सोमबार, ६ कार्तिक २०७४
DainikNepal.com
सोमबार, ६ कार्तिक २०७४

सुष्मा स्वराज र राजपाका नेताहरूबीच मध्यराति वार्ता

दैनिक नेपाल २०७४ साउन २७ गते ९:१६

काठमाडौं, २७ साउन । राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरसहितका शीर्ष नेताहरूले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन् ।

बिहीबार राति नौ बजे काठमाडौंको एक होटेलमा राजपाका शीर्ष नेताहरूले स्वराजलाई भेट गरेका हुन् । भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक अवस्था, संविधान संशोधनलगायतका विषयमा कुराकानी भएको उच्च स्रोतले जनाएको छ ।

भारतीय विदेशमन्त्री स्वराजले राजपा नेपालका नेताहरूलाई निर्वाचनमा जानका लागि सुझाव दिएको स्रोतले जनाएको छ । ‘तपाईहरू निर्वाचनमा सहभागी हुँदा राम्रो हुन्छ’, स्वराजको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘प्रधानमन्त्री शेरबहादुर देउवाजी जत्तिको लचक प्रधानमन्त्री तपाईहरूले पाउनु हुँदैन ।’

राजपा नेपालका अध्यक्षमण्डलका अध्यक्ष महेन्द्र राय यादवले भारतीय विदेशमन्त्री स्वराजसँगको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको जानकारी दिनुभयो । ‘सुष्मा स्वराजसँग त्यस्तो केही कुराकानी भएको होइन’, उहाँले भन्नुभयो, ‘सबैसँग भेटवार्ता गर्ने क्रममा हामीले पनि उहाँसँग भेट गरेका हौँ ।’

नेपालको राजनीतिक विषयमा कुराकानी भयो कि भएन भन्ने प्रश्नमा शीर्ष नेता रायले भन्नुभयो, ‘सबै कुराकानी भयो ।’

भारतीय विदेशमन्त्री स्वराजलाई भेट्न राजपा नेपालका संयोजक महन्थ ठाकुर, अध्यक्षमण्डलका अध्यक्षहरू राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिलकुमार झा पुग्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित