बुधबार, १ कार्तिक २०७४
DainikNepal.com
बुधबार, १ कार्तिक २०७४

एमाले नेता नेपालको गृहजिल्ला रौतहटमा एमाले पत्तासाफ, यस्तो छ कारण

दैनिक नेपाल २०७४ असोज ७ गते ०:३३

रौतहट, ७ असोज । पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालको गृहजिल्ला रौतहटमा नेकपा एमालेको पत्तासाफ भएको छ ।

१८ स्थानीय तह भएको रौतहटमा एमालेले एउटा पनि प्रमुख पद जित्न सकेन । रौतहटमा एमालेको बीउ चन्द्रपुरको उपमेयर रामरती चौधरीले मात्र जोगाएकी छिन्। एमालेको गढ मानिएको चन्द्रपुरमा उपमेयरमा चौधरीले कांग्रेस उम्मेदवारलाई भारी मतले हराउँदा मेयर उम्मेदवार उद्धव रेग्मी भने नराम्रोसँग पराजित भए । चन्द्रपुरमा टिकट दिने विषयमा समेत ठूलो लफडा भएको थियो । पार्टीले केन्द्रबाट नामावली सार्वजनिक गर्दा बाबुराम दाहाल भनेर सार्वजनिक गरिरहँदा एमालेका उद्धव रेग्मीले मेयरमा उम्मेदवारी दर्ता गराइसकेका थिए । उनी पार्टीमा संस्थापन अर्थात केपी ओली पक्षधर मानिन्छन् । सोहीकारण नेपाल पक्षले असहयोग गरेको आरोप लागेको छ ।

एउटा उपमेयर र केही वडाअध्यक्ष बाहेक अधिकांश ठाउँमा एमालेको लज्जास्पद हार भयो । एमालेको गढ भनिएको चन्द्रपुर र गौर नगरपालिकामा समेत एमालेले आफ्नो शाख जोगाउन सकेन् । जबकी गौरमा एमाले वरिष्ठ नेता नेपाल आफै मतदाता थिए । तर, चन्द्रपुर र गौर दुबै ठाउँमा नेता नेपाल नजिककै नेताहरुले अन्तरघात गरेका कारण पार्टी हार्नु परेको भन्दै एमाले कार्यकर्ताहरु आक्रोशित भएका छन् । हारको दोष एमालेका नेता रामकुमार भट्टराई र कल्याणी खड्कामाथि लगाइएको छ । उनीहरु रौतहटमा एमाले नेता नेपालका खास प्रतिनिधिका रुपमा चिनिन्छन् ।

यसअघि रौतहट र काठमाडौँ दुबै ठाउँबाट जितेका एमाले वरिष्ठ नेताले उपनिर्वाचनमा काठमाडौँ छाडेर रौतहट रोजेका थिए । तर, स्थानीय तहको चुनावमा लज्जास्पद हार व्यहोरेपछि अब प्रतिनिधिसभा निर्वाचनमा कहाँबाट लड्ने भन्ने प्रश्न समेत नेता नेपालमाथि उब्जिएको छ । आफू नजिककै नेताहरुको अन्तरघातको शिकार नेता नेपालसमेत बनेका छन् ।

रौतहटमा सबैभन्दा बढी सात सिट काँग्रेसले जितेको छ भने माओवादी र संघीय फोरमले दुई दुई सिट जितेका छन् । यसैगरी, राजपा र फोरम लोकतान्त्रिकले एक एक स्थानमा जित हात पारेका छन्।

प्रतिक्रिया
सम्बन्धित