मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

बिन्ती छ, नेपाल आईडललाई जातीय आईडल नबनाऊँ !

- सरगम भट्टराई २०७४ असोज १ गते ११:०४

केही महिना अगाडि बिदेशी टेलिभिजनमा जस्तै गरी ताम,झाम र शानका साथ AP1 टेलिभिजनको रियलिटी शो शुरु भयो,’नेपाल आईडल’ जुन शो देश बिदेशका नेपालीहरुले कहिल्यै नसकिने हिन्दी धारावाहिकहरु हेर्न छोडेर हेरिरहेका थिए। जागिर देखि ब्यापार गर्नेहरु पनि नेपाल आईडल छुटाउनु हुन्न भन्दै समयमा घर फर्किरहेको देखिन्थ्यो भने चिया पसल देखि चौतारो र कार्यालय सम्म पनि नेपाल आईडलकै चर्चा थियो।

टेलिभिजन र ईन्टरनेटको पहुँच हुने जो कोही नेपाली र नेपाली भाषीहरुको मुखमा झुण्डेको एउटै वाक्य हुन्थ्यो,”यो हप्ता नेपाल आईडलबाट को बाहिरिएला? ”

अन्तत: हजारौ गलाहरुबाट छनोट गर्दा गर्दै गाला राउण्डको उत्कृष्ट बाह्र सम्म आउँदा यो कार्यक्रम मलाई पनि राम्रै लागेको थियो। निर्जीव बस्तु र बोट बिरुवा त संगीत सुनेर मनोरन्जन गर्छन् भने म संगीत प्रेमी मनुवालाई मन नपर्ने कुरै भएन। नेपाली गायनको क्षेत्रमा देशै भरिबाट यसरी प्रतिभाको खोजी गरिनु कम्तीको खुशीको कुरा थिएन।

नेपाली संगीतको बजार त्यति ठूलो छैन, त्यस माथि हिन्दी संगीतको प्रभावले गर्दा यसको बजार फस्टाउन सकेको छैन, हिन्दी गीत र चलचित्रको एक छत्र राज भईरहेको बेला बिस्तारै बामे सरेको संगीत क्षेत्रमा लुकेर रहेका प्रतिभा खोजी गर्नु आर्थिक र प्राविधिक रुपमा चुनौति नहुने कुरै भएन।

निश्चय पनि यो कार्यक्रम प्रतिभाको खोजीका लागि हो, त्यस भन्दा पनि अगाडि सोच्ने हो भने यो आयोजक, प्रायोजकको ब्यापार पनि हो, जसमा उल्लेख्य लगानी भएको छ र त्यही अनुरूप फाईदा खोज्नु अन्यथा पक्कै होईन।

प्रतिभाको खोजीको क्रममा हाम्रा केही दलहरुले छरेको जातीय बिउ जताततै उम्रियो। दर्शक श्रोता र प्रतिष्पर्धी गायकहरुका कथित फ्यानहरुले आ-आफ्नो जात र क्षेत्र अनुसार यसलाई नयाँ रुप दिए। प्रतियोगीहरुका फेक आईडी बनाएर एक अर्कामा असाध्यै नीच स्तरका गाली गलौजमा फ्यानहरु उत्रिरहँदा प्रतिष्पर्धीहरु एउटै कक्षमा भातृत्व र हार्दिकता पोखिरहेका थिए। आफ्ना प्रतिष्पर्धी मित्रहरुले नेपाल आईडलको मन्च छोडेर जाँदा भक्कानिएर रोएका थिए।

हुन त आ-आफ्ना मनपर्ने प्रतियोगीहरुको समर्थन गर्नु या तारिफ़ गर्नु सामान्य कुरा हो तर बिशेष गरी केही हप्ता अगाडि नेपाल आईडलको मन्चमा आएका गायक रामकृष्ण ढकालको अभिव्यक्तिलाई लिएर सामाजिक संजालमा जातीयताको यति नराम्रो रंग छरियो कि कहिल्यै जातीयताको नजर नपुगेको संगित क्षेत्रमा बिवाद ल्याउने चेष्टा गरियो।

यसो त पछिल्ला टप १२ प्रतिष्पर्धीहरु दर्शककै भोटको कारणले नेपाल आईडलको मन्च छोडेर जानुपर्ने नियम बारे प्रश्न उठाउन सकिएला। एक सिम एक भोटको ब्यवस्था तथा जज र दर्शक दुबैको बराबरी मूल्यांकन पछिको निर्णय पछिको छनोट गरेको भए वास्तविक क्षमता भएका प्रतिभाहरुको छनोट हुन सक्थ्यो होला तर त्यसको पछाडिका विविध आर्थिक र प्राविधिक कुराहरुले त्यसो गर्न पनि सम्भव भएन।

गत दुई हप्ता अगाडिको ईलिमिनेसन राउण्डमा दर्शक श्रोताको कम भोट पाउने एक जना गायकले नेपाल आईडलको मन्च छोडेर जानुपर्ने थियो तर जजहरुले त्यो दिन आफ्नो बिशेष अधिकार प्रयोग गरी त्यस दिनलाई ‘नो ईलिमिनेशन डे’ बनाए अर्थात त्यो हप्ता कुनै प्रतिष्पर्धीले नेपाल आईडलको मन्च छोडेर जानु नपर्ने बनाए, जसले नेपाल आईडलको दौडलाई एकाएक ट्विष्ट गरिदियो।

सामाजिक संजालमा केहीले टिप्पणी गरे: नेपाल आईडलले ठूलो बेईमानी गर्यो, आफ्नो मनपर्ने प्रतियोगी आउट हुने डरले नो ईलिमिनेशन डे बनाईयो, जजहरु पूर्वाग्रही भईदिए, जजहरुले सिमित प्रतियोगीहरुलाई काखी च्याँपे, गेष्ट जजहरु बिशेष गरी रामकृष्ण ढकाल जातिवादी देखिए, मन्चमा फलानो गायकलाई बोलाईएन, फलानो गायकका गीतहरु गाईएन, जजहरुले यस्तो बोले, यस्तो बोलेनन् आदि आदि..

राजनीतिक घटनामा केहि सन्तुलन खलबल हुदा अदालतको ढोका ढकढकाउने चलन बढिरहेकै बेला नेपाल आईडलमा जजहरुले घोषणा गरेको ‘नो ईलिमेशन डे’ निर्णयका बिरुद्दमा काठमांडौ जिल्ला अदालतमा मुद्दा पर्यो,जुन जायज़ थियो या थिएन त्यो थप छलफलको बिषय बन्न सक्ला तर यसकै बिषयमा भएका समर्थन र बिरोधले नेपाल आईडल शो लाई थप चर्चित बनायो, अन्तत: दुबै पक्षको छलफलमा यो मुद्दा खारेज भए भए पछि थप भोट नगरी पूरानै भोटिंगको आधारमा एक जना प्रतियोगी नेपाल आईडलको मन्च छोडेर जाने ब्यक्तिमा धेरैले रुचाईएका प्रतियोगी सागर आले मगर हुन गए। यस घटनाले के सिद्द गरेको छ भने निर्णायक मण्डलले सागर आले नेपाल आईडलको मन्चबाट बाहिरिएको हेर्न चाहदैन थिए।

प्रतियोगिताको नियम नै हो अन्तत: केहि अंक तल माथिको आधारमै उत्कृष् ब्यक्ति छनोट गरिनुपर्छ, अन्यथा सर्बोत्कृष्ट ब्यक्ति छान्न सकिने कुरै भएन। नेपाल आईडलको फर्म्याट अनुसारको भोटिंग पद्धतिमा पहिल्यै छलफल हुनुपर्थ्यो तर त्यसो नभए पछि बिशुद्द प्रतिभाको छनोट गर्ने मन्चमा कम भोट पाएकै आधारमा बाहिरिनु कम पिडाको बिषय हुनै सक्दैन तर यो कार्यक्रमकै नियम मानेर सहभागी भएपछि त्यस बारे औँला उठाईरहनु पनि राम्रो पक्कै होईन।

को बन्ला नेपाल आईडल?

फ़ाइनल राउण्डमा प्रवेश गरेका तीन प्रतियोगी बुद्द लामा,प्रताप दास र निशान भट्टराई मध्ये को नेपाल आईडल बन्ला भनेर दर्शकको ध्यान केन्द्रित भएको छ। उत्कृष्ट तीन प्रतियोगीहरुका आ-आफ्नै क्षमता छन् जसलाई अवमूल्यन गरिनु हुन्न। तर न्याँयको आँखाले हेर्ने हो भने यी तीन मध्ये एक जना उत्कृष्ट अवश्य छ।तीन फ़रक फरक जाति भएकै आधारमा जातीय आँखाले उनीहरुलाई मूल्यांकन गरिनु गीत संगीतको हत्या गरिनु हो, सामाजिक संजालमा जजहरु र प्रतियोगीहरु बारे लगाईएका आरोपहरुलाई हो मा हो गर्दै जाने हो भने न त नव प्रतिभाहरु फूल्ने छन् न त यस्ता गुणस्तरीय रियलिटी शो हरुले नै निरन्तरता पाउने छन्। सामाजिक संजालमा आएका अत्यन्तै उच्छृंखल र असभ्य शब्दहरुले हामी कतातिर गईरहेका छौँ भन्ने कुरा स्पष्ट देखाईरहेको छ।

गीत संगीत जस्तो सबैको मुटुको ढुकढुकीलाई जात र धर्मकै आधारमा बिभाजन गरेर मूल्याँकन गर्दै जाने हो भने हामीलाई नारायण गोपालको आत्माले के भन्ला? अरुण थापाको आत्मा कति रोला? झलकमान र फत्तेमानका आत्माहरुले के ठान्लान्? तारा देवी, अरुणा लामा र अम्बर गुरुङका आत्माहरुले हामीलाई कति धिक्कार्लान् ?

त्यसैले मेरो बिन्ती छ, नेपाल आईडललाई जातीय आईडल नबनाईयोस्, आफ्नो नाकको र आँखाको साईज़ मिल्छ भन्दैमा उसको देवत्वकरण र अन्यको सत्तोश्राप गरेर संगीतको मिठासलाई बिषाक्त नबनाईयोस्।अबका तीन प्रतियोगीहरु जसले जिते पनि हाम्रै प्यारा भाइहरुले जित्ने हो, नेपाल आईडलको उपाधि त एउटाले जित्ला तर हाम्रो मन सबैले जितेका छन् ।

हामीले भोट दिएर चुनेका ग़लत प्रतिनिधिहरुले गर्दा देशमा सदियौँ देखिको भाइचाराको अवस्था कमज़ोर भएको बेला त्यस बिरुद्द चनाखो हुनु र उत्तम बिकल्प छान्नुको सट्टा हाम्रो मन र मस्तिष्कलाई शितल बनाउने हाम्रा नवोदित प्रतिभाहरुको मन दुखाउने काम कृपया नगरौँ। कलाकारलाई जात, भात र नाक हेरेर हैन क्षमता हेरेर माया गरौँ।

प्रतिक्रिया
सम्बन्धित