बुधबार, ७ भदौ २०७४
DainikNepal.com
बुधबार, ७ भदौ २०७४

नेताज्यू,तपाईं पनि सार्वजनिक सवारीमा ?

निर्मल भट्टराई २०७४ साउन २८ गते ८:०७

म माईतीघरबाट भक्तपुर फर्कदैं थिएँ । बसस्टपमा बनेपा—धुलिखेल जाने बस घ्याच्च माईतीघर बसस्टपमा रोकियो । म चढें । सबभन्दा पछाडिको एक सीट खाली रहेछ । म धावकीय गतिमा दौडेर सो सीटमा बसें । केही यात्रुहरुले चिनेकोजस्तो गरेर मतिर हेरे । एउटा कालो मास्क लगाएको मभन्दा अगाडिको सिटमा बसेको अधबैंशे मतिर फर्केरमुसुक्क हाँस्यो ।

“नमस्कार नेताज्यू”

मैले नमस्कार फर्काएँ । मलाई किन हो कुन्नि नेताज्यू भनेर सम्बोधन गरेको त्यति मन पर्दैन । लोकतन्त्रको लागि, सामाजिक परिवर्तनको लागि आफूले सकेको योगदान गरेको हो । जहीं तहीं नेताज्यूको मान पदवी मेरा लागि सौखको विषय होईन, बोझको विषय हो । फेरि निधार र आँखाको भरमा मैले उसलाई चिन्नसकेको अवस्था थिएन । म असमन्जस्यमा परें ।
उसले मास्क तल सार्यो र अनुहार मतिर फर्कायो ।

“नेताज्यूले मलाई चिन्नु भएन क्यारे । सम्झनुस् त एकपकट ”

“मैले तपाईंको नाम खुट्याउन सकिन”—मैले भनें ।

“चुनाव सकिएपछि त नेताले कसलाई सम्झन्छन् र ? सबै नेता उस्तै त हुन् नि !” उसले आक्रोश पोख्यो ।

उसको अगाडि निरीहता प्रकट गर्नु बाहेक मसँग कुनै विकल्प थिएन । वरिपरि बसेका यात्रुहरु उसकै समर्थनमा रहेको भाव दर्शाउदै थिए ।

यस्तो लाग्दथ्यो मानौं मैले कुनैबेला भेटेको त्यो यात्रुलाई नचिन्नु मेरो अपराध थियो ।

“म सागाँको गोकुल क्या”—उसले भन्यो ।

“ए अँ हगि म त कस्तो हुस्सु भएको ? तपाईं र मेरो धेरै बर्ष पहिले तपाईंकै टोलमा एउटा भेलामा भेट भएको होइन ?” मैले सम्झें ।

“अँ त्यो दिन तपाईंले मेरो घरमा खाना खाएको होइन ?”

“हो,” मैले त्यो प्रशङ्ग नसम्झिए पनि सम्झिएको अभिनय गरें ।

“अनि आज त सार्वजनिक सवारीमा चढ्नु भएछ । आज आफ्नो गाडी चाँहि कता गयो नि ?”

“मेरो निजी गाडी छैन । म सधैं सार्वजनिक सवारी साधनमा यात्रा गर्छु”—मैले भनें ।

“सिंहदरवारको त्यत्रो उच्च ओओदामा पुगेको मान्छे, एउटा नाथे गाडी पनि किन्ने पैसा पनि कमाउन सक्नु भएन ? तपाईंले राजनीति गरिखानु हुन्न ?” उसले निष्कर्ष सुनायो ।

“म गाडी र महल जोड्ने पैसा कमाउन राजनीतिमा लागेको होईन”— मैले पनि आफ्नो निष्कर्ष सुनाएँ ।

“ पुरानो आदर्श, नैतिकता र इमान्दारीले अब राजनीति गर्न सकिन्छ र नेताज्यू ?” उसले ओठ लेप्र्यायो ।

“नैतिकता, आदर्श र इमान्दारी पनि नयाँ र पुरानो भन्ने हुन्छ र ? ” मैले प्रतिप्रश्न गरें ।

“भनेर के हुन्छ र नेताज्यू ? तपाईंभन्दा धेरै पछि राजनीतिमा आएका तपाईंको पार्टीमा आएका नेताले ओहोदामा रहँदा गाडी बङ्गला जोडेको कसले देखेको छैन र ? उनीहरुको कत्रो शान कत्रो रवाफ । तपाईं त ख्वै”—उसले ‘सहानुभूतिपूर्वक’ मेरो शीरदेखि तीरसम्म निहाल्यो ।

बानेश्वरको जामबाट गाडी अगाडि बढ्न सकेको थिएन । मलाई त्यो साथीसँग चाँडोभन्दा चाँडो छुट्न मन थियो । समय कटाउन मैले उसलाई एउटा हीरा खाने मुसाको कथा सुनाउन थालें ।

“एउटा हीरा पसलमा कुनै बेला एउटा मुसो पसेछ । मुसाले हीरा खाएर हैरान पार्न थालेछ । हीरा पसलेले हीरा खाने मुसा पत्ता लगाउन एक व्यक्ति नियुक्ति गरेछ । उसले घर भरिका सबै मुसालाई एउटा कोठामा जम्मा पारेछ । एउटा मुसो चाँहि मुसाहरुको समूहभन्दा छुट्टै बस्दथ्यो । उसको चाल डाल अरु सबै मुसाभन्दा फरक थियो । त्यो व्यक्तिलाई हीरा खाने मुसा पत्ता लगाउन अप्ठ्यारो परेन । ”

“मतलव ?”

“मतलव मलाई देशको हीरा (राजश्व) खाएर अलग्गै बस्नु छैन । जनताभन्दा छुट्टै शान र रवाफमा बाँच्नु छैन । मेरो जीवनको लक्ष्य त्यो होइन । विल्कुल होईन । ”—मैले प्रष्ट्याउन खोजें ।

“खै के खै के ?” ऊ मसँग सहमत देखिएन ।

बस सूर्यविनायक पुग्यो । गोकुल र म छुट्टियौं । म एउटा प्रशिक्षण कार्यक्रममा जानु थियो । एक घागडान नेताले ‘असल नेतामा हुनुपर्ने गुणहरु’ विषयमा प्रशिक्षण दिने कार्यक्रम थियो । उनको धारा प्रवाह प्रवचन शैली लोभ लाग्दो थियो । उनले भियतनामी कम्युनिष्ट नेता होचिमिन्हको असल नेता काम गर्ने बेला जनताको अगाडि र खानेबेला जनताको पछाडि बस्नुपर्छ भन्ने भनाई सुनाए । सबैले ताली बजाए ।
कार्यक्रम पछि जलपानको आयोजना गरिएको थियो । सहभागीहरु लाईन लागेर जलपानमा सहभागी हुदैथिए । सहभागीले खानु अगावै नेताहरुलाई मञ्चमै पकवान टक्र्याई सकिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित