शनिबार, २ मंसिर २०७४
DainikNepal.com
शनिबार, २ मंसिर २०७४

निर्वाचन आयोगलाई एमालेको तीनबुँदे ज्ञापनपत्र, सरकारलाई कडाइ गर्न माग (पत्रसहित)

दैनिक नेपाल २०७४ साउन २ गते १३:५२

काठमाडौं, २ साउन । प्रमुख प्रतिपक्षी नेकपा एमालेले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन र निर्वाचनसम्बन्धी कानून निर्माणमा पहल गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

सोमबार संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वमा आयोगको कार्यालय पुगेको एमालेको प्रतिनिधिमण्डलले प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवलाई तीन बुँदे ज्ञापनपत्र बुझाउँदै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन र निर्वाचनसम्बन्धी कानून निर्माणमा सरकारको तर्फबाट ढिलाइ भएकाले सकारात्मक पहल गर्न ध्यानाकर्षण गराएको हो । यसलाई अझ कडाइका साथ निरन्तरता दिनुपर्ने एमालेको माग छ ।

यस्तै, एमालेले निर्वाचनका लागि आवश्यक मतदाता नामावली अद्यावधिक गर्ने सन्दर्भमा आम मतदाताको सुविधा, सहजता र सरोकार समेतलाई दृष्टिगत गरी पर्याप्त समय र उपर्युक्त तथा आवश्यक प्रक्रिया अवलम्बन गर्न समेत आयोगलाई आग्रह गरेको छ ।

निर्वाचन भइसकेका जिल्लाका स्थानीय तहअन्तर्गत जिल्ला समन्वय समिति गठनमा देखिएको अन्योल र ढिलाइलाई अविलम्ब अन्त गर्न माग गर्दै एमालेले समिति गठन गर्न आवश्यक कार्य गर्न भनेको छ ।

श्री प्रमुख आयुक्तज्यु
निर्वाचन आयोग बहादुर भवन ।

विषयः मतदाता नामावली अद्यावधिक बारे ।

उल्लेखित सम्बन्धमा नेपालको संविधान बमोजिम स्थानीय तह, प्रदेश र संघीय व्यवस्थापिकाको निर्वाचन २०७४ माघ ७ गतेभित्र अनिवार्य रुपमा सम्पन्न गरिनुपर्छ भन्ने कुरामा पुनः जोड दिँदै निम्न विषयतर्फ निर्वाचन आयोगको निरन्तर पहल तथा प्रयासको लागि पार्टीको तर्फबाट माग गर्दछांंै ।

१) निर्वाचनका लागि आवश्यक मतदाता नामावली अद्यावधिक गर्ने सन्दर्भमा आम मतदाताको सुविधा, सहजता र सरोकार समेतलाई दृष्टिगत गरी पर्याप्त समय र उपर्युक्त तथा आवश्यक प्रक्रिया अवलम्बन गर्ने ।

२) निर्वाचन भइसकेका जिल्लाका स्थानीय तहअन्तर्गत जिल्ला समन्वय समिति गठनमा देखिएको अन्योल र ढिलाइलाई अविलम्ब अन्त गर्दै समिति गठन गर्न आवश्यक कार्य गर्ने ।

३) निर्वाचन क्षेत्र निर्धारण आयोग गठन र निर्वाचनसम्बन्धी कानून निर्माणमा सरकारको तर्फबाट भएको ढिलाइलाई लिएर निर्वाचन आयोगको सकारात्मक पहलतर्फ हाम्रो ध्यानाकर्षण भएको छ । यसलाई अझ कडाइका साथ निरन्तरता दिने ।

धन्यवाद ।
२०७४ साउन २ गते

सुवासचन्द्र नेम्वाङ्ग
नेकपा (एमाले) स्थायी कमिटी सदस्य
एवं उपनेता संसदीय दलको कार्यालय

प्रतिक्रिया
सम्बन्धित