सोमबार, ६ कार्तिक २०७४
DainikNepal.com
सोमबार, ६ कार्तिक २०७४

अब माओवादी रहेन, केन्द्रमात्रै बाँकी छः केपी ओली (फोटो फिचर)

माओवादी नेतासहित ३५७ जना एमाले प्रवेश

दैनिक नेपाल २०७४ साउन २६ गते १९:०३

काठमाडौं, २६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रमा केन्द्रमात्रै बाँकी रहेको भन्दै तिखो टिप्पणी गरेका छन् ।

विहिबार केन्द्रीय कार्यालय धुम्वाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने– ‘यहाँ धेरै साथीहरु माओवादी केन्द्रबाट आउनु भएको छ । माओवादी अब पार्टी रहेन, केन्द्र भयो । जो छ केन्द्रमा छ, बाँकी रहेन ।’

माओवादी नामको बामपन्थी र कामको दक्षिणपन्थी भएको उदाहरण प्रस्तुत गर्दै ओलीले अहिलेसम्म माओवादीमा रहेकाहरु कसरी त्यस पार्टीमा रहन सकेको भन्दै आश्चर्य ब्यक्त गरे । ‘रुखलाई पातसँग जोडेर अड्याउने सानो भेट्नो हुन्छ । भेट्नो सानो हुँदाहुँदै पनि कसरी अड्याउँछ ? कसरी अड्याउँछ भने त्यहाँ जीवनतत्व हुन्छ । जीवन तत्व नभएपछि पात झर्छ । पार्टीमा नीति, विचार र आदर्शको जीवनतत्व नभएपछि त्यो अडिंदैन,’ उनले भने ।

माओवादीमा राजनीतिक नीति, सिद्धान्त र विचारको जीवनतत्व नभएको उनको बुझाई छ । ‘त्यहाँ लाभपन्थ छ, पदपन्थ छ । हिजो आफ्नै टाउकोमा आगो सल्काउ भनेर हिंडेका हुन्थे’ ओलीले भने, ‘आज दक्षिणपन्थी भन्ने शब्द तिनीहरुका डिक्सनेरीमा छैन । कम्युनिस्ट आन्दोलनलाई कसरी कमजोर बनाउन सकिन्छ उनीहरु त्यतैतिर छन् ।’

माओवादी प्रगतिशील र बामपन्थी नरहेको उदाहरण दिंदै ओलीले राजनीतिक त्यो राजनीतिक पार्टी भन्दा पनि पारिवारिक सञ्जालजस्तो भएको बताए ।

‘पहिले अर्कै नाम थियो, अनि माओवादी, त्यसपछि एमाओवादी, त्यसपछिको माओवादी केन्द्र पार्टीको नाम चारपल्ट फेरिइसक्यो । नेता एकजना बाहेक कोही देख्नु भएको छ ?’ ओलीको प्रश्न थियो, ‘०४५मा त्यो पार्टीको नेता को थियो ? त्यही । ०५५ सालमामा को थियो ? त्यसबेला पनि त्यही । ०६५ सालमा को थियो ? त्यसबेला पनि त्यही । अव ७४ साल आउन लाग्यो, को छ हेर्नु भएको ? नयाँ एउटा उम्रिन पाउँदैन । एमाले त त्यस्तो होइन, पार्टी हो ।’

नीति, सिद्धान्त, विचार केही नभएपछि एउटा जमिन्दारी संस्थाजस्तो आफ्नो परिवार मातहत संगठनलाई माओवादीले राख्ने गरेको उदाहरण ओलीले प्रस्तुत गरे । ‘आफ्ना छोराछोरीलाई जिताउन पर्यो भने के गर्छन् हेर्नुस् त ? यतिका दिनसम्म तपाईंहरु कसरी त्यस्तो पार्टीमा बस्नु भो होला ?’ ओलीले भन, ‘एमालेमा यस्तो जमिन्दारी त कल्पना पनि गर्न सकिंदैन । यो पार्टी हो । यसका निर्णय प्रक्रिया र विधि छन् । यहाँ बादशाह र त्यसका छोराछोरी र अरु नोकरचाकर छैनन् ।’

एमाले मुख्यालयमा आयोजित कार्यक्रममा सिरहाका माओवादी नेता गणेश अधिकारी र वैद्य समूहका केही कार्यकर्तासहित ३५७ जनालाई पार्टी प्रवेश गराइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित