सोमबार, २५ मंसिर २०७४
DainikNepal.com
सोमबार, २५ मंसिर २०७४

हाम्रो दशैं, हाम्रो संस्कृति

अर्जुन पाण्डे २०७४ असोज १६ गते १०:२९

लेखक

– अर्जुन पाण्डे

दशैंको बेला चंगाकै कुरा गरौं । दशैंको बिदा । एक दिन बाबुछोरा कुरा गरिरहेका बेला छोराले बाबुसंग सोध्यो, बा सफल जीवन कस्तो हुन्छ ?
तिमीले बुझ्ने बेला भाको छैन बाबु, यस्ता कुरा ।

भन्नु न बा, म नी बुझ्छु नि । भनेपछी पो बुझ्छु त ।

हिँड त तिमी र म चंगा उडाउन कौशीमा जउँ, त्यहीँ भनौला । बाबु छोरा कौशीमा गै चंगा उडाउन थाले । छोरो बाबुले चंगा उडाएको ध्यान पूर्वक हेरिरह्यो । हेर्दा हेर्दै चंगा कावा खाँदै माथी माथी उड्न थाल्यो, बादलसंग लुकामारी खेल्न पुग्यो । चंगा अझै माथी जान खोजिरहेको थियो तर धागोले चंगालाइ नियन्त्रण गरिरहेको थियो ।

यो देखेर छोरो बोल्यो, बा चंगा अझ माथी जान खोजीरहेछ, तर धागोले दिएन । यो धागोको कारण चंगा अझै माथी जान सकेन, यसलाइ छिनाइ दिउँ न । चंगा अझ माथी जावोस् ।

बाबुले धागो छिनाइदिए । चंगा एक पटक अली माथी हुत्तीयो र फेरी विस्तारै लहराउँदै तल झर्न थाल्यो । र अन्तत टाढा जमिनमा खस्यो । तब बाबुले छोरालाइ जीवनको दर्शन समझाए, बाबु, हामी जीन्दगीको जुन उचाइमा पुग्छौं, तब हामीलाइ लाग्दछ हाम्रा वरीपरी यस्ता चीजहरु छन् जसले हामीलाइ बाँधीराखेको छ र जसले हामीलाइ अझ माथी जानबाट रोकिदिन्छ जस्तैः माता, पिता, घर, परिवार, हाम्रो संस्कृति, सामाजिक मान्यता, अनुशासन आदि । बास्तबमा यीनै त्यो धागो हो जसले हामीलाइ त्यो उचाइमा टिकाइ राख्दछ । यो धागो बिना हामी एक पटक त माथी जान्छौं तर समयक्रममा हाम्रो हातल पनि त्यही धागो छिनेको चंगा जस्तै हुन्छ ।

यो त चंगाको पो कुरा हो हाम्रो जीवनमा पनि यस्तै हुन्छ त बा ?

हेर बाबु, म आफ्नै कुरा भन्छु सुन, हामी नेपालीहरु हज्जार्रौ बर्ष देखि सामाजिक सद्भाव र संस्कृतिक रुपले अत्यन्त धनी थियौं । सन्सारमा हामी सर्बथा उच्च, सभ्य र सुसंस्कृत थियौं । हाम्रो सांस्कृतिक धन हेर्न, बुझ्न देश विदेशबाट मानिस आउँथे । हाम्रो संस्कार संसारमै अतुलनिय थियो । यहाँ हज्जार्रौ मठ मन्दीर र देवालयहरु, तीनका पर्वहरु हामी सबै रमाउँदै मिलिजुली मनाउँथ्यौं । पछी समय क्रममा हामीले आधुनिक युगका कुरा गर्न थाल्यौं । विस्तारै हामीले आधुृनिक शिक्षा पाउन थाल्यौं । अंग्रेजी पढ्यौं, विज्ञान पढ्यौं । देश विदेशका धेरै नयाँ कुराहरु देख्यौं । धेरै विषयको अध्ययन गर्यौं । सन्सारलाइ नियाल्दा हामीले यो भौतिक संसारमा आफू पछी परेकोे, विपन्न भएको महसुस गर्न थाल्यौं । अब हामीलाइ लाग्न थाल्यो समृद्ध देशहरुको अगाडी हामी गरीब हुनुको कारण हामीलाइ बाँधीराख्ने यही धर्म संस्कृति हो । यही सामाजिक मान्यता हो । यीनले हाम्रो उन्नती हुन दिँदैनन् । यस्ता बन्धनबाट मुक्त हुनु पर्छ भन्न थाल्यौं ।

अब यस्ता अनुशासन तोड्न तँछाड मछाड हुन थाल्यो । जसले धेरै अनुशासन तोड्यो त्यही ठूलो हुने चलन कहाँबाट कहाँबाट आयो । यही मेसोमा देशमा एउटा राजनीतिक दल नै अगाडी आयो । अरु भन्दा एक कदम अगाडी यसले आफूलाइ जनताको युद्ध गर्नु पर्छ अनि मात्र हाम्रो मुक्ती हुन्छ भन्न थाल्यो । नेपाली समाजलाइ समृद्ध हुन नदिने यीनै धर्म संस्कृतिका रीति रीवाज, मठ मन्दीर देवालय, संस्कृति र मान्यताका बन्धनहरु हुन । यीनलाइ ध्वस्त नपारी हुन्न भन्न थाल्यो र देशैभर वितण्डा मच्चाउन थाल्यो ।

एकोहोरो सुनीरहेको छोरो एक्कासी बोल्यो, कस्तो बितण्डा भाको बा ?

हेर बाबु, त्यो समय निकै डरलाग्दो थियो । त्यो त्रासदीपूर्ण समयमा के के र कस्ता कस्ता घटना भए सबै शब्दमा बताउन सक्दिन । फेरी तिम्रो कलीलो दिमागमा यस्ता घटनाको चित्र बसाउनु ठीक होइन । म तिम्रो दिमागमा यस्ता विषयको छाया पार्न पनि चाहन्न ।

अनी के भो नि बा ?

यो मेसोमा धेरै नेपालीको ज्यान गयो, कैयौं बेपत्ता भए । हामीले धन गुमायौं, जन गुमायौं, आफ्नो पन गुमायौं । हामी झ तल झर्यौं । कहाँ थियौं ? कहाँ आइपुग्यांै तर कैयौंले चाहीँ वाहवाही पाए । मानिसले बुझ्दै नबुझी उनिहरुको हो मा हो मिलाए । उनिहरुकै जयजयकार भयो । उनैले चुनाव पनि जिते । ठूला ठूला पदमा पुगे । देशै चलाए तर यो धेरै समय टिकेन बाबु । जसले अफू अझ माथी पुग्ने रहरमा आफ्नो पन, आफ्नो धर्म, आफ्नो संस्कृति ध्वस्त पारे तिनको हालत पनि त्यही धागो चुडीएको चंगा जस्तै भयो बावु ।

तर अचेल सुन्दैछु कैयौंले त आफ्नो गल्ती महसुस गरेर प्रायश्चित पनि गर्न थालेका छन् रे । दशैं मान्दैनौ भन्नेहरुले पनि यस बर्ष दशै माने रे । टीका लगाए रे । यो सुनेर चाहीँ अहिले खुसी लागेको छ, बाबु ।

तसर्थ हेर छोरा, जीवनमा यदि तिमी उचाइमा टीकीरहन चाहन्छौ भने कहिल्यै पनि यो धागोसंगको नाता नतोड्नाु । धागो र चंगाको जोड र सफल सन्तुलनले प्राप्त भएको उचाइ लाइ नै सफल जीवन भनिन्छ बाबु । २०७४ । ०६ । १६

प्रतिक्रिया
सम्बन्धित