बुधबार, १ कार्तिक २०७४
DainikNepal.com
बुधबार, १ कार्तिक २०७४

अन्ततः रेणु दाहालले एमालेलाई भोट हालिन्, चितवन जिससमा एमालेको प्यानलनै विजयी

दैनिक नेपाल २०७४ असोज २५ गते १६:३२

भरतपुर, २५ असोज । जिल्ला समन्वय समिति चितवनमा नेकपा एमालेको प्यानल विजयी भएको छ ।

समितिको बुधबार भएको निर्वाचनमा सत्तारुढ नेपाली कांग्रेसलाई हराउँदै एमालेका कृष्णकुमार डल्लाकोटी प्यानलसहित निर्वाचित भएका छन् । जिससको प्रमुखमा डल्लाकोटीले ११ मत प्राप्त गरे भने निकटम प्रतिद्वन्द्वी कांग्रेसका भरत अधिकारीले ३ मत ल्याए ।

उपप्रमुखमा एमालेकै मुनाकुमारी श्रेष्ठ निर्वाचित भइन् । उनले कांग्रेसकी टीका दाहाललाई हराइन् । जिससको ९ सदस्यीय समितिमा एमालेले सबै पद जितेको छ ।

माओवादीको भोट एमालेलाई, रेणुले पनि दिइन् भोट

यसैबीच जिल्ला समन्वय समिति चितवनको निर्वाचनमा नेकपा माओवादी केन्द्रले एमालेलाई भोट दिएको छ । एमाले एक्लैको बहुमत भएपनि केन्द्रमा भएको वाम गठबन्धनका कारण माओवादी केन्द्रले समेत एमालेका उम्मेद्धारलाई नै मत हालेको थियो ।

स्थानीय निर्वाचनमा काग्रेससंग गठबन्धन गरेको माओवादीले केन्द्रमा भएको तालमेलका आधारमा एमालेलाई मत हाल्ने निर्णय आज विहान गरेपछि भरतपुरकी मेयर रेणु दाहालले पनि भोट हालेकी छन् ।

यसअघि वैशाख ३१ गते सम्पन्नस्थानीय तहको निर्वाचनमा चितवनको सात तहको प्रमुख र उपप्रमुख गरी एमालेका तर्फबाट ९ र माओवादीबाट दुई तथा नेपाली काग्रेसका तीन जना विजयी भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित