शुक्रबार, ६ असोज २०७४
DainikNepal.com
शुक्रबार, ६ असोज २०७४

भरतपुर काण्डको फैसलाबारे प्रधानन्यायाधीश पराजुलीले के भने ?

दैनिक नेपाल २०७४ साउन १ गते २३:५६

काठमाडौँ, १ साउन । संसदबाट प्रधानन्यायाधीशमा अनुमोदित भएका सर्वोच्चका वरिष्ठत न्यायाधीश गोपाल पराजुलीले भरतपुर महानगरपालिकाको फैसला सम्बन्धमा मुख खोलेका छन् ।

व्यवस्थापिका संसदको सुनुवाइ विशेष समितिमा आइतबार भएको सुनुवाइका क्रममा सांसदहरुको जबाफ दिँदै प्रधानन्याधीश पराजुलीले भरतपुर महानगरपालिकाको चुनाव सम्बन्धी मुद्दामा सर्वोच्च छिट्टै निर्णयमा पुग्ने बताए ।

उनले भने – ‘मतगणना गर्ने कि फेरि मतदानमा जाने भन्ने विषयमा हामी छिट्टै निर्णयमा पुग्छौँ । असोज २ मा अर्को चुनाव छ । त्योभन्दा अघि कानुनअनुसार हामी निर्णयमा पुग्छौं ।’

सुनुवाइका क्रममा सांसदहरूले भरतपुर महानगरको निर्वाचन परिणाम सम्बन्धी मुद्दाको पेसी बारम्बार सर्नुको कारणदेखि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग र नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विवादसम्मका विषयमा चासो व्यक्त गरेका थिए ।

संसदीय समितिले पराजुलीको नाम आइतबार प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेको छ । उनले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट नियुक्तिसँगै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।

२०४७ मंसिरमा पुनरावेदन अदालतको अस्थायी न्यायाधीशका रूपमा सेवा प्रारम्भ गरेका पराजुली सर्वोच्चको अस्थायी र स्थायी न्यायाधीश हुँदै न्यायपालिकाको सर्वोच्च स्थानमा पुगेका हुन् । त्यसअघि उनी कानुन व्यवसायीका रूपमा सक्रिय थिए । उनले प्रधानन्यायाधीश पदबाट २०७५ वैशाख १५ गते अवकाश पाउनेछन् ।

प्रतिक्रिया
सम्बन्धित