मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

विद्यासुन्दरले म्याड्रिड पुगेर गरे ऐतिहासिक सम्झौता, अब काठमाडौं छिट्टै फेरिने

दैनिक नेपाल २०७४ असोज ६ गते १४:०७

काठमाडौं, ६ असोज । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य स्पेनको राजधानी म्याड्रिड शहर पुग्नु भएको छ । उहाँले म्याड्रिडका प्रमुख मान्युला कारमेनासँग भेटवार्ता गर्नुभएको छ । म्याड्रिड सिटी हलमा भएको सो भेटमा दुई नगरप्रमुख बीच मैत्रीपूर्ण सम्बन्ध र अपसी सहयोग आदन–प्रदान गर्ने बारेमा छलफल भयो ।

भेटको अवसरमा काठमाडौँका मेयर शाक्यले काठमाडौँ शहरलाई परम्परागत साँस्कृतिक पहिचानको संरक्षण गर्दै, आधुनिक र प्रविधिमैत्री शहर बनाउने प्रयासमा आफू लागि परेको बताउनु भएको थियो । उहाँले त्यसका लागि लामो इतिहास बोकेको युरोपेली संघको एउटा ठूलो शहर म्याड्रिडसँग सहकार्य गर्न आफू तयार रहेको बताउनुभयो ।

म्याड्रिडका प्रमुख कारमेनाले पनि काठमाडौँ महानगरसँग सहकार्य गर्न आफू तयार रहेको बताउनुभयो । आगामी दिनमा दुई शहरबीचको सम्वन्धलाई थप मजबुत बनाउने कुरामा दुबै मेयर सहमत हुनुभएको छ ।

म्याड्रिडसँग काठमाडौँ महानगरपालिकाले गरेको यो उच्चस्तरको छलफल इतिहासमै पहिलो हो । म्याड्रिडका प्रमुख मान्युलाले समेत काठमाडौँका मेयरको स्पेन भ्रमणलाई निकै सम्मानका साथ हेर्नुभएको थियो । मेयर शाक्यसहितको टोलीलाई उहाँले उच्चस्तरको सम्मान दिनुभएको थियो ।

यही असोज २ गते सोमबार स्पेन प्रस्थान गर्नु भएका मेयर शाक्य मंगलबार स्पेन पुग्नु भएको थियो । उहाँले स्पेन भ्रमणका क्रममा मेड्रिडका मेयरसँगै त्यहाँका पर्यटन मन्त्री, गभर्नर, स्पेन चेम्वर अफ कमर्शसँग पनि छलफल गर्नुभयो ।

म्याड्रिडले काठमाडौँको हरियाली विकास, वातावरण, पर्यटन प्रवर्द्धन, पर्वतारोहण, स्मार्ट सिटी निर्माण, पूर्वाधार विकासका लागि सहयोग गर्ने सम्झौता समेत गरेको छ । नेपाल चेम्वर अफ कमर्श र स्पेन चेम्वर अफ कमर्शको उपस्थितिमा काठमाडौँ महानगरपालिकामा मेयर शाक्य र म्याड्रिडका प्रमुख मान्युलाबीच सम्झौता भएको हो ।

सो अवसरमा काठमाडौँ महानगरका कार्यकारी अधिकृत धनीराम शर्माको पनि उपस्थिति रहेको थियो । शाक्य शनिबार नेपाल फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया
सम्बन्धित