शनिबार, २ मंसिर २०७४
DainikNepal.com
शनिबार, २ मंसिर २०७४

लेखराज भट्टका कारण माओवादीको पत्रकार संगठनमा खैलाबैला

दैनिक नेपाल २०७४ भदौ ३ गते १३:४६

काठमाडौं, ३ भदौ। नेकपा माओवादी केन्द्रका प्रदेश नम्बर ७ का इञ्चार्ज लेखराज भट्टले आफू निकटका पत्रकारलाई केन्द्रीय सदस्यको टिकट दिन ‘भिटो’ प्रयोग गरेको भन्दै माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टरमा खैलाबैला मच्चिएको छ ।

नेपाल पत्रकार महासंघको महाधिवेशनमा प्रदेश नम्बर ७ बाट केन्द्रीय सदस्यको टिकट वितरणमा पार्टीको पावर प्रयोग गरेर आफ्ना मान्छेलाई अगाडि सारेको भन्दै प्रेस सेन्टरका अन्य पत्रकारहरु विरोधमा उत्रिएका छन् ।

भदौ ४ र ५ गते काठमाडौंमा हुने नेपाल पत्रकार महासंघको महाधिवेशनमा कांग्रेस निकट प्रेस युनियन र माओवादी निकट प्रेस सेन्टरले सहकार्य गरेका छन् । जसअन्तर्गत प्रदेश नम्बर ७ बाट चुनिने २ वटा केन्द्रीय सदस्यका लागि युनियन र सेन्टरले १–१ जना उम्मेदवार उठाउने सहमती भएको थियो । तर सेन्टरबाट उम्मेदवार छनौटमा प्रदेश नम्बर ७ का इञ्चार्जसमेत रहेका नेता भट्टले आफूले ‘भनेको मान्ने’ श्याम भट्टलाई अगाडि सार्न दवाव दिएका थिए ।

७ नम्बर प्रदेशबाट केन्द्रीय सदस्यको उम्मेदवार बन्न प्रेस सेन्टरबाट ८ जना उम्मेदवार बन्ने प्रतिस्पर्धामा थिए । तर लेखराज भट्टले संगठनको अधिकारमाथि हस्तक्षेप गर्दै पार्टीको पावर प्रयोग गरेर श्याम भट्टलाई केन्द्रीय सदस्यका लागि उम्मेदवार चयन गरेका छन् । नेता लेखराज भट्टको उक्त निर्णयविरुद्ध प्रेस सेन्दर प्रदेश नम्बर ७ का सबै नेता तथा कार्यकर्ता एकजुट भएका छन् ।

पत्रकार श्याम भट्ट नेता लेखराज भट्टका सहयोगी ओमबिक्रम भाट ‘सरल’का साथी मानिन्छन् । उनै सरलको विशेष दवावमा लेखराजले आफ्नो पावरको प्रयोग गरी पार्टीसँग आस्था राख्ने अन्य पत्रकारको चित्त दुखाउने निर्णय गरेका बुझिएको छ ।

प्रदेश नम्बर ७ बाट केन्द्रीय सदस्य बन्न प्रेस सेन्टरका ७ नम्बर प्रदेशका संयोजक रामसिंह ठगुन्ना, सचिव पहल साउँद, पत्रकार महासंघका वर्तमान केन्द्रीय सदस्य भवानीसिंह ऐर, भुवन बोहरा लगायत ८ जना थिए । जसमध्ये श्याम भट्ट पनि एक हुन् । प्रेस सेन्टरको ७ नम्बर प्रदेश कमिटीले पत्रकार महासंघको केन्द्रीय सदस्यको उम्मेदवारका प्रत्यासी आठै जनाको नाम तयार गरेर छलफल गर्ने तयारी गरेको थियो ।

तर नेता लेखराज भट्टले पार्टीको ‘भिटो’ प्रयो गरेर श्याम भट्टलाई उम्मेदवार तोकिदिएपछि अन्य प्रत्यासीहरु आक्रोशित बनेका छन् । केन्द्रीय सदस्यका प्रत्यासीमध्ये भवानीसिंह ऐर र भुवन बोहराले त प्रेस सेन्टरका आदिकारिक उम्मेदवारविरुद्ध प्रदेश नम्बर ७ बाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा नै गरिसकेका छन् ।

‘पार्टीप्रति आस्था राखेर जनयुद्धकालदेखि नै पार्टीको पक्षमा कलम चलाउँदै आएका साथीलाई पाखा लगाएर हिजोका दिनमा पार्टीमा आएका व्यक्तिलाई उम्मेदवार बनाउने काम भएको छ,’ प्रेस सेन्टरको ७ नम्बर कमिटीका एक सदस्यले भने, ‘पार्टी नेताको यस्तो निर्णयविरुद्ध सबै साथीहरु एकजुट भएका छन् । असन्तुष्ट साथीहरुको तर्फबाट बागी उम्मेदवारी दिने तयारी भइरहेको ।’

श्याम भट्ट २०६७ मा मात्रै माओवादी निकट तत्कालिन क्रान्तिकारी पत्रकार संघमा प्रवेश गरेका व्यक्ति हुन् । यसअघि उनलाई नेपाली कांग्रेस निकट पत्रकार मानिन्थ्यो । तर उनी कांग्रेस निकट पत्रकारको संगठन प्रेस युनियनमा पनि कुनै जिम्मेवारीमा भने थिएनन् ।

‘पार्टीलाई आवश्यक पर्दा कुनै काम नगर्ने, आफ्नो स्वार्थका लागि नेताहरुको खुट्टा मोल्ने प्रबृत्तिले प्रसय पाएको छ,’ पत्रकार महासंघको महाधिवेशनमा प्रदेश नम्बर ७ बाट केन्द्रीय सदस्य बनाउने सम्बन्धमा भएको निर्णयप्रति प्रतिक्रिया दिँदै माओवादी केन्द्रका एक प्रभावशाली केन्द्रीय नेताले भने, ‘यस्तो निर्णयविरुद्ध पार्टीका साथीहरु पनि लागेका छन् । जनयुद्ध र पार्टीको मूल्य मान्यताप्रति प्रतिबद्ध साथीहरुका लागि यो निकै घातक निर्णय हो । यसले माओवादीलाई झन् कमजोर बनाउने देखिएको छ ।’

माओवादीका केही नेताले लेखराज भट्टले ‘भिटो’ प्रयोग गरेर गरेको उक्त निर्णयविरुद्ध अध्यक्ष प्रचण्ड र पार्टी प्रवक्ता पम्फा भुसाललाई ज्ञापन पत्र बुझाउने समेत तयारी गरेका छन् । आफूहरुको मागप्रति ध्यान नदिइए पार्टीमा बस्नुको औचित्य समेत नरहने ती नेताको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित