मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

लोकतन्त्रलाई धरापमा पार्ने उद्देश्यले बाम गठबन्धनः एनपी साउद (अन्तर्वार्ता)

दैनिक नेपाल २०७४ असोज २६ गते १३:०३

करिब पौने शताब्दिदेखि लोकतन्त्र स्थापना र त्यसको संस्थागत विकासका लागि नेपाली काँग्रेसले गरेको संघर्षले साकार रूप लिँदै गरेको अवस्थामा फेरि नेपाली राजनीति दुई धारको अवस्थामा उभिएको छ ।

दसैं सकिँदा नसकिँदै ‘सरप्राइज’ रूपमा नेपाली कम्यूनिस्ट पार्टीहरूले गरेको बाम एकताको घोषणाले राजनीतिमा नयाँ मोड ल्याएको छ । पटक पटक प्रजातन्त्रको लडाईँ, लोकतन्त्रका लागि गरिएको संघर्ष, संविधानसभाबाट संविधान निर्माण र त्यसको कार्यान्वयमा नेपाली काँग्रेसले गर्दै आएको संघर्ष र अगुवाइलाई बाम एकताले शसंकित बनाइदिएको छ ।

यही सेरोफेरोमा हामीले हाल नेपाली राजनीतिको मुलधारमा रहेका विद्यार्थीकालदेखि नेपाली राजनीतिको नजिक रहेर २०४८ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष हुँदै नेपाली काँग्रेको पार्टी राजनीतिमा प्रभावशाली नेताका रूपमा स्थापित काँग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्री एनपी साउदसँग अन्तरंग गरेका छौं । ‘अप्रत्यासित’ रूपमा भएको बाम एकताको उद्देश्य, प्रभाव र लोकन्त्रवादी शक्तिले अपनाउनुपर्ने अबको बाटो के हुनसक्छ ? भन्नेबारे दैनिक नेपालले कुराकानी गरेको छः

दसैं सकिँदा नसकिँदै नेपाली कम्युनिस्ट पार्टीहरूको एकतासम्मको उद्देश्य राखेर जुन गठबन्धन गरे, यो अप्रत्यासित हो कि योजनावद्ध ?

फरक फरक पृष्ठभूमीमा रहेका पार्टीहरू तालमेल, एकीकरणको प्रक्रियामा संलग्न भएका छन् । यो राजनीतिक घटना एकाएक भएको देखिएको छ । बामपन्थी वृतमा यसको बारेमा बहस, छलफल बिलकुलै नभएको भने होइन । तर कहिलेकाँही बहस छलफल भए पनि यसरी एकाएक चुनावको संघारमा आएर बाम एकता गरिनुले यसको मनसाय सरकारमाथि आक्रमण गर्ने, निर्वाचनको तिथि मितिका बारेमा अन्यौल सिर्जना गर्ने, संविधान कार्यान्यनमा गतिरोध ल्याउने र अन्तत्वगत्वा संविधानलाई नै जोखिममा पार्ने मनसायले भएको बुझिन्छ ।

बाम गठबन्धनले लोकतन्त्रलाई नै आघात पार्ने चिन्ता कति जायज लाग्छ ?

तपाईँलाई पनि थाहा होला । डकुमेन्ट पनि बोल्छ । उनीहरूले तालमेल र एकतासम्मको घोषणा अनुसार आसन्न निर्वाचनमा दुईतिहाइ बहुमत ल्याएर साशकीय स्वरूपलाई नै परिवर्तन गर्ने, नेपालले धरै लामो संघर्ष, बलिदानी र त्यागबाट प्राप्त गरेको संसदीय प्रजातन्त्रको ठाउँमा साशकीय स्वरूप परिवर्तन गर्ने, लोकतान्त्रिक पद्धतिलाई नै खतरामा पार्ने, त्यति मात्र होइन १० वर्षभित्र साम्यबाद ल्याउनेसम्मका अभिष्ट उहाँहरूका देखिन्छन् । यही उद्देश्य राखेर एकीकरणको प्रक्रिया अगाडि बढेको छ ।

हिजोसम्म एकअर्कालाई देखिनसहने शक्तिहरू एकाएक एक भए ? यसको प्रभाव के रहला ?

यो एकताकै बारेमा अनेक आशंकाहरू छन् । पात्रहरू यहींका छन्, नेपाली नै हुन् । हामीले यो र त्यो ठाउँबाट प्रेरित भन्नेभन्दा पनि योे विश्लेषण गर्ने कुरा हो । जुनसुकै शक्तिको आडमा बाम एकता भएको होस यसले सहमति, सहकार्य र एकतामा अगाडि बढेको राजनीतिलाई धु्रबीकरण गर्ने काम गरेको छ । भरखरै अभ्यासमा आइरहेको संविधान र संस्थागत अझै भइनसकेको वा हुने क्रममा अगाडि बढेको लोकतन्त्रलाई जटिल मोडमा पुर्याउने दुस्प्रयास भइरहेको छ ।

यहाँले त्यसो भन्नुभयो, बाम एकतापक्षधर त नेपाली काँग्रेसले हामीलाई ‘बदनाम’ गर्यो भन्दै छन् त ?

कुनै फरक पार्टी एक हुन्छन्, एकअर्कामा बिलय हुन्छन् भने त्यो उनीहरूको आन्तरिक कुरा हुन्थ्यो । तर शान्ति प्रक्रियाका कार्यभारहरू पुरा नभइसकेको, मुलुकमा दुईतिहाइ बहुमत ल्याउँछौं र हामी यसको साशकीय स्वरूपलाई बदल्छौँ भन्ने अभिष्ट राखेको र १० वर्षभित्र मुलुकमा साम्यबाद ल्याउँछौं भन्ने अभिव्यक्तिले उनीहरूको नियतमा खोट छ भन्ने हाम्रो ठम्याइ हो । यसमा प्रजातन्त्रलाई संस्थागत गर्ने, संविधान कार्यान्वयन गर्ने र मुलुकलाई शान्ति र प्रगतिको बाटोमा लैजान नदिने नियत झल्कन्छ ।

देशमा दुई पार्टी ठिक हुन्छ भन्ने आवाज पनि छ, बाम एकताले देशका लागि फलिफाप हुन्छ कि अभिसाप ?

कम्युनिस्टहरू पछिसम्म एक रहिरहनसक्लान जस्तो मलाई लाग्दैन । यिनीहरूमा पर्याप्त मात्रामा वैचारिक विचलनहरू छन् । विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय वस्तुस्थितिको मुल्यांकन गर्ने यिनीहरूको दृष्टिकोणमा विविधता छ । कम्युनिस्टहरू सत्ताका लागि एक ठाउँमा आउने जमर्को गर्दैछन् । त्यही सत्ताकै लागि एकठाउँमा आउने जमर्को स्वरूप यिनीहरूले ६०/ ४० को भागण्डा गरेका पनि हुन् ।

यो एकताले काँग्रेसलाई राजनीतिक धक्का पुर्याएको छ भन्छन नि ? त्यसो हो ?

नेपाली काँग्रेस लगातार राणाकालदेखि, राजतन्त्र, निरंकुशता र कम्युस्टिहरूसँग लड्दै, जुझ्दै आएको पार्टी हो । जन्मेदेखि काँग्रेसले जहिले संघर्षलाई काँधमा बोकेर हिँडेको छ । हरेक परिस्थितिको सामना काँग्रेसले गरेको इतिहास साँक्षी छ । हामीले विगतमा गरेका प्रजातान्त्रिक पद्धतिका प्रयासहरू, प्रतिस्पर्धाहरूले काँग्रेसलाई यो बाम एकताले असर गर्छ जस्तो लाग्दैन । मेरो आफ्नै पनि विद्यार्थी आन्दोलन गर्दाको २०३५/३६ देखिको अनुभव छ । नेपाली काँग्रेसले जस्तोसुकै परिस्थितिको सामना गरेर मुलुकलाई लोकतान्त्रिक पद्धतिमा लग्ने हो । बामहरू एक हुँदा पनि प्रकारान्तरले काँग्रेसलाई कुनै फरक पर्दैन ।

फरक पार्दैन भन्नुभयो, नेकपा एमालेले त आफू मुलुककै ठूलो दल बन्ने दाबी गरेको छ नि ?

हेर्नुस, एमाले अहिले बडो जोखिममा देखिन्छ । ६०/४० को भागबन्डा विस्लेषण गर्नुस न । ६० प्रतिशत स्थानमा मात्रै निर्वाचन लड्ने पार्टी मुलुकको पहिलो पार्टी कसरी हुनसक्छ । जसले ६० प्रतिशत ठाउँमा मात्रै उम्मेद्वार उठाउँदै छ भने उसले कसरी दुईतिहाइ ल्याउँछ ? एमाले आफै तेस्रो पार्टी हुने जोखिम छ । माओवादीको त झन संगठन तहसनहस नै छ । त्यही भएर फुटेदेखि भेटघाट नै नभएका माओवादी केन्द्र र नयाँ शक्ति पनि एक ठाउँमा आए । सय प्रतिशत स्थानमा चुनाव लड्ने हैसियत नदेखे पछि न यो गठबन्धनको खिचडी पाकेको हो ।

बाम एकता के हारको मानसिकताको उपज हो भन्नखोज्नु भएको हो ?

देशका विभिन्न ठाउँमा साम्प्रदायिक सद्भाव खलबल्याउने, जातीय द्वैस फैलाउने, समाजिक धु्रबिकरण बढाउने र नक्कली समाजबादका कुरा गरेर दुईचार ठाउँमा मान्छे अलमल्याए पनि यिनिहरूले गरेको कोसिस अनुसारको परिणाम आउने देखिँदैन । दुई नम्बर प्रदेसमा भएको स्थानीयतहको निर्वाचनको परिणामले पनि यो कुरा देखाइसकेको छ । यसले पनि के देखिन्छ भने, स्थानीय तहको निर्वाचनको परिणामबाट यिनीहरू अत्तालिएर बाम एकता गरेर जानुपर्छ भन्ने कुरामा सहमत भएको देखिन्छ ।

यो अवस्था हो भने अब काँग्रेसको कदम कस्तो हुनुपर्छ भन्ने लाग्छ ?

लोकतान्त्रिक, राष्ट्रबादी र गतिशिलतामा विश्वास गर्ने गैह्रबामपन्थी शक्तिलाई एक ठाउँमा गोलबन्द गर्नुपर्छ । त्यसका लागि काँग्रेसले पहल गरिसकेको छ । कार्यदल बनेर पनि क्रियाशील छ । लोकन्त्रबादी, राष्ट्रबादी र गतिशिलमा विश्वास गर्ने शक्तिलाई एक ठाउँमा ल्याएर बामपन्थीलाई साइजडाउन गर्न सकिन्छ ।

काँग्रसभित्रकै तिक्तता, गुट र फुटलाई हटाउने हो भने काँग्रेसलाई कुनै शक्तिले कमजोर पार्न सक्दैन भन्ने काँग्रेस सुभचिन्तकहरू कै मत छ नि, यसलाई पार्टीले कसरी सम्बोधन गर्ला ?

सम्पन्न भएको स्थानीय तहको निर्वाचनको समिक्षा गर्दा पहिलो कुरा त हामीले प्रयाप्त समय दिन सकेनौँ । जनसम्पर्कमा जान, जनतामा भिज्न त्यो समय अप्रयाप्त थियो । टिकट पाउने एउटाले हो, अपेक्षित धेरै हुन्छन्, नपाउनेले पीडा व्यवस्थापन गर्न पनि समय पाएन ।
दोस्रो कुरा पार्टीका विभिन्न समितिहरू प्रभावकारी रूपले परिचालित र सक्रिय हुन सकेका छैनन् । यसको परिणाम उनीहरूले गर्ने सिफारिस पारदर्शी, बस्तुनिष्ट र पार्टीको केन्द्रीइ निर्देशन अनुरुप हुनसकेका छैनन् । त्यसले केन्द्रमा उम्मेद्वारका आकांक्षीको चाङ लाग्ने अवस्थाको सिर्जना हुँदै आएको छ । एकजनाले टिकेट पाउँदा समान हैसियतका प्रतिस्पर्धीमा निराशा देखिनु, असन्तुष्टि हुनु केही हदसम्म अस्वाभाविक मान्न सकिन्न । त्यो असन्तुष्टि व्यवस्थापन गर्न समय चाहिन्छ । समय नै हरेक पीडा र समस्याको मल्हम हो । असन्तुष्टि व्यवस्थापन गर्न नसकेका कारण समस्या आएका हुन् ।

काँग्रेसभित्र मुद्दामा आधारित विषयले मात्रै होइन केही गहन स्वार्थका समुह पनि क्रियाशील छन् । उनीहरू वस्तुनिस्ट, क्षमता र योगदानको मुल्यांकन गर्ने पक्षमा देखिँदैनन् । आफ्नै स्वार्थसमुहको क्रियाशीलतामा उम्मेदवार चयन पनि कहिलेकाँही प्रभावित हुने गरेको छ । यसले परिणामहरू नकारात्मक भएका हुनसक्छन् ।

पार्टीभित्रको असन्तुष्टिको विषय पनि यस्तै स्वास्र्थ समुहले कहिले काँही प्रभावित भएको हुनसक्छ । त्यसलाई नेतृत्वले सकेसम्म मिलाउने प्रयन्त गरिरहेको छ ।

उम्मेदवार चयनमा त तपाईं आफै पनि संलग्न हुनुहन्थ्यो र हुनुहुन्छ । कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?

हामीले जिल्लाका हरेक क्षेत्रबाट प्रत्यक्ष निर्वाचित हुने ठाउँमा एउटा महिला तीन जनाको सिफारिस पठाउनुस भनेका हौँ । समानुपातिकमा पनि त्यही भन्यौँ तर मेरै जिल्ला कन्चनपुरमा पनि २०८ जना जतिको नाम आएको सुनेको छु, जबकी त्यो मापदण्ड अनुसार ५४ जना जति नाम आउनुपथ्र्यो । यसले के देखिन्छ भने समस्यालाई सारिदिने, केन्द्रिकृत गरिदिने, निर्णय पठाइदिने प्रवृति देखिएको छ । नेतृत्व त जिल्लाको पनि हो नि, त्यहाँको नेतृत्वले त्यहाँको समस्या त्यही समाधान गर्ने हो भने यो समस्या केन्द्रसम्म पुग्दैन थियो होला । र पनि हामी भेटघाट, छलफल, सुझाव र सहमति गरेर यसलाई टुंग्याउँछौँ । मलाई लाग्छ पुराना गल्तीको पुनरावृति हुने छैन ।

प्रतिक्रिया
सम्बन्धित