आइतबार, ५ कार्तिक २०७४
DainikNepal.com
आइतबार, ५ कार्तिक २०७४

विद्यालयमा पढ्ने किशोरीहरूलाई निःशुल्क ‘प्याड’ वितरण

दैनिक नेपाल २०७४ असोज २६ गते ६:१२

नामिबिया, २६ असोज । नामिबियाको शिक्षा मन्त्रालयले विद्यालयमा पढ्ने बालिकाका लागि बुधबारदेखि निःशुल्क ‘सैनिटरी प्याड’ बाड्न थालेको छ ।

रजस्वलाको बखतमा बालिकाहरू विद्यालयमा उपस्थित नहुने क्रम बढीरहेकाले त्यसलाई कम गर्नका लागि भन्दै यस्तो परियोजना शुरु गरिएको सरकारी अधिकारीहरूले बताएका छन् ।

अन्तर्राष्ट्रिय बालिका दिवसको अवसर पारेर शिक्षामन्त्री कत्रिना हन्स हिमार्वाले परियोजनाको शुभारम्भ गर्नुभएको थियो ।

शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले न्यून आय भएका परिवारका झण्डै पाँच हजार बालिकालाई हरेक महिना यस परियोजनाबाट लाभ उठाउने बताउनु भएको छ ।

मन्त्री हिमार्वाले निःशुल्क प्याड उपलब्ध गराउँदा ३० देखि ५० प्रतिशत छात्रा विद्यालयमा आइरहने सम्भावना रहने एक अध्ययनले देखाएको पनि जानकारी दिनुभयो ।

शिक्षा मन्त्रालयको तथ्यांक अनुसार सन् २०११/०१२ मा २२ हजार बालबालिकाले विद्यालयस्तरको पढाई बीचैमा छाडेका थिए ।

उनीहरूमध्ये ठूलो संख्यामा ग्रामीण क्षेत्रका बालिका रहेका छन् । बालिकाहरूले विद्यालय छोड्नुको पछाडि विद्यालयदेखि घरसम्मको दूरी टाढा हुनु, बिरामी भइरहनु, गर्भवती हुनु र असक्त हुनुलगायत मुख्य कारण रहेका छन् । – सिन्ह्वा

प्रतिक्रिया
सम्बन्धित