आइतबार, ५ कार्तिक २०७४
DainikNepal.com
आइतबार, ५ कार्तिक २०७४

राजपाका सहमहामन्त्री मिर्जा यसकारण एमाले प्रवेश गरे (फोटो फिचर)

दैनिक नेपाल २०७४ असोज ८ गते २०:१४

– सीताराम चौधरी

चन्द्रौटा(कपिलवस्तु), ८ असोज । राजपा सहमहामन्त्री मिर्जा अर्शद बेग आइतबार एमालेमा प्रवेश गर्नुभएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–३, लक्ष्मीनगर निवासी मिर्जा एमाले केन्द्रिय कार्यालय धुम्बाराही काठमाडौं पुगी एमालेमा प्रवेश गर्नुभएको हो ।

मिर्जासँगै राजपाका केन्द्रिय सल्लाहकार मुस्ताक अहमद खाँ र एनआरएन चीनका सदस्य मिर्जा रसिद बेग समेत एमालेमा प्रवेश गर्नुभयो । एमाले केन्द्रिय कमिटीको बैठक चलिरहेको बेला एमालेमा प्रवेश गरेका मिर्जासहितलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल लगायतले खादा र मालाले स्वागत गर्नुभएको थियो ।

नेता मिर्जा अर्शद बेग तत्कालिन सद्भावना पार्टीको केन्द्रिय सचिव तथा सद्भावना मुस्लिम मञ्च कपिलवस्तु ५ नम्बर प्रदेश इन्चार्ज हुनुहुन्थ्यो । २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा सद्भावना पार्टीबाट कपिलवस्तु ५ नम्बर संसदीय निर्वाचन क्षेत्रबाट सांसदको उम्मेदवार समेत हुनुभएको थियो । उहाँले संसदीय निर्वाचनमा करिब ५ हजार मत प्राप्त गर्नुभएको थियो ।

कृष्णनगर क्षेत्रमै निकै लोकप्रिय युवा नेता मिर्जा एमालेमा प्रवेशसँगै जिल्लाको राजनीतिले छुट्टै चर्चा पाएको छ । स्थानीय तहको पहिलो र दोस्रो चुनावमा विरोधमा उत्रिएको राजपा अहिले एकाएक दुई नम्बर प्रदेशमा भाग लिएर त्यहाँका जनतालाई मात्र आफ्नो मान्छे ठानेको र यहाँकालाई ठूलो धोका दिएका कारण आफूले पार्टी छाडेको उहाँले बताउनुभयो ।

इतिहासमै सबैभन्दा बढी वजेट एमालेले तराईमा हालेर विकासको आँखा खोलिदिएको भन्दै एमाले पार्टी आफ्नो रोजाई बन्न पुगेको नेता मिर्जाले स्पष्ट पार्नुभयो । एमालेलाई मधेश विरोधी भनेर आरोप लाग्ने गरे पनि एमालेले जति मधेसको विकास कुनै पार्टीले नगरेको उहाँले बताउनुभयो । अब एमालेमै रहेर राजनीतिक क्यारियर बनाउने काठमाडौंबाटै फोन गरेर मिर्जाले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित