शनिबार, २ मंसिर २०७४
DainikNepal.com
शनिबार, २ मंसिर २०७४

यू-१९ विश्वकप छनोटः सिंगापुरलाई ४ विकेटले हराउँदै नेपालको विजयी यात्रा सुरु

दैनिक नेपाल २०७४ साउन २ गते १४:३७

काठमाडौं, २ साउन । आइसीसी यू–१९ विश्वकप क्रिकेटको एशियन छनोटमा सिंगापुरलाई हराउँदै नेपालले विजयी सुरुवात गरेको छ ।

सन् २०१८ मा न्यूजिल्याण्डमा हुने आइसीसी यु–१९ विश्वकप क्रिकेटको छनौटअन्तर्गत सोमबार सम्पन्न समूह चरणको पहिलो खेलमा नेपालले सिंगापुरलाई उसकै घरेलु मैदानमा ४ विकेटले पराजित गरेको हो ।

खेलमा घरेलु टोली सिंगापुरले दिएको ७४ रनको लक्ष्य नेपालले १७ दशमलव ३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालका लागि प्रनित थापा मगरले सर्वाधिक २३ रनको योगदान दिएका थिए। यस्तै, अनिल शाहले १९ रन जोड्दा रोहित कुमार पौडेलले ११ र पवन सराफ ४ रनमा अविजित रहे। सुरुवाती व्याट्सम्यान सन्दिप सुनार १ रन र आरिफ सेख ४ रनमा पेभिलियन फर्केका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली सिंगापुरले २९ ओभरमा अलआउट हुँदै ७३ रनको योगफल तयार पारेको थियो। नेपाली बलरसामु निरीह साबित भएको घरेलु टोली सिंगापुरका लागि ब्रिगु लायरले सर्वाधिक ४२ बनाएका थिए। यस्तै, सेन अग्रवालले ११ रन बनाउँदा अन्य व्याट्सम्यानले दोहोरो अंक नै जोड्न सकेनन् ।

सिंगापुरका कप्तान जनक प्रकाश, आर्यमान सुनिल र रोहन रंंगराजनले खाता नै खोल्न सकेनन्। सिंगापुरलाई सस्तैमा समेट्न नेपालका लागि कप्तान सन्दिप लामिछानेले सर्वाधिक ५ विकेट लिए भने साहब आलमले ३ तथा किशोर महतोले २ विकेट लिएका थिए।एसियन छनौटमा शीर्ष चार राष्ट्र नेपाल, सिंगापुर, अफगानिस्तान र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया
सम्बन्धित