आइतबार, ५ कार्तिक २०७४
DainikNepal.com
आइतबार, ५ कार्तिक २०७४

केन्द्रमा वाम एकताः भरतपुरमा रेणु र देवी के गर्लान ? यस्तो छ रोमाञ्चक संयोग

दैनिक नेपाल २०७४ असोज २५ गते १५:१८

भरतपुर, २५ असोज । भनिन्छ, राजनीतिमा स्थायी मित्र र स्थायी शत्रु कोही हुँदैन् । हो, केही महिनाअघिसम्म मारामार गरेका एमाले र माओवादीका कार्यकर्ताहरु यतिबेला बाम तालमेलका कारण एउटै मोर्चामा आइपुगेका छन् । अझ रोमाञ्चक कुरा के छ भने हिजोसम्म एकअर्काका प्रतिस्पर्धी बनेका देवी ज्ञवाली र रेणु ज्ञवालीले एउटै मोर्चामा उभिएर चुनाव हाँक्नुपर्ने भएको छ । देवीलाई रेणुले मत हाल्ने दिन आइपुगेको छ ।

प्रसंग हो, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्तिबीच वाम गठबन्धन र आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन । निर्वाचनका लागि वाम गठबन्धन भइसकेको छ । र, भरतपुर महानगरपालिका रहेको क्षेत्र नम्बर ३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रतिनिधिसभा सदस्यका लागि प्रत्यतर्फ ‘प्रचण्ड’ चुनाव लड्दैछन् । प्रचण्डलाई चुनाव लड्न एमालेले सहयोग गर्दैछ । यहाँसम्मकी प्रचण्डको चुनावी प्रचार उनबाटै हराइएका देवी ज्ञवालीले गर्ने कुरा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो अन्तर्वार्तामार्फत घोषणा गरिसकेका छन् । ओलीले ‘राजनीतिमा यो सामान्य कुरा भन्दै’ प्रचण्डलाई जिताउन एमालेले सहयोग गर्ने बताएका हुन् ।

रेणु दाहालको भोट देबी ज्ञवालीलाई !

स्थानीय तहको निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिकाको मेयरमा माओवादी कार्यकर्ताले मतपत्र च्याते हराइएका देवी ज्ञवाली अब मित्रवत व्यवहारमा प्रचण्डलाई सघाउँदैछन् । अर्कोतर्फ, एमाले चितवनले देबी ज्ञवालीको नाम सिफारिस गरेको छैन् । ज्ञवालीलाई सिधै राज्यसभामा लैजाने पार्टीको योजना रहेकाले सिफारिस नगरिएको एमाले चितवनका नेताहरुले बताएका छन् । यसो हुँदा भरतपुरकी मेयर एवं प्रचण्डपुत्री रेणु दाहालले उनलाई भोट हाल्नुपर्ने अवस्था आउँछ । नयाँ संविधानअनुसार राज्यसभामा सबै स्थानीय तहका प्रमुख र उपप्रमुखले मत हाल्न पाउने व्यवस्था छ । यदि देवी ज्ञवाली वाम गठबन्धनतर्फबाट उम्मेदवार भए भने रेणुले बाध्य भएर उनलाई मत हाल्नुपर्नेछ ।

यसरी देवी ज्ञवाली, प्रचण्ड र रेणु दाहालबीच परिस्थितीले पुरानो तिक्तता मेटाएर नयाँ मित्रवत सम्बन्ध स्थापित हुँदैछ । यो विषयले चितवनमा एमाले र माओवादी पंक्तिमा निकै चर्चा पिटेको छ ।

प्रतिक्रिया
सम्बन्धित