सोमबार, ६ कार्तिक २०७४
DainikNepal.com
सोमबार, ६ कार्तिक २०७४

सुष्मा स्वराज नेपाल आएकै बेला भारतविरुद्ध केपी ओलीले लिए अर्काे बोल्ड निर्णय !

भारतीय दूतावासको भोजमा देउवा र प्रचण्ड भने जाने

दैनिक नेपाल २०७४ साउन २७ गते १०:२२

काठमाडौं, २७ साउन । भारतविरुद्ध खरो रुपमा प्रस्तुत हुँदै आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतीय प्रस्ताव अस्वीकार गर्दै कार्यक्रम नै बहिष्कार गरेका छन् ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजको स्वागतमा शुक्रबार लैनचौरस्थित भारतीय दूतावासमा आयोजित कार्यक्रममा सहभागी हुन आएको प्रस्ताव अस्वीकार गर्दै ओलीले कार्यक्रम नै बहिष्कार गरेका हुन् । यद्यपी उनको सचिवालयले यसलाई बहिष्कार भन्न मानेको छैन् । कुटनीतिक भाषामा अर्काे ठाउँमा कार्यक्रम तय भएकाले सहभागी हुन नसक्ने भनेको छ ।

भारतीय विदेशमन्त्री स्वराज बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिमस्टेक) बैठकमा सहभागी हुन विहिबार मात्रै काठमाडौं आइपुगेकी थिइन् । उनकै स्वागतमा कार्यक्रमसहित भारतीय दूतावासले आज साँझ ५ बजेदेखि भोजको पनि आयोजना गरेको छ । दूतावासको यो कार्यक्रममा ओली सरिक नहुने भएका छन् ।

उसो त भारतको अघोषित नाकाबन्दीदेखि ओली भारतीय दूतावास गएका छैनन् । अहिलेसम्म भएका सबै कार्यक्रम बहिष्कार गरेका छन् । यसपटक पनि ओली कार्यक्रममा सहभागी हुननसक्ने कुराको पुष्टि उनका स्वकीय सचिव अनिश दाहालले गरेका छन् । दाहालले कुटनीतिक भाषामा भने– ‘भोलि अध्यक्षज्यूको अन्त नै कार्यक्रम तय भएको छ । भोजमा सरिक हुनुहुन्न ।’

समाचार स्रोतका अनुसार ओली शुक्रबार मुस्ताङ जाँदैछन् । शुक्रबार पोखरा हुँदै मुस्ताङ जान लागेका ओली तीन दिन उतै विताउने छन् ।

भोजमा सरिक भइदिन अनुरोध गर्दै भारतीय राजदूत मञ्जीव सिंह पुरी एक साता अघि मात्र ओली निवास बालकोट पुगेका थिए । तर, ओलीले टाउको मात्र हल्लाएका थिए । आउने वा नआउने भन्नेबारे जानकारी गराएका थिएनन् ।

राजदूतसँग कुनै जवाफ नदिएका ओली भारतीय विदेशमन्त्री स्वराज नेपाल आएका बेला राजधानी बाहिर जानुलाई कुटीनितक रूपमा अनेकन चर्चा समेत हुन थालेको छ । स्वराजलाई भेट्नु पर्छ भनेर छल्नकै लागि ओली राजधानी बाहिर जान लागेको कतिपयको टिप्पणी छ ।

नेपालका प्रधानमन्त्री, कयौं मन्त्री, नेता, पत्रकार, वुद्धिजीविलाई आह्वान गरिएको भोजमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने सहभागी बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित