सोमबार, ९ साउन २०७४
DainikNepal.com
सोमबार, ९ साउन २०७४

बालिका ढलमा डुबेपछि एक्सनमा उत्रिए प्रधानमन्त्री, मन्त्री र सचिवहरु बोलाएर के भने ?

दैनिक नेपाल २०७४ साउन १ गते १७:५३

काठमाडौँ, १ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले उपत्यकामा विकास निर्माणका काम गर्दा सरकारी कार्यालयबीच समन्वय गर्ने संयन्त्र गठन गर्न निर्देशन दिनुभएको छ ।

सडकमा खाल्डा खुल्डी हुने, निर्माण एवम् विस्तारमा लामो समय लाग्ने, सडकमा काम गर्ने सरकारी निकायले समन्वय नगर्दा एउटाले सडक भत्काएर कालोपत्र हुने बित्तिकै अर्कोले खन्नेलगायतका कारणले सार्वजनिक जनजीवनमा असर परेपछि आज सम्बन्धित निकायका प्रमुखलाई बोलाएर प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिनुभएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै सहरी विकासमन्त्री प्रभु साहले उपत्यकाका सडकमा चलिरहेका काम एकीकृत योजना अनुरुप गर्ने विषयमा छलफल भएको बताउनुभयो ।

“विद्युत्, टेलिकम, खानेपानी, ढल र सडकले छुट्टछुट्टै काम गर्दा पटक/पटक सडक भत्काउनुपर्ने अवस्था छ, यसैले अब एकीकृत रुपमा योजना बनाउने विषयमा आजको बैठकमा छलफल भयो”–उहाँले भन्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले सडकमा गर्नुपर्ने काम गर्दा समन्वय गर्न एक संयन्त्र गठन गरेर नियमित समन्वय गर्न पनि निर्देशन दिनुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव चन्द्रकुमार घिमिरेले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका पूर्वाधार हेर्ने सचिवको संयोजकत्वमा अब समन्वय गर्ने संयन्त्र गठन हुने भएको छ ।

“सडकमा काम गर्दा सुरक्षाका उपाय अपनाउन पनि प्रधानमन्त्रीले निर्देश गर्नुभएको छ, अब सडकमा जुनसुकै काम गर्ने आयोजनाले सडक सुरक्षाका उपाय अपनाउनुपर्नेछ”–उहाँले भन्नुभयो । विकास निर्माणका काममा धेरै मन्त्रालय/निकाय सहभागी हुने भएकाले समन्वयात्मक तरिकाले काम गर्ने निर्णय आजको बैठकले गरेको सचिव घिमिरेले जानकारी गराउनुभयो ।

बैठकमा उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार, सहरी विकास मन्त्री प्रभु साह, मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्री, अर्थ सचिव डा शान्तराज सुवेदी, सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्याय, ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की, काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त डा भाइकाजी तिवारी, नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनीराज भण्डारी, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका महाप्रबन्धक महेशप्रसाद भट्टराई लगायतको उपस्थिति थियो ।

मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ््याउने काम छिटो सक्न, सडक विस्तारमा तीव्रता दिन, त्रिपुरेश्वर–नागढुङ्गा सडक विस्तार समयमै सक्न र निर्माणका कार्य नसकेका कारण उपत्यकाका सडकमा विविध समस्या हुने गरेकाले विशेष ढंगले काम गर्न पनि प्रधानमन्त्री देउवाले निर्देशन दिनुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

सडकमा आइपर्ने समस्या छिटो समाधान गर्न सहयोग पु¥याउन नै उच्चस्तरमा बैठक बोलाई छलफल गरिएको सचिव घिमिरेले बताउनुभयो । रासस 

प्रतिक्रिया
सम्बन्धित