सोमबार, ९ साउन २०७४
DainikNepal.com
सोमबार, ९ साउन २०७४

टेलिकमद्धारा मोबाइल एपमार्फत म्युजिक स्ट्रिमिङ सेवाको शुभारम्भ 

दैनिक नेपाल २०७४ साउन १ गते १७:२८

काठमाडौं, १ साउन । नेपाल टेलिकम र म्युजिक नेपाल प्रा.लि.को सहकार्यमा मोबाइल एपमार्फत म्युजिक स्ट्रिमिङ सेवाको औपचारिक रुपमा आज शुभारम्भ गरिएको छ । नेपाली संगीत क्षेत्रका गायक, संगीतकार, रचनाकार तथा उत्पादकहरुको उपस्थितिमा नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत प्रदिपराज उपाध्यायले सो सेवाको शुभारम्भ गर्नुभएको हो ।

उपाध्यायले मोबाइल एप्पमार्फत स्ट्रिमिङ सेवाको शुभारम्भ गर्दै राष्ट्रको सञ्चारको रुपमा रहेको नेपाल टेलिकम र देशकै अग्रणी संगीत उत्पादक कम्पनी म्युजिक नेपाल मिलेर नेपाली संगीतलाई केन्द्रित गरी मोबाइल एप्प उपलब्ध गराउन सफल भएकोमा खुशी ब्यक्त गर्नु भयो । उहाँले मोबाइल प्रयोगकर्ताका बीचमा यो एप्प लोकप्रिय हुने विश्वास ब्यक्त गर्दै आगामी दिनमा यसलाई थप सुविधासहित परिमार्जित गरिने बताउनु भयो ।

म्युजिक नेपालका प्रबन्ध निर्देशक सन्तोष शर्माले नेपाल टेलिकमका करिब १ करोड ५० लाख उपभोक्तामार्फत देशभर नेपाली संगीत उपलब्ध गराउन पाएकोमा खुशी ब्यक्त गर्नुभयो । उहाँले यो सहकार्यबाट संगीत क्षेत्रको आधिकारिक एप्पको रुपमा म्युजिक नेपाल एप्पले विश्वास जित्ने आशा व्यक्त गर्नुभयो ।

नेपाल टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले म्युजिक नेपाल एप्पमार्फत संगीत प्रेमी र कलाकारलाई नेपाली संगीत प्रवद्र्धनका लागि थप प्रोत्साहित गर्न भूमिका खेल्नुका साथै नेपाल टेलिकमको व्यवसाय विस्तारमा समेत सघाउ पुग्ने बिचार ब्यक्त गर्नुभयो ।  म्युजिक स्ट्रिमिङ सेवाबाट ग्राहकले एउटै प्लेटफर्ममार्फत असीमित संगीतको आनन्द लिन सक्नेछन् ।‘म्युजिक नेपाल’ मोबाइल एप्प डाउनलोड गरी सो मार्फत कुनै पनि विधामा अहिलेका लोकप्रिय गीतहरु मात्र नभई पुराना सदावहार नेपाली गीतहरु पनि चौविसै घण्टा सुन्न सकिने छ । त्यति मात्र नभई आफ्नो रुची अनुसारका गीतहरु छान्न, सूची बनाउन र संग्रहित गर्न पनि सकिने छ । आफूले रुचाएका गीतहरु फेसबुकमार्फत साथीभाईहरुसँग सेयर गर्न पनि सकिने छ ।

यो सेवा नेपाल टेलिकमका ग्राहकलाई मात्र उपलब्ध हुनेछ भने हाललाई पहिलो एक महिनाको लागि उपभोक्ता शुल्क नलिई  उपलब्ध गराइने छ । एक महिना पछि भने ग्राहकले शुल्क तिरेर साप्ताहिक वा मासिक रुपमा सेवा प्राप्त गर्न सक्नेछन् । डाउनलोड गरेको एप्प खोलेर आफ्नो मोबाइल नम्बर हाल्ना साथ प्राप्त हुने पिन नम्बरलाई भेरिफाई गरी यसको प्रयोग गर्न सकिने छ ।

मोबाइल डाटा प्रयोग गरी गीत डाउनलोड गर्दा डाटा शुल्क भने लाग्नेछ । साथै वाइफाई प्रयोग गरेर पनि कम्पनीका ग्राहकले संगीतको आनन्द लिन सक्नेछन् ।

हाललाई यो सेवा एन्ड्रोइड मोबाइलमा उपलब्ध हुनेछ भने छिट्टै आइओएसमा समेत उपलब्ध गराइने छ । यो सेवा मार्फत हाललाई नेपाली आधुनिक तथा सदावहार गीत संगीतहरु मात्र उपलब्ध भए पनि निकट भविष्यमा विदेशी गीत संगीतहरु समेत  उपलब्ध हुनेछन् ।
आगामी मंगलबार (२०७४ साउन ३ गते) देखि यो ‘म्युजिक नेपाल एप्प’ आम उपभोक्ताले प्रयोग गर्न सक्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित