शुक्रबार, ६ असोज २०७४
DainikNepal.com
शुक्रबार, ६ असोज २०७४

देउवा सरकारले फेरि लियो डीआइजी सिलवालसँग बदला, सुशील कोइरालाको निर्णय पनि उल्टियो

दैनिक नेपाल २०७४ असार ३१ गते १७:०६

दैनिक नेपाल

काठमाडौँ, ३१ असार । नेपाल प्रहरीभित्रको द्वन्द्व उत्कर्षमा छ । प्रहरी महानिरीक्षक बन्ने लफडाले व्यक्तिको करिअर नै सिध्याउनेसम्मको खेलसम्म भएको छ ।
नेपाल प्रहरीको महानिरीक्षकको दाबेदार रहेका नवराज सिलवाललाई अन्ततः एआइजी बढुवामै पारिएन भने अर्का दाबेदार जयबहादुर चन्द पनि बढुवा हुँदा दोस्रो नम्बरमा पुगेका छन् । यसअघि डीआइजी हुँदा चौंथो नम्बरमा बढुवा भएका बमबहादुर भण्डारी भने पहिलो नम्बरमा एआइजी बढुवा भएका छन् ।

झेल

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले तेस्रो नम्बरमा रहेका डीआइजी जयबहादुर चन्दलाई आइजीपी बनायो । तर, सरकारको निर्णयलाई काउन्टर दिँदै एक नम्बरका डीआइजी नवराज सिलवाल सर्वोच्च अदालतमा पुगे । अदालतले चन्दलाई आइजीपी बनाउने निर्णय कार्यान्वयन नगर्न भन्यो । सिलवाल र चन्दलाई जुधाएर त्यसको फाइदा दुई नम्बरका डीआइजी प्रकाश अर्यालले लिए । त्यही झगडामा टेकेर उनले प्रहरी महानिरीक्षकको फुली पनि लगाए ।

सर्वोच्च अदालतले सिलवालको पक्षमा फैसला गर्ने आशंकामा पुष्पकमल दाहाल र शेरबहादुर देउवाको डिजाइनमा तत्कालिन प्रधानन्यायाधिश सुशीला कार्कीमाथि नै महाअभियोग लगाइयो । इतिहासमै पहिलोपटक महाअभियोगको कालो धब्बा लगाउँदै कार्की सर्वोच्चबाट बाहिरिन् भने आइजीपीको फुली लगाउने दिन कुरेर बसेका सिलवाल हेरेको हेर्यै भए ।

नयाँ खेल

अहिले पनि आइजीपी नियुक्तिको विवाद सर्वोच्च अदालतमा कायमै छ । सर्वोच्चले साउन १९ गतेका लागि फेरि सुनुवाइ तोकेको छ । एकपछि अर्को गर्दै अदालतले सिलवालको मुद्दालाई पन्छाउँदै लगेको छ भने अर्कोतिर आइजीपीका दाबेदारलाई एआइजी पनि बन्न नदिएर करिअर सिध्याउने खेल भएको छ ।

आइजी बढुवा नभए सिलवाल आगामी पुस ४ गते रिटायर्ड हुन्छन् । त्यतिबेलासम्म मुद्दा तन्काउने र उनलाई डीआइजीबाटै घर फर्काउने खेल भएको स्रोतको दाबी छ । प्रधानमन्त्री कार्यालयका सचिवले समेत मिल्दैन भन्दाभन्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालको सिफारिसमा गृहमन्त्रालयले ११ जना एआइजीलाई बढुवाको समेत सिफारिस गरेको छ । तर, एक नम्बरका डीआइजी रहेका सिलवाल आफ्ना ब्याचीले आइजीपी र एआइजीको फुली लगाएको हेरेर बस्न बाध्य छन् ।

कोइरालाको निर्णय उल्टियो 

यतिसम्मकी शेरबहादुर देउवा नेतृत्वको सरकारले आफ्नै पूर्वपार्टी सभापति एवं तत्कालिन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले गरेको निर्णयलाई समेत उल्टाएको छ । साँढे दुई बर्षअघि कोइराला नेतृत्वको मन्त्रिपरिषद्ले बढीमा तीन जनामात्र एआइजी बनाउने गरी पद निर्धारण गरेको थियो । तर, त्यो निर्णय अहिले फेरि देउवा सरकारले उल्टाउँदै ११ जना एआइजी पद पुर्याएको छ ।

तत्कालिन गृहसचिव सूर्य सिलवालले दैनिक नेपाललाई दिएको जानकारी अनुसार, तत्कालिन उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले एआइजी धेरै हुँदा लथालिंग भएको भन्दै तीन जना मात्र एआइजी राख्ने गरी प्रस्ताव लिएर गएका थिए । जसलाई कोइराला क्याबिनेटले एकमनाले पास गरेको थियो ।

तर, वर्तमान गृहमन्त्री जनार्दन शर्मा कुनै मापदण्ड र औचित्यबिनै ११ जना एआइजीलाई सिफारिस गरेका छन् । जुन निकै बदनियतपूर्ण र दीर्घकालिन रुपमा पनि प्रहरी संगठनमा असर पार्ने खालको देखिएको छ । निर्णयमा प्रधानमन्त्री देउवादेखि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसम्मको चाहना मिसिएको स्रोतको दाबी छ ।

चन्दलाई पनि घाटा

प्रहरी महानिरीक्षकको लफडाले यसअघि डीआइजी बढुवामा तेस्रो नम्बरमा रहेका जयबहादुर चन्दलाई पनि घाटा लागेको छ । यसअघि चौंथो नम्बरमा रहेका बमबहादुर भण्डारी उनलाई उछिन्दै पहिलो नम्बरमा एआइजी बढुवा भएका छन् । सर्वोच्च अदालतले नै कार्य मुल्यांकनका आधारमा १ नम्बरमा सिलवाल, दुई नम्बरमा अर्याल, तेस्रोमा भण्डारी र चौंथोमा चन्द रहेको बताएको थियो ।

प्रतिक्रिया
सम्बन्धित