शुक्रबार, ६ असोज २०७४
DainikNepal.com
शुक्रबार, ६ असोज २०७४

राजपा नेतृत्वलाई त्रिपाठी समूहले दियो अल्टिमेटम, पार्टी विभाजनको संघारमा

दैनिक नेपाल २०७४ साउन १ गते १८:५०


काठमाडौं, १ साउन । राष्ट्रिय जनता पार्टी नेपालका नेता हृदयश त्रिपाठीसहितको समूहले रुपन्देहीमा अलग भेला बोलाएर अध्यक्षमण्डललाई साउन १५ गतेसम्मको अल्टिमेटम दिएर विधान अनुमोदन गर्न चुनौती दिएको छ ।

रुपन्देहीको भैरहवामा आइतबार भएको भेलाले अध्यक्षमण्डलले जथाभावी निर्णय गरेर अगाडि बढेको भन्दै आपत्ति जनाएको हो ।

राजपा नेपालको संसदीय दलका मुख्य सचेतक एवम् नेता बृजेशकुमार गुप्ताले पार्टीको विधानलाई साउन १५ गतेभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाएर अनुमोदन गर्नुपर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

‘राजपा नेपाल बनेपछि अध्यक्षमण्डलका नाममा विभिन्न महत्वपूर्ण निर्णयहरू भएका छन्’, उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगमा राजपा नेपालको विधान बुझिइएको छ । त्यो विधान कस्तो छ भन्ने कुरा हामी कसैलाई थाहा छैन । छ जना नेताले कस्तो विधान बनाए त्यसका विषयमा हामीलाई थाहा दिनु पर्दैन ?’

भैरहवा भेलाले साउन १५ गतेभित्र पार्टीको नयाँ विधानलाई अनुमोदन गर्नुपर्ने अन्यथा अध्यक्षमण्डलले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएको छ । ‘साउन १५ गतेभित्र विधान अनुमोदन गराउनु पर्छ । भैरहवा भेलाको माग हो’, नेता गुप्ताले भन्नुभयो, ‘साउन १५ गतेभित्र हाम्रो मागको सुनुवाई भएन भने त्यसपछि भेला पुनः बोलाएर एउटा निर्णय गरेर अगाडि बढ्ने छौँ ।’

तपाईहरूले पार्टी विभाजन गर्न लाग्नु भए छ है ? भन्ने प्रश्नको जवाफमा नेता गुप्ताले भन्नुभयो, ‘त्यस्तो केही पनि होइन । भैरहवा भेलाका विषयमा अध्यक्षमण्डललाई जानकारी दिइएको हो । ५ नं. स्तरीय भेला बोलाएका हौँ । पार्टी विभाजन भएको छैन ।’

स्रोतका अनुसार पार्टीभित्रको आन्तरिक विवादका कारण हृदयश त्रिपाठीसहितका नेताहरूले अलग दल गठन गर्ने गरेर भैरहवा भेला बोलाएका हुन् । आइतबारको बैठकले प्रक्रिया पुगाएर नयाँ दल गठनसम्मको तयारी थालेको एक नेताले बताए ।

भेलामा राजपाका नेता हृदयश त्रिपाठीसहित शर्वेन्द्रनाथ शुक्ला, बृजेशकुमार गुप्ता, अकबाल अहमदलगायतका झण्डै एक सयजनाको सहभागिता नेताहरू सहभागी भएको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित