शुक्रबार, ६ असोज २०७४
DainikNepal.com
शुक्रबार, ६ असोज २०७४

राप्रपा प्रजातान्त्रिकले गर्‍यो ‘कडा’ निर्णय, कमल थापाका थुप्रै केन्द्रीय सदस्य भित्र्याउँदै

दैनिक नेपाल २०७४ भदौ ३ गते १४:२३

काठमाडौं, ३ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले नयाँ पार्टी गठनका लागि कुनै पनि समस्या नरहेको भन्दै बिचलित नभइ बस्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेको छ ।

काठमाडौंमा शनिबार बसेको राप्रपा (प्रजातान्त्रिक)को केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले निर्वाचन आयोगमा पार्टी दर्ताको प्रक्रियामा रहेकाले विपक्षीहरूले चलाएको कुनै पनि भ्रममा नपर्न अपील गर्ने निर्णय गरेको हो । राप्रपा (प्रजातान्त्रिक)का प्रवक्ता किरण गिरीले राप्रपाको हेटौँडा बैठकबाट विभिन्न भ्रमहरू फिजाइएको भन्दै बैठकले खेद व्यक्त गरेको जानकारी दिनुभयो ।

‘अध्यक्षज्यूले पार्टी निर्वाचनको प्रक्रियामा रहेको जानकारी केन्द्रीय कार्यसमितिलाई गराउनु भएको छ’, प्रवक्ता गिरीले भन्नुभयो, ‘राप्रपाका केही नेताहरूबाट भएका मानमर्दन र तल्लोस्तरको गालीगलौजप्रति ब्रठकले आपत्तिजनाएको छ ।’ राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शम्शेर राणाले केही दिनभित्रै सर्वोच्च अदालतले आफूहरूको पक्षमा फैसला गरेर न्याय दिनेमा आफू आशावादी रहेको बताउनुभएको छ ।

‘तपाईहरू ढुक्क भएर बस्नुस् । हामीसँग नयाँ दल दर्ताका लागि आवश्यक संख्या छ’, अध्यक्ष राणाले बैठकमा राख्नुभएको धारणा उदृत गर्दै गिरीले भन्नुभयो, ‘केही साथीहरूलाई बन्धक बनाएर राखिएको छ । हामी पनि हेर्छौ । कति दिन बन्धक बनाइँदो रहेछ । तैपनि हामीसँग आवश्यक संख्या छ ।’

नेता दीपक बोहराले अब पार्टीलाई निर्वाचन केन्द्रित बनाउनु पर्नेमा जोड दिनुभएको थियो । उहाँले राप्रपालाई कमल थापाले गठीका रुपमा चलाउन खोजेपछि बाध्य भएर आफूहरू नयाँ दल दर्ताका लागि अगाडि बढेको बैठकमा जानकारी गराउनु भएको थियो । ‘पार्टीलाई संस्थागत र लोकतान्त्रिक प्रक्रियाबाट चलाउनु पर्छ’, बोहराको भनाइ उदृत गर्दै गिरीले भन्नुभयो, ‘राप्रपाबाट अझै थुप्रै केन्द्रीय सदस्य र सांसदहरू हामीतिर आउँछु भनेर भन्नुभएको छ । उहाँहरूलाई हामीले छिट्टै स्वागत गर्ने छौँ ।’

बैठकमा अध्यक्ष राणाका साथै रामचन्द्र राय, दीपक बोहरा, हरिबहादुर बस्नेत, दुर्गा श्रेष्ठ, रामकुमार सुव्वा, जगत गौचनलगायतका नेताहरूले धारणा राखेको प्रवक्ता गिरीले जानकारी दिनुभयो ।

राप्रपा (प्रजातान्त्रिक)ले राप्रपाको हेटौँडामा जारी बैठकबाट विभिन्न भ्रम र मानमर्दन गर्ने खालका कार्य गरेको भन्दै आपत्ति जनाएको छ । साथै त्यस्ता कार्य नगर्न चेतावनी दिएको गिरीले बताउनुभयो । बैठकमा ६२ जना केन्द्रीय सदस्य र २० जना सांसद उपस्थित रहेको प्रवक्ता गिरीले दावी गर्नुभएको छ ।

केन्द्रीय सदस्य सगुनसुन्दर लावतीले पनि बैठकमा सबै केन्द्रीय सदस्य र सांसदहरू उपस्थित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नयाँ पार्टी दर्ताका लागि अहिलेसम्म भएको प्रक्रियाका विषयमा जानकारी दिनु बैठक बोलाइएको हो । अध्यक्ष लगायतका शीर्ष नेताहरूले आवश्यक संख्या रहेको र ढुक्क भएर बस्न आह्वान गर्नुभएको छ ।’

प्रतिक्रिया
सम्बन्धित