आइतबार, ५ कार्तिक २०७४
DainikNepal.com
आइतबार, ५ कार्तिक २०७४

नवराज सिलवाल चम्किन्छन् कि सखाप हुन्छन् ? राजनीतिमा लागेका प्रहरी हाकिमहरुको यस्तो छ कहानी

दैनिक नेपाल २०७४ असोज २४ गते १२:५१

– शिवजी श्रेष्ठ

तत्कालिन प्रधानमन्त्री प्रचण्डले ‘युगपुरुष’ भनेर सम्बोधन गरेको हेर्दा नवराज सिलवालले राजनीतिलाई हस्तक्षेप गरेको हो वा राजनीतिले नवराज सिलवाललाई राम्रैसँग हस्तक्षेप गरिसकेको हो ?

आफू नेपाल प्रहरीको पूर्वसदस्य भएको नाताले हेरिरहँदा आफू प्रहरी सेवामा आउनुअगावै (२०४८ तिर) देखि परिचित नवराज सिलवालको प्रहरी महानिरीक्षकको बढुवा प्रकरणलाई अझ नजिकबाट नियाल्ने क्रममा उहाँसँग निरन्तर सम्पर्कमा नै थिएँ । नम्बर एक डीआईजीको रुपमा आईजीपीको लागि प्रतिस्पर्धी सिलवाल आईजीपी हुन्छ र होओस भन्ने चाहने नेपाल प्रहरीभित्र र बाहिर ठूलै पंक्ति थिए । तर, सायद नियतिलाई त्यो मञ्जुर थिएन । उहाँको चर्चित (एमाले प्रवेशका) भाषणको भिडियो हेरिरहँदा नियतिको त्यही प्रहार महसुस गरिरहेँ– कुन मोर्चामा रहेर सबैको भएर नेतृत्व गर्नुपर्ने व्यक्तित्व कसैको भएर अर्कै नितान्त फरक मोर्चामा उभिएर बोलिरहेको दृश्य हेर्दा त्यही नवराज सिलवाल खोज्न मन लागेर आयो । कता कता डर लागेर आयो– कम्युनिष्टहरुको सम्बोधनमा ‘महान’ मानिने लेलिनको उंक्ति उद्धरण गर्दै ‘यदि तिमीले राजनीतिलाई हस्तक्षेप गरेनौं भने एकदिन तिमीलाई राजनीतिले हस्तक्षेप गर्नेछ’ भन्दै गरेको नवराज सिलवालको भिडियो हेर्दा एउटा डर मनभित्र पलाएर आयो– कतै राजनीतिलाई हस्तक्षेप गर्न राजनीतिमा पसेको एउटा ‘सिपाही’ चक्रब्युहमा परेको अभिमन्युझैं आफै अल्मलिएर हराउने हो कि भन्ने चिन्ता लागेको छ ।

डीआईजी नवराज सिलवालले आफूमाथि उठाइएका दुईवटा प्रश्नहरु राजनीतिमा प्रवेश किन ? र एमालेमा नै किन ? को उत्तरहरुको सन्दर्भमा उनीमाथिका सम्भावित तरबारका हवालामा बाहिरिएका अनुमानहरुले उनलाई कमजोर सिलवालको रुपमा त्यतै कतै हराउने बनाउँछ कि बलियो सिलवालको रुपमा पुनर्स्थापित गराउँछ ? त्यो समयको अन्तरालमा देखिदै जाने कुरा हुन् । हुनत राजनीतिले नै प्रहार (हस्तक्षेप) गरिएका पूर्वआईजीपी डीबी लामा जेलबाट बाहिरिएसँगै नेपाली कांग्रेसको राजनीतिमा होमिए र सफल रुपमा प्रतिनिधिसभामा निर्वाचित हुँदै मन्त्री समेत भए । उनले आफ्नो आत्मकथामा लेखेका थिए– ‘पुलिस ऐकेडेमीले आधारभुत तालिमका प्रशिक्षार्थीसँग अन्तक्रिया गर्न बोलाइएपछि आफ्नो सिथिल भएको मनस्थितिमा ठूलो हौसला र उर्जा प्रदान गरेको’ सन्दर्भमा राजनीतिक छहारी एउटा बाटो हुनसक्ने नै भयो । सायद यही कुरालाई मनन गरेर नेपाल प्रहरीका पूर्वमहानिरीक्षक एवं उच्चाधिकारीहरुले राजनीतिमा प्रवेश गरेको देखिन्छ । चाहे त्यो मोतिलाल बोहरा हुन वा धुव्रबहादुर प्रधान हुन् वा प्रदीपसम्शेर जबरा । तर धुब्रबहादुर प्रधानले पार्टीभित्र आफ्नो दह्रो उपस्थिति देखाउन सकेपनि बाँकीको उपस्थिति उल्लेखनीय देखिसकिएको छैन्, बोहरा त राजनीतिबाटै बाहिरिइसके । यी पूर्वआईजीपीहरुको राजनीतिक उपस्थितिको अवस्थालाई पक्कै पनि सिलवालले मनन गर्ने नै छन् ।

ताजा सन्दर्भमा हेर्दा पनि सशस्त्र प्रहरी बलका पूर्व एआईजी ऋषमदेव भट्टराई हुन वा नेपाल प्रहरीबाट अवकाशको एक महिनापनि ननाघ्दै नयाँ शक्ति पार्टीमा नयाँ जोशका साथ प्रवेश गरेका पूर्वएआईजी गणेश राई हुन, यी त्यतै छन् वा कतै छन ? खोजी गर्नुपर्ने अवस्थामा छन् । अझ माओवादीको उदयसँगै आफ्नो अवकाशको केही समयमै माओवादीमा प्रवेश गरेका दुईवटा प्रहरीका पूर्व डीआईजीहरु अशोक श्रेष्ठ र गोपानमान श्रेष्ठको उपस्थिति त शून्यमा नै छन् । सायद यी प्रहरीका पूर्व उच्चाधिकारीहरु पनि नवराज सिलवालले उद्वरण गरे जसरी राजनीतिमाथि हस्तक्षेप गर्न चाहन्थे कि ?

कुनै दिनको नेपाल प्रहरीको इमान्दार सिपाहीलाई ‘जय नेपाल’ भन्न छाडेर एमालेको बफादार सिपाही भनिँदै गर्दा ‘लाल सलाम’ भन्न कसैले सम्झाई (सिकाई) दिनुपरेको दृश्यले राजनीतिमा नवराज सिलवालको हस्तक्षेप परिपक्व तयारी भइसकेको देखिन्न ।

एउटा बिर्सन नहुने सम्भावना, राजनीति हस्तक्षेपका लागि एउटा बलियो बाटो त हो । तर, सबैको लागि नहुन सक्छ । एउटा विज्ञता भएको लोकप्रियता हासिल गरेको व्यक्तित्व राजनीतिमा पसेसँगै त्यो उचाईले साथ नदिएको दृष्टान्त पनि छ । हाम्रोमा मात्रै हैन् कि छिमेकी भारतको अति लोकप्रिय प्रहरी महानिरीक्षक किरण वेदी हुन वा श्रीलंकाको एलटिटिईलाई सखापै पार्ने सैनिक कारवाही ताकाका सेना प्रमुख फोन्सेकाको राजनीति प्रवेश सुखद रहेन् । यी दुबै राजनीतिमा असफल रहे । चुनावमा नलडिन्जेल यिनका नाम जनताले जय जयकारकै रुपमा लिन्थे । सायद यसलाई भजाउन चाहन्थे त्यहाँका राजनीतिक पार्टीहरु । जब भजेनन तब यी नाम ती पार्टीहरुका लागि पनि पचेनन् ।

यी सन्दर्भ र सचेतताका दृष्टान्तहरु नवराज सिलवाललाई निराश बनाउनका लागि होइनन् । मात्रै सजग गराउनका लागि हुन् । नवराज सिलवाल अब्बल प्रहरी अधिकृत हुन्, उनी प्रहरी महानिरीक्षक हुननसके पनि राजनीतिमा सफल हुन, यहि चाहन्छ प्रहरीहरु । तर परिस्थितीले आफू तयार नहुँदै राजनीतिमा फाल हाल्दै गरेको दृश्य हेर्दा पनि हस्तक्षेप गर्न नसकोस् भन्न मन लाग्छ । कुनै दिनको नेपाल प्रहरीको इमान्दार सिपाहीलाई ‘जय नेपाल’ भन्न छाडेर एमालेको बफादार सिपाही भनिँदै गर्दा ‘लाल सलाम’ भन्न कसैले सम्झाई (सिकाई) दिनुपरेको दृश्यले राजनीतिमा नवराज सिलवालको हस्तक्षेप परिपक्व तयारी भइसकेको देखिन्न ।

प्रहरी बर्दीमा ‘जय नेपाल’ भन्दै ३० वर्ष सिधा भाषामा सटिक कुरा राख्ने बानी परेका नवराज सिलवाललाई नेपाली राजनीतिका समाजवाद, समाजशास्त्र अनि गोलमटोलका भाषामा अभ्यस्त हुन अझै केही समय लाग्ने नै छ । हुनत राजनीतिबाट अन्याय भयो भन्दै राजनीतिमा हस्तक्षेप गर्ने योजनामा अगाडि बढ्ने क्रममा आफूलाई अन्याय भयो भनेर अदालत जान संविधानले बाटो दिएको छ भन्दै गर्दा जुन मन्त्रिपरिषदले अन्याय गर्यो भनेर विपक्षी बनाएर अदालतमा रिट हालियो, त्यही मन्त्रिपरिषदको नेतृत्व गर्ने तत्कालिन प्रधानमन्त्री प्रचण्डलाई ‘युगपुरुष’ भनेर सम्बोधन गरेको हेर्दा नवराज सिलवालले राजनीतिलाई हस्तक्षेप गरेको हो वा राजनीतिले नवराज सिलवाललाई राम्रैसँग हस्तक्षेप गरिसकेको हो ? बुझ्न अझै समय लाग्ला । कुरा यति हो कि आफैलाई अन्याय गर्ने प्रधानमन्त्रीलाई युग पुरुष भनेर सम्बोधन गरेको देख्दा अरु प्रधानमन्त्रीहरुलाई पनि ‘युग पुरुष’ भनिन प्रोत्साहन पो हुने हो कि ? डर यत्ति हो कि तपार्इंभित्रको निर्भिक नवराज सिलवाललाई यस्ता परिस्थितिजन्य अवस्थाले थिच्दै, मार्दै जान्छ कि ? आज वा भोलि एउटै ताका र बाटोमा हिडिन्छ कि ? भन्दैमा हिजो भीरबाट धकेलेर एउटा बाटो बदल्न परिस्थिति सिर्जना गर्नेप्रतिको तपाईंको टिप्पणीले तपाईंलाई कमजोर त बनाउँदैन् ? एउटै बाटोमा उभिइन्छ भन्दैमा उसैको बोली बोल्नुपर्छ भन्ने सोच्नु जरुरी छैन्, सांसद पूर्वप्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहलाई हेर्नुहोस् आफ्नै पार्टीको सरकारले तपाईंमाथि अन्याय गर्दा खुलमखुल्ला विरोध गरेर आफ्नो असन्तुष्टि राखेका थिए ।

तसर्थ तपाईंको शुभचिन्तकका नाताले डर लागिरहेछ र भन्न मन लागिरहेछ– नमरुन भित्रका नवराज सिलवालहरु, निरुत्साहित नहुन, कसैले सिकाइएर ‘लाल सलाम’ भन्ने नवराजहरु लाल सलामको भारीले नथिचिइउन । आईजीपी पद नै सबैथोक होइनन्, हेर्नुहोस् ओमविक्रम राणा, वासुदेव ओली, रमेश चन्द ठकुरीहरुलाई । अनि हेर्नुहोस् झण्डै आईजीपीको पूर्ण कार्यकाल बिताएर पनि गुमानाम जीवन बिताइरहेका श्यामभक्त थापाहरुलाई । अनि हेर्नुहोस् आईजीपी हुनैपर्ने अवस्थामा पुगेर पनि निर्मम तरिकाले अन्यायमा पारिएका पूर्वएआईजी राजेन्द्रबहादुर सिंह अनि रविराज थापाहरुका इज्जतिलो अनि सम्मानित जीवनलाई । आईजीपी नै नभएपनि एकेडेमिक अनि व्यवसायिक जीवनमा अभ्यस्त अमरसिंह शाह, डा. ठाकुरमोहन श्रेष्ठ अनि नवराज ढकालहरुलाई ।

राजनीतिले तपाईंमाथि थप हस्तक्षेप गर्ला भनेर तपाई राजनीतिमाथि हस्तक्षेप गर्न हौसिँदै गर्दा एउटा कुरा सम्झाउन मन लागेको छ । कुनैबेलाका ‘बाघ’ आईजीपी अच्युतकृष्ण खरेल जब राजनीतिले हस्तक्षेप गरेर भाँचिए, जब उनले पनि राजनीतिमाथि हस्तक्षेप गरेर आए, तर यति धेरै राजनीतिमाथि हस्तक्षेप गर्न खोजेर आफूभित्रको आक्रोशलाई उचित व्यवस्थापन गर्न नसक्दा पछिल्लो कार्यकालले उहाँको अघिल्लो उपलब्धि नष्ट नै गरायो ।

आज तपाईंले सानो स्वरमा ‘लाम सलाम’ भन्दा ठूलो स्वरमा ताली पिट्ने भन्दा पनि ‘लाम सलाम’ नभन्ने एउटा ठूलो तप्काको आशा, भरोसा र सम्मान पनि थियो तपाईंप्रति, त्यसलाई बचाउनुहोस्, अनि व्यवस्थापन पनि गर्नुहोस् ।

तसर्थ, तपाईलाई एउटा शुभचिन्तकको नाताले भन्न मन लागेको छ, अनि कुनैदिन तपाई इन्सपेक्टर हुँदा त्यही बग्गिखानाको बरण्डामा भलाकुसारी गरेका दिनहरुलाई सम्झेर सजग गराउन मन लागेको छ । कतै तपाईंमाथि अहिले दिन खोजिइएको छहारी तपाईंमाथि देखिएको जनसहानुभुतिको हिसाब गर्न मात्रै त होइन् ? चुनावी जोडघटाउको राजनीतिमा तपाईंको सदुपयोग नभई प्रयोग मात्र हुने त हैन ? तपाईंभित्रको विशेषज्ञता, अनुभव, अध्ययनशीलता राजनीतिको शब्दजालमा रुमलिएर भुत्ते हुँदै हराएर जाने त हैन् ?

फेरि यो पनि भन्न मन लागेको छ, आज तपाईंले सानो स्वरमा ‘लाम सलाम’ भन्दा ठूलो स्वरमा ताली पिट्ने भन्दा पनि ‘लाम सलाम’ नभन्ने एउटा ठूलो तप्काको आशा, भरोसा र सम्मान पनि थियो तपाईंप्रति, त्यसलाई बचाउनुहोस्, अनि व्यवस्थापन पनि गर्नुहोस् । अनि यस्तो पनि नहोस् तपाईको निर्णय हतारमा गरिएर फुर्सदमा पछुताइएको अवस्थामा नपरोस् । तसर्थ फेरि पनि भन्न मन लागेको छ, अब राजनीतिलाई राम्रैसँग हस्तक्षेप गर्न सक्नुहोस् । तर राजनीतिले तपाईंमाथि फेरि पनि हस्तक्षेप गर्न नसकोस् ।

लेखक नेपाल प्रहरीका पूर्वडीएसपी हुन् ।

प्रतिक्रिया
सम्बन्धित