्येको डोटी गौणाको प्रशासनिक केन्द्र रहेको, साविकको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम रहेको, पर्याप्त सरकारी जग्गाजमिन र भौतिक पूर्वाधारहरु रहेको, विमानस्थल रहेको, सामरिक महत्व एवं सुरक्षाका दृष्टिले उपयुक्त रहेको, भौगोलिक मध्येभाग रहेको, उच्च अदालत, सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यालय र प्रदेश स्तरीय प्रहरी हेडक्वाटर कायम भईसकेको लगाएतका आधारमा पनि दिपायलमै राजधानी तोकिनुपर्ने ज्ञापन पत्रमा उल्लेख छ ।

खानेपानीको समुद्घाटन

यसैगरी प्रसिद्ध धार्मिक शक्तिपीठ शैलेश्वरीमा १३ किलोमिटर टाढाबाट ल्याइएको शुद्ध खानेपानीको समेत टुटी खोलेर राष्ट्रपति भण्डारीले समुद्घाटन गर्नुभएको छ ।

खानेपानी अभाव भईरहने सिलगढीमा उक्त खानेपानी योजना निर्माण सम्पन्न भएपश्चात धेरै सहजता भएको छ भने मन्दिरमा आउने दर्शनार्थीलाई पनि निकै सहजता भएको छ ।

कडा सुरक्षा व्यवस्थाका बिच राष्ट्रपति भण्डारीको भ्रमण आउनु भएता पनि उहाँलाई हेर्न सर्वसाधारणको घुईंचो लागेको थियो । हिजो राती सुदूरपश्चिम पृतना राजपुरमा बास बस्नुभएकी राष्ट्रपति भण्डारी आजै काठमाडौ फर्किने जानकारी दिईएको छ ।

प्रतिक्रिया
सम्बन्धित